सम्पन्न हुँदै उपत्यकाका विस्तारका सडक

सगरमाथा पोस्ट
सगरमाथा पोस्ट ७ असार २०८०, बिहीबार
4 Min Read
Aa

काठमाडौँ, झन्डै आठ वर्ष पहिले सुरु भएका काठमाडौँ उपत्यकाका विस्तारका सडक सम्पन्न हुने चरणमा पुगेका छन् । सुरुआती वर्षमा जग्गा प्राप्त नहुँदा त पछिल्ला वर्षमा कहिले कोभिड त कहिले निर्माण सामग्रीको अभावलगायतका कारणले लामो समय लागेका यी सडक अब सम्पन्न हुन लागेका हुन् ।

विस्तारको सडक निर्माण कतैकतै थोरै मात्रै बाँकी रहेको काठमाडौँ उपत्यका सडक विस्तार आयोजनाका सूचना अधिकारी महानन्द जोशीले बताउनुभयो । उहाँका अनुसार कुनैमा ओभरले बाँकी, कुनैमा रङ्ग लगाउन त कुनैमा पैदल यात्रु मार्ग बनाउन गरी थोरैथोरै मात्रै बाँकी रहेको छ । उहाँले भन्नुभयो, “ती काम पनि सकाएर ठेक्का टुङ्ग्याउन लागिएको छ ।”

हाल सम्पन्न हुन लागेकामा काठमाडौँ उपत्यकाका तीन जिल्लाका सडक छन् । काठमाडौँमा त्रिपुरेश्वर–कलङ्की–नागढुङ्गा सडक, चाबहिल–साँखु, जोरपाटी–सुन्दरीजल सडक ललितपुरमा ढोलाहिटि–लेले सडक, नख्खु–भैँसेपाटी सडक, कर्मनाशा खोला–गोदावरी सडक, इमाडोल–लामाटार सडक छन् । भक्तपुरमा पेप्सीकोलाबाट सानोठिमी हुँदै सूर्यविनायकसम्मको सडक रहेको छ ।

विगतमा अलि बढी समस्या चाबहिल–साँखु सडकमा रहेको सूचना अधिकारी जोशीले बताउनुभयो । पहिले समस्या रहेको तिवारी टोल र सल्यानटारमा काम भइसकेको छ । पहिले समस्या भएको चाबहिलदेखि सुन्दरीजल सडक, त्रिपुरेश्वरबाट कलङ्की हुँदै नागढुङ्गा सडक सबै सम्पन्न भइसकेका छन् । उहाँले भन्नुभयो, “कलङ्की–नागढुङ्गामा खानेपानी, बिजुलीले खनेको ठाउँमा मात्रै थोरै काम बाँकी छ ।”

काम बाँकी रहेका सडकमा थली, भैँसेपाटी, ढोलाहिटी–सुनाकोठी रहेका छन् । यिनमा पनि बाँकी काम छिटै सम्पन्न गर्ने आयोजनाको तयारी रहेको छ । सबैले चासोका साथ हेरेको नख्खुबाट भैँसेपाटीसम्मको सडकमा मुख्य काम सकिएर थोरै छेउछाउका काम मात्रै बाँकी छन् ।

निर्माणको काम भइसकेका सडक पनि धेरै हस्तान्तरण हुन बाँकी रहेको सूचना अधिकारी जोशीले बताउनुभयो । विगत वर्षमा सम्पन्न भइसकेका सडक पनि हस्तान्तरण भइसकेका छैनन् । निर्माणाधीन सडकमा मर्मतसम्बन्धी कुनै काम गर्नुपर्दा सम्बन्धित योजना कार्यालयले र हस्तान्तरण भएपछि डिभिजन सडक कार्यालयले गर्ने गर्छ । उहाँले भन्नुभयो, “अहिले कुनैकुनै सडकमा डिभिजनले हस्तान्तरण नभए पनि मर्मत गरिरहेकाले समस्या आएको छैन ।”

निर्माण कम्पनीले सम्पन्न गरेपछि एक वर्षसम्म त्यो सडक वा पुल मर्मत गर्नुपर्ने हुन्छ । त्यो एक वर्ष सकिएपछि नै ठेक्का सम्पन्न हुन्छ र योजना कार्यालयले सडक हस्तान्तरण गर्छ । अहिले सम्पन्न हुने क्रममा रहेका अधिकांश सडकको विसं २०७१ र विसं २०७२ मा ठेक्का सम्झौता भएको थियो । सुरुका वर्षमा सडक विस्तार हुन नसकेका कारण निर्माण अघि बढ्न सकेको थिएन । आयोजनाले २० र २२ मिटर चौडा गर्ने गरी ठेक्का गरे पनि स्थानीयको अवरोधका कारण सोअनुसार सडक अघि बढ्न सकेको थिएन ।

लामो समय निर्माण अवरूद्ध भएपछि सरकारले सबै सडकमा उपलब्ध चौडाइमै कालोपत्र गर्ने निर्णय गरेको थियो । त्यसपछि पनि कहिले कोभिडका कारणले त कहिले निर्माण सामग्री सजिलै उपलब्ध नहुँदा निर्माण चालू हुन नसकेको आयोजनाले बताउँदै आएको छ । विस्तारका अधिकांश सडक समयमै सम्पन्न नहुनुका कारण एउटै रहेको थियो । नेपाल विद्युत् प्राधिकरण, काठमाडौँ उपत्यका खानेपानी लिमिटेड, दूरसञ्चार सेवा प्रदायक संस्था लगायतले संरचना त्यहाँबाट सार्न लामो समय लगाएका थिए ।

सरकारले आव २०६३÷६४ मा सोल्टीमोड–नागढुङ्गा सडक विस्तार गर्न आयोजनाको सुरु गरेको थियो । काठमाडौँ उपत्यका प्रवेश गर्ने मुख्य नाकामा घन्टौँसम्म जाम हुने समस्या समाधनका लागि यो सडक विस्तार भएको थियो । त्यसपछि काठमाडौँका अरु सडक ललितपुरका चक्रपथसँग जोडिने सडक, भक्तपुरमा पुरानो बाटोको सडक विस्तार अघि बढाएइको थियो । यी सडक सम्पन्न हुने लामो समय लागेकाले सरकारले उपत्यकामा थप सडक विस्तारको योजना बनाएको छैन ।

प्रतिक्रिया दिनुहोस्

Array