आपत्कालीन कार्य सञ्चालन केन्द्र स्थापना गरिने

सगरमाथा पोस्ट
सगरमाथा पोस्ट १५ जेष्ठ २०८०, सोमबार
2 Min Read
Aa

 धनुषा , जिल्ला विपद् व्यवस्थापन समिति धनुषाले सम्भावित विपद् जोखिमको अवस्थालाई मध्यनजर गरी यहाँका १८ वटै स्थानीय तहले स्थानीय आपतकालीन कार्य सञ्चालन केन्द्रको स्थापना तथा वडा विपद् व्यवस्थापन समितिलाई सक्रिय बनाउने निर्णय गरेको छ ।

आइतबार बसेको समितिको बैठकले प्रत्येक स्थानीय तहका विपद् व्यवस्थापन समितिले खुला क्षेत्र र उद्धार सामग्रीको अभिलेखन गरी त्यसको विवरण जिल्ला विपद् व्यवस्थापन समितिमा पठाउने निर्णय गरिएको प्रमुख जिल्ला अधिकारी एवं समितिका अध्यक्ष काशिराज दाहालले जानकारी दिनुभयो ।

त्यसैगरी बैठकले मनसुन, आगलागी, चट्याङलगायत विपद्जन्य घटनाको जोखिम न्यूनीकरण, खोज, उद्धार तथा राहत विवरणसम्बन्धी प्रतिकार्य योजना तयार गर्न धनुषाका सहायक प्रमुख जिल्ला अधिकारीको संयोजकत्वमा विभिन्न सरोकारवालाहरूको प्रतिनिधित्व रहने गरी उपसमिति गठन गर्ने निर्णयसमेत गरिएको दाहालले बताउनुभयो ।

मुखियापट्टी मुसहरनिया गाउँपालिकाको वडा नं ३ धोवियाहीमा गाउँपालिकाको प्रशासकीय भवन निर्माण र वडा नं ६ रौयाहीमा १५ शय्याको अस्पताल निर्माणका लागि सरकारी जग्गा दर्ता उपयोग तथा लिजमा उपलब्ध गराउनेसम्बन्धी कार्यनीति २०७९ को नियम १० को उपनियम (१) बमोजिम सरकारी जग्गा उपयोग गर्न दिने वा लिजमा उपलब्ध गराउन सिफारिस समितिमा पेस गर्ने पनि बैठकले निर्णय गरेको छ ।

बैठकमा जिल्ला समन्वय समिति धनुषाका प्रमुख राजनन्दन मण्डलले वर्षात् सुरु हुनुअघि नै जोखिममा रहेका स्थानीय तहका नदी नियन्त्रण तथा अन्य कार्य गर्नुपर्ने आवश्यकता औँल्याउनुभएको थियो । बैठकमा जनकपुरधाम उपमहानगरपालिकाका प्रमुख मनोजकुमार साहले विपद्बाट हुने जोखिम न्यूनीकरण तथा विपद् प्रतिकार्यका लागि हुने सम्पूर्ण तयारीमा उपमहानगरपालिका स्थानीय प्रशासनसँग सहकार्यका लागि तयार रहेको बताउनुभयो ।

त्यसैगरी १८ वटै पालिका प्रमुख, उपप्रमुख तथा प्रमुख प्रशासकीय अधिकृतहरूले जोखिम न्यूनीकरणका लागि आवश्यक पर्ने स्रोतसाधनको व्यवस्थापन गर्ने प्रतिबद्धता जनाउनुका साथै विपद् व्यवस्थापन समितिबाट लिनुपर्ने नदी नियन्त्रणलगायतका निर्णय समयमै गर्न आग्रह गर्नुभएको थियो ।

प्रतिक्रिया दिनुहोस्

Array