लागुऔषध नियन्त्रण गर्न ‘एक्सन टिम’ परिचालन

सगरमाथा पोस्ट
सगरमाथा पोस्ट २ असार २०८०, शनिबार
5 Min Read
Aa

बनेपा , बनेपा नगरपालिका–८ बाट प्रहरीले प्रतिबन्धित खैरो हिरोइनसहित दुई जनालाई पक्राउ गरेको छ । इलाका प्रहरी कार्यालय बनेपा र लागुऔषध नियन्त्रण ब्युरोसहितको प्रहरी टोलीले खैरो हिरोइनसहित काभ्रेपलाञ्चोकको तेमाल गाउँपालिकाको १९ वर्षीया युवती र भोजपुर जिल्लाको टेम्केमैयुङ गाउँपालिका–९ का ३० वर्षीय युवकलाई पक्राउ गरेको हो ।

बिहीबार राति ८ बजे उनीहरुबाट ६५ ग्राम खैरो हिरोइन, डिजिटल तराजु एक थान, रु तीन लाख १९ हजार र आइफोन–११ एक थान बरामद गरिएको कार्यालयका प्रमुख प्रहरी नायब उपरीक्षक रेशम बोहोराले जानकारी दिनुभयो । उहाँका अनुसार पक्राउ परेका दुवैलाई शुक्रबार जिल्ला अदालतबाट लागुऔषध नियन्त्रण ऐन, २०३३ अन्तर्गतको कसुरमा पाँच दिनको म्याद थप गरी थप अनुसन्धान कार्य भइरहेको छ ।

यस घटनाले काभ्रेमा सात महिनापछि लागुऔषध कारोबारी पुनः सक्रिय भएको देखिन्छ । प्रहरीले प्रतिबन्धित औषधि कारोबार गरेको आरोपमा २०७९ कात्तिकमा बनेपा र पनौतीका चार जनालाई पक्राउ गरेको थियो । विशेष सूचनाका आधारमा इलाका प्रहरी कार्यालय बनेपाको प्रहरी टोलीले लागुऔषधसहित चारै जना २२ वर्षकालाई पक्राउ गरेको थियो ।

उनीहरुको साथबाट डाइजापाम एम्पुल १७ थान, बुप्रिनोफाइन एम्पुल १५ थान, फेनेगर्नन १७ थान, नुफिन एम्पुल दुई, ‘नाइट्राभेट–१०’ ७० चक्की, लाइफलाइन लेखिएको सिरिञ्ज पाँच थान तथा नगद रु ४३ हजार बरामद गरिएको थियो । त्यसयता लागुऔषधका कुनै पनि घटना सार्वजनिक भएका थिएनन् ।

प्रहरीले पक्राउ परेका सार्वजनिक गर्दै अनुसन्धानका म्याद थप गर्दै कसुरका आधारमा अदालतमार्फत सजाए दिलाउने गरेको छ । यस्तै प्रहरीले गत भदौमा पनि ‘नियन्त्रित औषधि’सहित बनेपा नगरपालिका–८ उदय मेडिकल हलका सञ्चालकलाई पक्राउ गरेको थियो । मकैले नियन्त्रित औषधि बिना‘प्रेस्क्रिप्सन’ बिक्री गरेका कारण प्रहरीले उनको मेडिकल पसलबाट ठूलो मात्रामा औषधिसमेत बरामद गरेको हो ।

प्रहरीले त्यतिबेला हलबाट नियन्त्रित मानिएका ठूलो सङ्ख्यामा ट्याब्लेट बरामद गरेको थियो । बरामद गरिएका औषधि सञ्चालकले चिकित्सकीय सिफारिसबिना बिक्री गर्दै आएको अनुसन्धानबाट खुलेको थियो । त्यसरी बिक्री गरिएका औषधि ‘लागुऔषध’को रुपमा प्रयोग गर्ने गरेको प्रहरीको भनाइ छ ।

यसअघि इप्रका बनेपाले प्रतिबन्धित लागुऔषध कारोबारमा संलग्न पाँच जनालाई २०७९ साउनमा पक्राउ गरेको थियो । प्रहरीले भारतबाट वीरगञ्ज हुँदै काभ्रेपलाञ्चोकको बनेपामा लागुऔषध कारोबारमा संलग्न भएका उनीहरुलाई वीरगञ्जबाट पक्राउ गरेको थियो । लागुऔषध कारोबार तथा ओसारपसारमा संलग्न भएकाबाट प्रहरीले ३०२ एम्पुल डाइजेपाम, ३०२ एम्पुल फेनेर्गन र ३०२ थान नोफिन गरी कूल ९०६ थान लागुऔषध बरामद गरेको थियो ।

