‘सिकलसेल एनिमियाबाट जोगिन विवाह गर्दा विशेष ध्यान दिनुपर्छ’

सगरमाथा पोस्ट
सगरमाथा पोस्ट २८ जेष्ठ २०८०, आईतवार
2 Min Read
Aa

 काठमाण्डौं । पश्चिम नेपालका थारू समुदायमा जनस्वास्थ्य समस्याका रूपमा रहेको सिकलसेल एनिमियाका बिरामी पत्ता लगाउने अभियान थालिएको छ । स्वास्थ्य कार्यालय बाँकेले जिल्लाका थारू जनसङ्ख्या बढी भएका स्थानीय तहका वडामा रगत जाँच शिविर तथा परामर्श सेवा सञ्चालन गरेर बिरामी र वाहक पत्ता लगाउने तथा उनीहरूलाई परामर्श दिने अभियान थालेको हो ।

जिल्लाको राप्ती सोनारी गाउँपालिकाको वडा नं २ र ६ मा सिकलसेल एनिमियाका बिरामीको शिविर तथा परामर्श कार्यक्रम गरिएको हो । ती दुवै वडामा फेला परेका बिरामी, वाहक र उनका अभिभावकलाई भेरी अस्पताल नेपालगन्जका वरिष्ठ फिजिसियन डा राजन पाण्डे, मनोसामाजिक परामर्शदाता उषा वली, स्वास्थ्य कार्यालय बाँकेका जनस्वास्थ्य अधिकृत नरेश श्रेष्ठलगायतको टोलीले रोग र सोबाट जोगिनका लागि परामर्श दिनुभएको छ ।

वरिष्ठ फिजिसियन डा पाण्डेले यो रोगबाट जोगिन विवाह गर्दा विशेष ध्यान दिनुपर्ने जनाउँदै रगत जाँच गरेरमात्रै विवाह गर्ने तथा रोगी र रोगीबीच विवाह गर्न नहुने बताउनुभयो । उहाँका अनुसार रगत जाँचपछि प्राप्त रिपोर्ट र सोही आधारमा वितरण गरिएको ‘कार्ड’ हेरेर मात्र विवाह गर्ने प्रचलन समुदायमा सुरु गर्नुपर्ने बताउनुभयो ।

राप्ती सोनारी गाउँपालिकाका अध्यक्ष तप्तबहादुर पौडेलले पालिकामा यो रोग बढ्न नदिन सबै उपाय अपनाइने जनाउँदै बिरामीको निःशुल्क स्वास्थ्य बीमा गरिने जानकारी दिनुभयो । स्वास्थ्य कार्यालयका जनस्वास्थ्य अधिकृत श्रेष्ठका अनुसार राप्ती सोनारीका थारू बाहुल्य चारवटा वडामा करिब तीन हजार तीन सय १३ जनाको रगत जाँच गर्दा ११ सिकलसेलका बिरामी र तीन सय ७६ रोगका वाहक फेला परेका छन् ।

उहाँका अनुसार पछिल्लोपटक वडा नं ६ कमैयाडाँडामा छ सय ३१ जनाको नमूना जाँच गर्दा दुई जना रोगी र ३६ जना वाहक फेला परेको र वडा नं २ कञ्चनापुरमा चार सय ८७ जनाको नमूना जाँच गर्दा तीन रोगी र ४४ जना वाहक फेला परेका थिए ।

प्रतिक्रिया दिनुहोस्

Array