सामाजिक सुरक्षाको दायित्व बढ्दा पुँजीगत बजेट कम भयो : अर्थमन्त्री डा महत

सगरमाथा पोस्ट
सगरमाथा पोस्ट ४ असार २०८०, सोमबार
2 Min Read
Aa

काठमाडौँ, अर्थमन्त्री डा प्रकाशशरण महतले सामाजिक सुरक्षाको दायित्व बढेका कारण पुँजीगत शीर्षकको बजेट कम बिनियोजन भएको बताउनुभएको छ ।

आज मोरङ व्यापार सङ्घको ६६औँ वार्षिक साधारणसभाको उद्घाटन गर्दै अर्थमन्त्री महतले सामाजिक सुरक्षासँगै सार्वजनिक ऋणको साँवाब्याजको दायित्व बढेकाले पुँजीगत शीर्षकमा कम बजेट बिनियोजन भएको बताउनुभएकाे हाे । उहाँले अर्थतन्त्र चलायमान बनाउन पुँजीगत खर्च बढाउनुपर्ने बताउनुभयो । सरकारले आगामी आर्थिक वर्षका लागि पुँजीगत शीर्षकमा कुल बजेटको १७ दशमलव २५ प्रतिशत बिनियोजन गरेको छ ।

अर्थमन्त्री डा महतले मौद्रिक नीति र अर्थ नीतिमा सरकारले सुधार गर्दै जाने बताउनुभयो । उहाँले आगामी आवको बजेट कसैको दबाब र प्रभावमा नपरी बनाएकाले जनतामुखी भएको समेत दाबी गर्नुभयो । उहाँले विराटनगरको चक्रपथ निर्माणमा सरकारले ध्यान दिने भन्दै उद्योग, व्यापार एवं व्यवसाय प्रवद्र्धनमा सरकारको साथ रहने प्रतिबद्धता व्यक्त गर्नुभयो ।

सो अवसरमा पूर्वरक्षामन्त्री डा मीनेन्द्र रिजालले कुनै समयमा पहिलो नम्बरमा रहेको विराटनगर सहरमा उद्योग र व्यापार फस्टाउन नसक्दा पछि परेको बताउनुभयो । उहाँले बिराटनगर र यस आसपासका क्षेत्रको विकासका लागि बिराटनगरको विमानस्थललाई अन्तर्राष्ट्रिय स्तरको बनाउनु आवश्यक रहेको भनाइ व्यक्त गर्नुभयो ।

विराटनगर महानगरपालिकाका प्रमुख नागेश कोइरालाले महानगरका लागि सरकारले यथोचित बजेट विनियोजन गर्नुपर्ने माग गर्नुभयो । सो अवसरमा मोरङ व्यापार सङ्घका अध्यक्ष नवीन रिजाल, नेपाल उद्योग वाणिज्य महासङ्घका पूर्वअध्यक्ष चण्डिराज ढकाल, महासङ्घका वरिष्ठ उपाध्यक्ष अञ्जन श्रेष्ठ, उद्योगीहरु भीम घिमिरे, शङ्कर अग्रवाल, नन्दकिशोर राठी र प्रकाश मुन्दडाले आफ्ना भनाइ राख्नुभएको थियो ।

प्रतिक्रिया दिनुहोस्

Array