त्यतिबेला प्रहरीको अनुसन्धानले वीरगञ्जबाट काभ्रेपलाञ्चोकअन्तर्गतसमेत पर्ने विपी राजमार्ग (धुलिखेल–सिन्धुली–बर्दिबास सडक)को प्रयोग गरी बनेपा हुँदै लागुऔषध काठमाडौँ पु¥याउने र काठमाठौँबाट पुनः बनेपा ल्याई कुलतमा फसेका युवालाई बिक्री गर्ने गरेको देखाएको प्रहरीले जनायो । यो घटनामा भने प्रहरीले छोटो समयमा भारतबाट बनेपासम्म लागुऔषधको कारोबार गर्ने समूहलाई छोटो समयमा नै पक्राउ गर्न सफल भएको देखिन्छ ।

यसअघि ०७९ वैशाखमा लागुऔषध प्रयोगकर्ता चार चालकलाई काभ्रेपलाञ्चोकस्थित अरनिको राजमार्गका जाँचका क्रममा प्रहरीले प्रक्राउ गरेको थियो । यस्तै प्रहरीले सुराककै आधारमा गत वर्षको माघमा चिकित्सकको आधिकारिक सिफारिसबिना प्रतिबन्धित औषधि (नसालु पदार्थका रुपमा सेवन गरिने) बिक्री गर्ने पनौती नगरपालिका–२ स्थित एक फार्मेसी सञ्चालकलाई पक्राउ गरेको थियो । साथै उनको फार्मेसीबाट विभिन्न प्रकारका सात हजार १३८ प्रतिबन्धित लागुऔषध ट्याब्लेटसमेत बरामद गरिएको थियो ।

घटनाक्रमले सुराकको आधारमा मात्रै प्रहरीले जाँच गर्ने र लागुऔषध कारोबारमा संलग्न व्यक्तिलाई पक्राउ गर्ने गरेको देखाएको छ । साथै, विपी राजमार्गबाट अधिकांश रुपमा लागुऔषध ओसारपसार हुने गरेको देखिएको हो । काभ्रेपलाञ्चोकलगायत छिमेकी जिल्ला तथा राजधानीका विभिन्न स्थानमा बिक्री हुने प्रतिबन्धित लागुऔषध मध्यपहाडी क्षेत्रअन्तर्गतको राजमार्गबाट तस्करी हुने जिल्लास्थित प्रहरीको रेकर्डबाट देखिन्छ ।

यस्तै प्रहरीले सुराकीको आधारमा उक्त राजमार्गबाट आउने सवारी जाँच गर्दा दर्जनौँ पटक प्रतिबन्धित औषधि बरामद गर्दै ओसारपसार संलग्न व्यक्तिलाई पक्रेर मुद्दासमेत चलाउने गरेको छ । प्रहरीको तथ्याङ्कअनुसार बितेको पाँच वर्षमा लागुऔषध ओसारपसारसम्बन्धी ४० वटा मुद्दामा करिब एक सयलाई पक्राउ परेका छन् । पक्राउ परेकामध्ये पनि अधिकांशले ‘ब्रोकर’ बनेर काम गरिरहेको बयान दिँदै आएको प्रहरीले जनायो ।

प्रहरीको अनुसन्धानले विशेष गरी ‘टिनएजर्स्’ यसको तस्करी र प्रयोगकर्ताका रुपमा देखिएको छ । घटना विवरणअनुसार तराई क्षेत्रबाट विपी राजमार्गहुँदै लागुऔषध तस्करी भई लागुऔषधको ‘ट्रान्जिट प्वाइन्ट’ काभ्रे बनाएकोसमेत देखिन्छ ।

पछिल्ला घटनाले तराईसँग छोटो दूरीका रुपमा रहेको विपी राजमार्गबाट लागुऔषध भित्रिने गरेको देखिएकाले उक्त राजमार्गमा ‘एक्सन टिम’ परिचालन गरिएको प्रहरी जिल्ला प्रहरी प्रमुख प्रहरी उपरीक्षक भाग्यपुरुष ढकालले बताउनुभयो । उहाँका अनुसार पक्राउ परेकाले भारतका विभिन्न स्थानबाट लागुऔषध सङ्कलन गरी बनेपा र आसपासका सहर तथा काठमाडौँमा बिक्री गर्दै आएको देखिन्छ । लागुऔषध विशेष गरी युवा पुस्ताले प्रयोग गरेको पाइएको प्रहरीकै अनुसन्धानले देखाएको छ ।

प्रतिक्रिया दिनुहोस्

Array