खानेपानीको परिमाण बढाउँदै जाने योजना : काठमाडौँ उपत्यका खानेपानी लिमिटेड

सगरमाथा पोस्ट
सगरमाथा पोस्ट ३२ जेष्ठ २०८०, बिहीबार
3 Min Read
Aa

काठमाडौँ , काठमाडौँ उपत्यका खानेपानी लिमिटेडले ग्राहकलाई हाल वितरण गर्दै आएको खानेपानीको परिमाण बढाउँदै जाने योजना बनाएको छ । वर्षाको समयमा आन्तरिक स्रोतबाट उत्पादन हुने पानी बढ्ने र मेलम्चीको पानी नियमित हुँदा उपभोक्तालाई थप पानी वितरण गर्न सकिने लिमिटेडले जनाएको छ ।

अहिले दैनिक वितरण नभए पनि उपभोक्ताले हाल पाइरहेको भन्दा वर्षामा बढी पानी पाउन सक्ने गरी योजना बनाइरहेको लिमिटेडका प्रवक्ता प्रकाशकुमार राईले बताउनुभयो । उहाँका अनुसार पानीको उपलब्धतासँगै पानी वितरण गर्ने तालिका परिमार्जन गर्ने योजना रहेको छ । उहाँले भन्नुभयो, “अहिलेसम्म खोला सुकेकाले सतही स्रोत सुकेको छ । खोलामा पानी हुन थालेपछि उत्पादन बढेछ र पुनःविचार गरिनेछ ।”

दैनिक तीन/चार घण्टासम्म पानी वितरण भइरहेको प्रवक्ता राईले बताउनुभयो । अधिकांश ग्राहकले फेसबुक चलाउने भएकाले कुन क्षेत्रमा कहिले पानी वितरण हुन्छ भनेर सम्बन्धित शाखाको सामाजिक सञ्जाल फेसबुकमार्फत जानकारी दिने गरिएको उहाँले बताउनुभयो । उहाँले भन्नुभयो, “अहिले दुई दिनको फरकमा पानी वितरण भइरहेको छ । कहाँ कति बजे पानी आउँछ भनी ग्राहकले फेसबुक पेजबाट जानकारी लिने गर्नुभएको छ ।”

वर्षामा लिमिटेडको उत्पादन क्षमता बढ्ने हुँदा उपभोक्ताले पाउने पानी थप गर्दै जान सकिने प्रवक्ता राईको भनाइ थियो । वर्षामा लिमिटेडको उत्पादन १४/१५ करोड लिटरसम्म हुँदा केही घण्टाका लागि भए पनि दैनिक पानी वितरण गर्नसक्ने उहाँले बताउनुभयो ।

अहिले दैनिक १७ करोड लिटर मेलम्चीबाट आउने र लिमिटेडको आफ्नो स्रोतबाट दैनिक आठदेखि नौ करोड गरी जम्मा २६-२७ करोड लिटरसम्म पानी वितरण भइरहेको छ । लिमिटेडले गत वर्ष वर्षाको समयदेखि बागमती नदीबाट समेत पानी ल्याउन सुरु गरेको छ । गत वर्ष वागमती नदीबाट दैनिक चार करोड लिटर पानी ल्याइएको लिमिटेडले जनाएको छ ।

यस वर्ष वर्षाको समयमा थप छ करोड लिटर पानी ल्याउन सकिने प्रवक्ता राईले बताउनुभयो । उहाँले भन्नुभयो, “थप पानी ल्याउनका लागि आवश्यक संरचना बनाउन ठेक्का प्रक्रियामा जान लागेका छौँ । काठमाडौँ उपत्यकामा मेलम्चीको पानी वितरण सुरु भएदेखि यहाँ खानेपानीको समस्या कम हुँदै गएको छ”, उहाँले भन्नुभयो ।

अबका दिनमा खानेपानीको समस्या कम हुँदै जाने प्रवक्ता राईले बताउनुभयो । उहाँका अनुसार उपत्यकाका डाँडामाथि ३५ वटा पानीका स्रोत छन् । लिमिटेडले ती स्रोत र जमिनमुनि रहेका एक सय एक ट्युबेलबाट पानी जम्मा गरी वितरण गर्दै आएको हो ।

गत वर्षमा उपभोक्ताको घरमा पालोपालो गरेर ९/१० दिनमा पानी वितरण हुने गरेको थियो । अहिले काठमाडौँ उपत्यकामा दैनिक ४० करोड लिटर पानीको आवश्यकता रहेको छ ।

प्रतिक्रिया दिनुहोस्

Array