नेपालको स्वास्थ्य सूचकमा उल्लेखनीय सुधार

सगरमाथा पोस्ट
सगरमाथा पोस्ट १५ जेष्ठ २०८०, सोमबार
3 Min Read
Aa

काठमाडौँ, नेपालमा स्वास्थ्य सूचकमा उल्लेखनीय सुधार आएको छ । सरकारले यही आइतबार जारी गरेको आर्थिक सर्वेक्षण २०७९/८० मा स्वास्थ्य क्षेत्रमा बढ्दै गएको सार्वजनिक तथा निजी लगानी र स्वास्थ्यसम्बन्धी नागरिक चेतना वृद्धिसँगै विगत वर्षदेखि नै स्वास्थ्य सूचकमा उल्लेखनीय सुधार भएको जनाइएको छ ।

बालमृत्यु दर र मातृमृत्यु दर घट्दै गएको सर्वेक्षणमा उल्लेख गरिएको छ । नवजात शिशुमृत्यु दर प्रतिएक हजारमा २१ (जन्मेको २८ दिनभित्र) र शिशुमृत्यु दर प्रतिहजारमा २८ जना (जन्मेको एक वर्षभित्रमा) रहेका छन् । यस्तै, पाँच वर्ष मुनिको बालमृत्यु दर प्रतिएक हजारमा ३३ जना रहेका सर्वेक्षणमा उल्लेख गरिएको छ । यसैगरी, कम्तीमा चार पटक जाँच गराउने गर्भवती महिला ८० दशमलव ५ प्रतिशत रहेको छ ।

यसैगरी, दक्ष प्रसूतिकर्मीबाट प्रसूति गराउने गर्भवतीको सङ्ख्या पनि बढ्दै गएको सर्वेक्षणमा उल्लेख गरिएको छ । दक्ष प्रसूतिकर्मीबाट प्रसूति गराउने गर्भवती ८० दशमलव १ प्रतिशत रहेको सर्वेक्षणमा उल्लेख गरिएको छ । स्वास्थ्य संस्थामा प्रसूति गराउने महिला ७९ दशमलव ३ प्रतिशत र पूर्ण रुपमा खोप लगाउने बालबालिका ८० प्रतिशत रहेको सर्वेक्षणमा जनाइएको छ ।

यसैगरी, सर्वेक्षणमा पछिल्लो वर्ष नेपालको कूल प्रजनन दर घटेका कारण जनसङ्ख्या वृद्धिदरसमेत घट्दै गएको उल्लेख गरिएको छ । नेपालका जनसाङ्ख्यिक तथा स्वास्थ्य सर्वेक्षण २०२२ अनुसार नेपालको कूल प्रजजन दर २ दशलव १ रहेको छ । हाल कूल प्रजनन दर जनसङ्ख्याको प्रतिस्थापन दरसँग बराबर रहेको सर्वेक्षणमा बताइएको छ ।

सर्वेक्षणमा आागामी वर्षमा कूल प्रजनन दर जनसङ्ख्याको प्रतिस्थापन दरभन्दा न्यून हुँदै जाने जोखिम रहेको छ । सहरी क्षेत्रमा कूल प्रजनन दर प्रतिस्थापन प्रजनन दरभन्दा कम (२.०) र ग्रागीण क्षेत्रमा बढी (२.४) रहेको सर्वेक्षणमा उल्लेख गरिएको छ ।

यसैगरी, सर्वेक्षणमा २०७९ असारसम्म १२ वर्ष वा सोभन्दा माथिका करिब ९६ प्रतिशतले कोरोना भाइरस विरुद्धको दोस्रो मात्रा खोप र ५ देखि ११ वर्षसम्मका उमेर समूहले ८३ प्रतिशतले बालबालिकाले दोस्रो मात्रा खोप लगाएको जनाइएको छ ।

यसैगरी, सर्वेक्षणमा नेपालमा एक हजार जनसङ्ख्या बराबर एक दशमलव १५ चिकित्सक र दुई दशमलव ५४ जना नर्स रहेका छन् । विश्व स्वास्थ्य सङ्गठनको प्रतिहजार जनसङख्या एकजना चिकित्सक हुनुपर्ने न्यूनतम मापदण्ड छ । यद्यपि, नेपालमा उत्पादित स्वास्थ्य क्षेत्रका जनशक्ति देशमै खपत नहुनु, उत्पादित जनशक्तिको समान वितरण हुन नसक्नु र सीप मिश्रित दक्ष जनशक्तिको उत्पादन न्यून हुनु स्वास्थ्य क्षेत्रको चुनौतीका रुपमा रहेको जनाइएको छ ।

Print Friendly, PDF & Email

प्रतिक्रिया दिनुहोस्

Array