बाढीपहिरोले यातायात अवरुद्ध, उद्धारमा कठिनाइ

सगरमाथा पोस्ट
सगरमाथा पोस्ट ३ असार २०८०, आईतवार
3 Min Read
Aa
ताप्लेजुङ,

निरन्तरको वर्षासँगै विभिन्न क्षेत्रमा बाढीपहिरोले सडक अवरुद्ध भएपछि ताप्लेजुङको आन्तरिक तथा बाह्य यातायात अवरुद्ध भएको छ । जिल्लाका अधिकांश ग्रामीण सडक बाढीपहिरोले क्षतिग्रस्त भएका छन् ।

बिहीबार राति आएको बाढीले मेहनले र खेवाङ जोड्ने पुल भत्काएको छ । अविरल वर्षासँगै गएराति मैवाखोलामा आएको बाढीले दोभान बजार हुँदै आठराई त्रिवेणी जाने सकड बगाएको छ ।

सडक वर्षा र पहिरोका कारण ग्रामीण भेगका अधिकांश स्थानमा यातायातका साधन चल्ने अवस्थामा छैनन् । सडकअवरुद्ध भएकाले पहिरोग्रस्त क्षेत्रमा सदरमुकामबाट राहत र उद्धारका लागि जानसमेत कठिनाइ भइरहेको जिल्ला विपद् व्यवस्थापन समितिका अध्यक्ष एवं प्रमुख जिल्ला अधिकारी गोमादेवी चेम्जोङले जानकारी दिनुभयो । “अवरुद्ध बाटो सञ्चालनका लागि वैकल्पिक बाटोको व्यवस्था गर्ने सम्बन्धमा अहिले जिल्लास्थित सम्बन्ध निकायसँगको बैठक जारी छ”, उहाँले भन्नुभयो ।

बाढीपहिरो पीडितको राहत तथा उद्धारका लागि सम्बन्धित क्षेत्रका सुरक्षाकर्मी र स्थानीय तहसँग समन्वय भइरहेको प्रजिअ चेम्जोङको भनाइ थियो । उहाँका अनुसार बाढीपहिरोबाट जोखिममा परेका परिवारको उद्धार तथा राहतका लागि सङ्घ र प्रदेश सरकारसँग सहायता लिनेलगायत विषयमा पनि छलफल गरिनेछ ।

गएरातिकको बाढीले मेची राजमार्गअन्तर्गत पाँचथरको हिलिहाङ र फिदिम नगरपालिका जोड्ने हेवाखोला माथिको पुल बगाएपछि पाँचथर, इलामसहित तराईका जिल्लातर्फ जाने सवारी साधन सदरमुकाममा थन्किएका छन् । तमोर नदीसहित तमोर करिडोर अन्तर्गतका खोलामा बाढी आएकाले उक्त तमोर करिडोरको सडकसमेत अवरुद्ध छ ।

“गएराति पहिरोले घर बगाउँदा सिदिङ्वा गाउँपालिका–६ स्थित मेहेलेमा एकै परिवारका तीन जनासहित चार जना बेपत्ता छन्”, प्रजिअ चेम्जोङले भन्नुभयो, “आङ्खोपमा तीन घर बाढीले बगाएको छ भने दर्जनाँै घर जोखिममा परेका छन् ।” उहाँका अनुसार जोखिममा परेका घरका परिवार सुरक्षित क्षेत्रमा सरेर बसेका छन् । शुक्रबारदेखि निरन्तर परेको वर्षाले ग्रामीण क्षेत्रका नागरिक त्रसित छन् ।

दोभान बजार क्षेत्र मैवाखोलामा आएको बाढीले कटान गर्न थालेपछि आधाजसो परिवार मध्यरातमै सुरक्षित स्थानमा सरेका छन् । सिरीजङघाको याम्फुदिनमा काबेली खोलामा आएको बाढीले बस्ती कटान गरिरहेको छ । उक्त ठाउँका पाँच सरकारी कार्यालयसहित १५ परिवार अन्यत्र सरेका छन् ।

विभिन्न क्षेत्रका जलविद्युत आयोजनामासमेत बाढीपहिरोले क्षति पुगेको छ । विद्युत् आपूर्ति बन्द भएको छ । रातभर ठूलो वर्षा भएको ताप्लेजुङमा बिहानदेखि भने केही सामान्य भएको छ । गएरातिको वर्षा, बाढीपहिरोले पुगेको क्षतिको थप विवरण प्रहरीले सङ्कलन गरिरहेकाले विस्तृत विवरण आउन बाँकी छ ।

प्रतिक्रिया दिनुहोस्

Array