‘युवालाई बुझ्नु जरुरी छ’ : कांग्रेस नेता डा कोइराला

सगरमाथा पोस्ट
सगरमाथा पोस्ट ११ जेष्ठ २०८०, बिहीबार
2 Min Read
Aa

काठमाण्डौं ।  नेपाली कांग्रेसका नेता डा शेखर कोइरालाले युवाको सङ्ख्या देशमा घट्दै जानु सुखद नरहेको बताउनुभएको छ ।  शुभेच्छुक संस्था नेपाल सांस्कृतिक महासङ्घको स्थापना दिवसका अवसरमा आयोजित ‘राष्ट्रिय प्रशिक्षण भेला तथा चित्रकला कार्यशाला २०८०’ को समापन समरोहलाई सम्बोधन गर्दै नेता कोइरालाले युवाले खोजिरहेको कुरा बुझ्न आवश्यक रहेको बताउनुभयो ।

“युवाले पार्टी र देशबाट के खोजिरहेको ? यो बुझ्न जरुरी छ । उनीहरू देशमै नरहनु राम्रो सङ्केत होइन । युवालाई काङ्ग्रेसमा कसरी आकर्षित गर्ने विषयमा महासङ्घले समेत भूमिका खेल्नु जरुरी छ”, उहाँले भन्नुभयो । उहाँले पछिल्लो समय पार्टी जनतासँग टाढा भएको र सहर केन्द्रीत भएको स्वीकार्दै पुरानो बाटोमा पुनः यात्रा गर्न सुझाव दिनुभयो ।

नेता कोइरालाले सांस्कृतिककर्मीलाई पार्टीले चिन्न नसकेको समेत स्वीकार्नु भयो । “कलाकारलाई चिन्ने र बुझ्ने गिरिजा बाबु हुनुहुन्थ्यो । अहिले चुनावको बेलामा सहयोग चाहिँदा मात्र सम्झिने गरेका छौँ”, उहाँले भन्नुभयो, “समयानुकूल परिमार्जित गर्दै महासङ्घलाई अगाडि बढाउनु जरुरी छ । यहाँ काङ्ग्रेस नभएता पनि लोकतान्त्रिक विचार राख्ने कलाकर्मीलाई समेट्न अझै मेहनत गर्नुस् ।” उहाँले आगामी निर्वाचनमा कांग्रेसले वडा तहबाट नै एक्लै लड्नु पर्ने विचार समेत राख्नुभयो ।

भेलामा देशभरबाट सांस्कृतिककर्मीको उपस्थिति रहेको महामन्त्री शिवशङ्कर रिजालले जानकारी दिनुभयो । “सातै प्रदेशबाट प्रतिनिधि आउनुभएको छ । यस भेलाले महासङ्घलाई बढ्न मार्गदर्शन समेत दिएको छ”, महामन्त्री रिजालले भन्नुभयो । उहाँले छ महिनामा महाधिवेशन गर्ने तयारी भइरहेको समेत जानकारी दिनुभयो । भेलाको उद्घाटन दिउँसो कानून, न्याय तथा संसदीय मामिलामन्त्री धनराज गुरुङले गर्नुभएको थियो ।
–––

प्रतिक्रिया दिनुहोस्

Array