तारकेश्वरबासीहरुलाई दुई बर्ष भित्रै मुहानको स्वच्छ पानी खुवाउने यस्तो छ नगरको योजना,नगरप्रमुख महर्जन र खानेपानी मन्त्री बिच भेट

सगरमाथा पोस्ट
सगरमाथा पोस्ट १० जेष्ठ २०८०, बुधबार
3 Min Read
Aa

रबिन थपलिया । काठमाण्डौं । तारकेश्वर नगरपालिकाले नगरबासीहरुलाई दुई बर्ष भित्र मुहानको पानी खुवाउने योजना सहित कार्य अगाडी बढाएको छ । तारकेश्वर नगरपालिका भित्र रहेको अल्ले, अधेरी, बौडे, भण्डारे लगायको मुहानबाट पानी संकलन गरि नगरपालीकाका ११ वटै वडाहरुमा बितरण गर्ने योजना सहित नगरपालिकाले फिजीकल स्टडी तयार गरेको नगरप्रमुख कृष्ण हरि महर्जनले बताउनुभयो । नगरप्रमुख महर्जनले खानेपानीका लागि अव केहि दिन भित्रै डिपीआरको काम समेत पुरा हुने बताउनुभयो । उहाँले कम्तीमा डेढ बर्ष भित्र समग्र तारकेश्वर बासीहरुलाई मुहानको पानी खुवाउने गरि काम अगाडी बढेको बताउनुभयो ।
नगरपालिका भित्र रहेका अल्ले, अधेरी, बौडे, भण्डारे लगायको मुहानबाट मेलम्ची खानेपानीकै मोडलमा पानी केन्द्रीकृत गरेर संकलन गर्ने, प्रशोधन गर्ने र प्रशोधित पानीलाई वडाहरुमा बितरण गरिने छ । खानेपानीका लागि तारकेश्वरका प्रत्यक वडामा कम्तीमा २० लाख लिटर देखि भुगोल र स्थानको अवस्थालाई हेरेर पानी टेंकी निर्माण हुने छ ।
यसै बिच नगरप्रमुख कृष्ण हरि महर्जन र प्रमुख प्रशासकिय अधिकृत डा. कृष्ण बहादुर घिमिरेले हिजो खानेपानी मन्त्री महेन्द्र यादबलाई भेट गर्नुभएको छ । भेटका क्रममा नगरप्रमुख महर्जनले मन्त्री यादबलाई नगरपालीकाले तयार पारेको फिजीकल स्टडी बुझाउँदै खानेपानीका निम्ती उचित बजेट बिनियोजन गरिदिन आग्रह गर्नुभएको थियो । सो अवसरमा मन्त्री यादबले अब आउने बजेटमा तारकेश्वर नगरपालिकामा खानेपानीका निम्ती बजेट बिनियोजन गर्ने आश्वासन दिनुभएको थियो । मन्त्रीसंग भेटका क्रममा वडा नं ४ का अध्यक्ष नरेन्द्र दास श्रेष्ठ समेत रहनु भएको थियो ।

May be an image of 7 people and text
यस अघि नगरप्रमुख कृष्ण हरि महर्जनले काठमाण्डौं महानगरपालिकाका प्रमुख बालेन साहलाई समेत भेट गरी खानेपानीका निम्ती महानगरसंग तारकेश्वरले सहयोग चाहेको बताउनुभएको थियो । भेटका क्रममा महानगरप्रमुख बालेनले खानेपानीका निम्ती तारकेश्वरलाई महानगरले सहयोग गर्ने प्रतिबद्धता व्यक्त गदै फोहर व्यवस्थापनका लागि सहज वातावरण तयार गरिदिन नगरप्रमुख महर्जनलाई आग्रह गर्नुभएको थियो । यस अघि पनि बालेनको आग्रहमा नगरप्रमुख महर्जनले महानगरको फोहर व्यवस्थापनका लागि समन्वय गरिरहनु भएको थियो ।
नगरप्रमुख भएर आएपछि कृष्ण हरि महर्जनले एक घर, पानी सहितको एक धारा अभियानको घोषणा गर्नुभएको थियो । सो अभियान अन्तर्गत तारकेश्वर नगरपालिकाको सह लगानीमा तारकेश्वर नगरपालिकाको वडा नं ४ र ५ मा गोलढुगा खानेपानी उपभोक्ता समिति मार्फत ४४ करोड को लागतमा खानेपानीको काम सुरु भएको छ भने वडा नं २ मा २ करोडको लगानीमा समेत खानेपानीको काम सुरु भएको छ । त्यस्तै वडा नं १० मा वडा कार्यालय परिसरमा डिपबोरिङको काम अगाडी बढीरहेको छ ।

प्रतिक्रिया दिनुहोस्

Array