नेपालको भूमिमा चीन विरोधी गतिविधि हुन दिन्नौँ : अध्यक्ष तिमिल्सिना

सगरमाथा पोस्ट
सगरमाथा पोस्ट २ असार २०८०, शनिबार
3 Min Read
Aa

काठमाडौँ , राष्ट्रियसभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले नेपालको भूमिलाई चीनको अखण्डतामा आँच आउने कुनै गतिविधि हुन नदिने प्रतिबद्धता व्यक्त गर्नुभएको छ ।

चीनको स्वशासित क्षेत्र तिब्बतमा आयोजित पाँचौँ चीन तिब्बत पर्यटन तथा संस्कृति एक्स्पोलाई सम्बोधन गर्दै अध्यक्ष तिमिल्सिनाले नेपाल सधैँ एक चीन नीतिको पक्षमा स्पष्ट रूपमा अडिग रहेकाले स्पष्ट गर्नुभयो । विश्व शक्तिको रूपमा उदाएको चीनले भौगोलिक र सामरिक हिसाबले सानो छिमेकी मुलुक नेपालको भौगोलिक अखण्डता र सार्वभौमसत्ताको सम्मान गर्दै आएको उल्लेख गर्दै उहाँले भन्नुभयो, “नेपाल पनि सधैँ एक चीन नीतिको पक्षमा स्पष्ट रूपमा अडिग छ र आफ्नो भूमिलाई चीनको अखण्डतामा आँच आउने गतिविधिका लागि प्रयोग हुन नदिन प्रतिबद्ध छ ।”

नेपाल–चीनले एक अर्काको स्वाभिमानलाई सम्मान गर्दै आएको उल्लेख गर्दै अध्यक्ष तिमिल्सिनाले भन्नुभयो, “शान्तिपूर्ण सहअस्तित्वका पञ्चशीलका सिद्धान्तका आदर्शहरूमा दुवै देशको अटल विश्वास छ । चीन र नेपाल एक अर्काको स्वाभिमान, अस्तित्व र अखण्डताको सधैँ सम्मान गर्दै आएका छन् ।” विश्व व्यवस्थालाई न्यायोचित, समावेशी, निष्पक्ष र नियममा आधारित बनाउन तथा आर्थिक विश्वव्यापीकरण र बहुपक्षीयतालाई प्रवर्द्धन गर्न र गरिबी निवारणमा चीनले हासिल गरेको उपलब्धि विश्वका लागि एक अनुपम उदाहरण बनेको चर्चा गर्दै अध्यक्ष तिमिल्सनाले विकासोन्मुख र अतिकम विकसित मुलुकको हित प्रवर्द्धनार्थ चीनले खेल्दै आएको नेतृत्वदायी भूमिकाको सराहना पनि गर्नुभयो ।

उहाँले नेपाल र तिब्बतबीच ऐतिहासिक समयदेखि चलिआएका व्यापार र लगानी नेपाल र चीनबीचको द्विपक्षीय सम्बन्धका आधारभूत खम्बा भएको बताउनुभयो । अध्यक्ष तिमिल्सिनाले कोभिड महामारीका समयमा नेपाल र चीनबीचको व्यापार र लगानीका गतिविधिहरु प्रभावित भएको तथा अहिले तीन वटा नाकाहरु खुला भएकाले यसले व्यापार र लगानीमा प्रवर्द्धन गर्ने विश्वास व्यक्त गर्नुभयो ।

मुस्ताङ र तिब्बतको ढोङवासेन जिल्लाको सिमानामा पर्ने कोरल्ला नाकालाई छिटो सञ्चलान गर्न आवश्यक रहेको बताउँदै उहाँले नेपालको उत्तरमा तिब्बत र दक्षिणमा भारत जोड्ने कालीगण्डकी करिडोर निर्माण अन्तिम चरणमा रहेकाले कालीगण्डकी करिडोर हुँदै मानसरोवर यात्रासमेत छोटो र सहज हुने धारणा राख्नुभयो ।

कोराला नाकामा तिब्बततर्फ भन्सार पूर्वाधारको निर्माण कार्य तीव्र रुपमा अगाडि बढिरहेको र नेपालतर्फ भन्सार पूर्वाधारको निर्माण कार्य सुरु गर्न नसकिएको अवस्थामा नेपालतर्फ भन्सार पूर्वाधार बनाउन तिब्बत सरकारको सहयोगको अपेक्षा गरेको अध्यक्ष तिमिल्सिनाको भनाइ छ ।

उहाँले नेपालको मुस्ताङ जिल्ला र तिब्ब्तको ढोङवासेन जिल्लाको सिमानामा हरेक वर्ष जुन र सेप्टेम्बर महिनामा लाग्दै आएको नेचुङ (लिक्ची) मेला रोकिएको हुँदा मेला सुचारु गर्न पनि आग्रह गर्नुभयो । अध्यक्ष तिमिल्सिनाले नेपालबाट तिब्बततर्फ निकासी हुने जनवारको आहारमा प्रयोग हुने तयारी घाँस तथा फलफूल, तरकारी र जडिबुटी जस्ता कृषिजन्य उत्पादनको निकासीमा तिब्बत सरकारले भन्सार प्रक्रिया सहजीकरण गर्दा दुई देशबीचको व्यापार असन्तुलन घट्ने विश्वास पनि व्यक्त गर्नुभयो ।

उहाँले काठमाडौँदेखि ल्हासा, पोखरा र भैहरवा सीधा उडान सुचारू गर्दै कैलाश मानसरोवर यात्रा अनुमतिको प्रक्रियामा सहजीकरण भएमा दुवै देशमा पर्यटकीय गतिविध बढ्ने भन्दै तिब्बत सरकारको ध्यानाकर्षण गराउनुभएको उहाँको सचिवालयले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्

Array