सट्टेबाज खेलाउने र प्रमोसन गर्नेविरुद्ध कारबाही तीव्र

सगरमाथा पोस्ट
सगरमाथा पोस्ट १ असार २०८०, शुक्रबार
2 Min Read
Aa

काठमाडौँ , नेपाल प्रहरीको काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयले वान–एक्स बेटलगायत बेटिङ प्लेटफर्ममार्फत सट्टेबाजका एजेन्ट, खेलमा संलग्न व्यक्ति र त्यसको प्रचारात्मक कार्यक्रममा सहभागिमाथिको अनुसन्धान तीव्र बनाएको छ ।

बुधबारमात्रै पाँच जना एजेन्ट पक्राउ गरेको प्रहरीले त्यसमा संलग्न अन्य व्यक्तिको खोजी तीव्र पारेको छ । नेपालमा गैरकानुनी रहेको यस अनलाइन खेलको प्रचार–प्रसारमा संलग्न मानिससमेत देखिएकाले उनीहरूको पनि खोजी जारी रहेको काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयका प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक डा मनोज केसीले बताउनुभयो । सोही क्रममा हिजो र आज कलाकारसहित थप आठ जनालाई पक्राउ गरेको उहाँले बताउनुभयो । पक्राउ पर्नेमा मरिचमान श्रेष्ठ र राजु पौडेल, पवन खतिवडा, एलिश राई, ज्वलन घर्तीमगर, गणेश देवकोटा र सरोज घिमिरे छन् ।

“आज पनि अपरेशन टोली फिल्डमा गएको छ, केही व्यक्तिहरू पक्राउ परेका छन्, यो क्रम अझै जारी रहन्छ”, उहाँले भन्नुभयो । डा केसीले यसरी प्रचार गर्ने, खेलमा संलग्न हुने र खेलाउने सबै कानुनी दायरामा ल्याएरै छाड्ने प्रतिबद्धता जनाउनुभएको छ । सोही सिलसिलामा अहिले तथ्य अध्ययन पनि भइरहेको उहाँले बताउनुभयो । कार्यालयले विगत तीन महिनादेखि सट्टेबाजविरुद्ध अपरेशन चलाउँदै आएको छ ।

सोही क्रममा प्रहरीले विश्वमा सञ्चालन हुने विभिन्न खेल तथा अनलाइन गतिविधिमा सट्टेबाज (जुवा) खेल्न प्रयोग हुने वान–एक्स बेटमार्फत एकै व्यक्तिले ६४ करोडसम्म अवैध कारोबार गरेको फेला पारेको थियो । कैलाली घर भई चाबहिल बस्ने दिनेश खड्काले विलाश थारू, तेजबहादुर खड्का, नवीन चौधरी, अनिता धिताललगायतका कागजात प्रयोग गरेर १२ जनाको नाममा खाता खोलेर सट्टेबाजको मुख्य एजेन्टको रूपमा सक्रिय भएको पाइएको छ । यसरी सट्टेबाजको रकम प्रयोग गर्न उनले ६३ वटा खाता खोलेको भेटिएको छ ।

उनीसँगै अनिता धिताल, दीपेश श्रेष्ठ, दिनेश चन्द र आशिष लामिछाने छन् । उनीहरूले सट्टेबाजमा रु ७४ करोड १३ लाख कारोबार गरेको पाइएको छ । उनीहरूलाई कार्यालयले थप अनुसन्धान तथा काराबाहीका लागि प्रहरी परिसरमा बुझाइसकेको छ ।

प्रतिक्रिया दिनुहोस्

Array