टिफा बैठक : अमेरिका र नेपालबीच व्यापार तथा लगानी प्रवद्र्धनमा जोड

सगरमाथा पोस्ट
सगरमाथा पोस्ट ५ जेष्ठ २०८०, शुक्रबार
2 Min Read
Aa

काठमाडौँ, नेपाल–संयुक्तराज्य अमेरिका व्यापार र लगानी फ्रेमवर्क सम्झौता (टिफा) अन्तर्गतको व्यापारिक र लगानी काउन्सिलको छैटौँ बैठक काठमाडौँमा बसेको छ ।

बैठकमा नेपाल र अमेरिकाबीच व्यापार तथा लगानीलाई प्रवद्र्धन गर्ने विषय महत्वका साथ उठाइएको उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयका सचिव मधुकुमार मरासिनीले बताउनुभयो ।

“धेरैभन्दा अमेरिकी लगानी भित्र्याउने र नेपालमा उत्पादित वस्तु अमेरिकी बजारमा सहजरुपमा पठाउनका लागि वातावरण बनाउने विषय बैठकका मुख्य एजेन्डा हुन्”, सचिव मरासिनीले भन्नुभयो, “हाम्रा सम्भावना र समस्या के छन् भनेर प्रत्यक्षरुपमा छलफल भएको छ । हामीले बढीभन्दा बढी सीप र प्रविधि हस्तान्तरण होस् भन्ने चाहेका छौँ ।”

नेपालले उदार अर्थतन्त्र अँगालेको, लगानीको वातावरण बन्दै गएको र अहिले वैदेशिक लगानीको खाँचोसमेत रहेकाले नेपालमा लगानी गर्न अमेरिकी पक्षलाई बैठकमार्फत आग्रह गरेको मरासिनीले बताउनुभयो । नेपालमा सूचना प्रविधि, जलविद्युत्, सेवालगायतका क्षेत्रमा लगानी गरेर द्विपक्षीय लाभ लिन अमेरिकालाई आग्रह गरेको उहाँको भनाइ छ ।

“कुन–कुन क्षेत्रमा लगानीको सम्भावना छ भनेर जानकारी गराएका छौँ । निकासीका वस्तु के हुन सक्छन् ? र तिनमा नेपालले अमेरिकाबाट कस्तो सुविधा चाहन्छ भन्नेकुरा बैठकमार्फत राखिएको छ । लगानी र व्यापारमा सहजताका लागि के–कस्ता नीतिगत सुधार आवश्यक छन् भन्ने विषयमा पनि छलफल भएको छ”, उहाँले भन्नुभयो । द्विपक्षीय सहयोगका नयाँ आयाम पहिचान गर्नका लागि यो बैठक महत्वपूर्ण रहेको सचिव मरासिनीको भनाइ छ ।

नेपाल सन् २०२६ पछि अतिकम विकसित मुलुकबाट स्तरोन्नति हुँदा गुमाउने व्यापारसम्बन्धी ‘ड्युटी फ्री’ र ‘कोटा फ्री’जस्ता सुविधाको निरन्तरताका लागि पनि बैठकमा छलफल भएको जनाइएको छ । त्यस्तै दुई देशको व्यापार, लगानी, बजार पहुँच, रोजगारी, बौद्धिक सम्पत्ति, विद्युतीय कारोबार, व्यापार सहुलियतलगायतका विषयमा बैठक केन्द्रित भएको जनाइएको छ ।

नेपाल र अमेरिकाबीचको सम्बन्धलाई वैदेशिक सहायताका पक्षबाट लगानी र व्यापारिक साझेदारीमा रुपान्तरण गर्नका लागि सन् २०११ मा टिफा सम्झौता भएको थियो । कोभिड महामारीका कारण टीफा काउन्सिलको बैठक सन् २०२० मा भर्चुअल माध्यामबाट भएको थियो । अहिलेको बैठकमा अमेरिकाबाट १८ जनाको डेलिगेसन टोली आएको जनाइएको छ ।

प्रतिक्रिया दिनुहोस्

Array