प्रमाणीकरणसँगै नागरिकताको समस्या सधैँका लागि अन्त्य होस् : उपेन्द्र यादव

सगरमाथा पोस्ट
सगरमाथा पोस्ट १७ जेष्ठ २०८०, बुधबार
1 Min Read
Aa

काठमाडौँ , जनता समाजवादी पार्टी (जसपा) नेपालका अध्यक्ष उपेन्द्र यादवले आफ्नै मुलुकका नागरिकलाई नागरिकता दिनका लागि लड्नुपर्ने अवस्था सधैँका लागि समाधान हुने विश्वास व्यक्त गर्नुभएको छ । सप्तरीको राजविराजमा नवनिर्मित नर्सिङ कलेज भवनको उद्घाटन कार्यक्रमलाई सम्बोधन गर्दै उहाँले नागरिकता विधेयक प्रमाणीकरण गरेकोप्रति राष्ट्रपति रामचन्द्र पौडेललाई विशेष धन्यवाद दिँदै मुलुकबाट नागरिकतासम्बन्धी समस्या हल हुने बताउनुभयो ।

विगतमा पनि लामो सङ्घर्षपछि मात्रै यहाँका नागरिकले नागरिकता पाएको उल्लेख गर्दै उहाँले नागरिकता विधेयकमा पनि ठूलै सङ्घर्ष गर्नुपरेको उहाँले बताउनुभयो । “मधेसमा देखिएका नागरिकतासम्बन्धी समस्या समाधानका निम्ति हामीले सडकदेखि सदनसम्म लामो समय सङ्घर्ष गर्दा पहिलो चरणमा २२ लाख र दोस्रो चरणमा नौ लाख नागरिकलाई नागरिकता दिलायौँ”, अध्यक्ष यादवले भन्नुभयो, “तर पनि थुप्रै नागरिकका सन्तान गैरनागरिक नै छन्, त्यसका लागि पनि ठूलै सङ्घर्ष गर्नुप¥यो ।

छ करोड ९२ लाखमा नर्सिङ भवन

अघिल्लो कार्यकालमा सप्तरी निर्वाचन क्षेत्र नम्बर २ बाट निर्वाचित भएका अध्यक्ष यादवको संसदीय कोषको बजेटबाट निर्माण भएको नर्सिङ भवन उद्घाटन गरिएको छ । कूल रु छ करोड ९२ लाखको लागतमा निर्माण भएको दुई तले भवनको उद्घाटन गरिएको छ । राजविराजस्थित गजेन्द्रनारायण सिंह अस्पतालको परिसरमा निर्माण भएको उक्त भवनमा आगामी वर्षदेखि नर्सिङको कक्षा सञ्चालन गर्ने तयारी गरिएको छ ।

प्रतिक्रिया दिनुहोस्