बाल परिषद् खारेज गर्नु हुँदैन : सभापति कार्की

सगरमाथा पोस्ट
सगरमाथा पोस्ट ७ असार २०८०, बिहीबार
2 Min Read
Aa

काठमाडौँ,  महिला तथा सामाजिक मामिला समितिका सभापति रोशन कार्कीले राष्ट्रिय बाल परिषद् खारेज गर्न नहुने बताउनुभएको छ ।

समितिको आज बसेको बैठकमा ‘परिषद्को अवस्था, आवश्यकता र औचित्यता’ विषयमाथिको छलफलमा बालबालिकाको संरक्षणमा क्रियाशील रहेको परिषद्लाई प्रवद्र्धन गर्न आवश्यक रहेको सभापति कार्कीको भनाइ छ ।
“महत्त्वपूर्ण परिषद्लाई निराश बनाउनु हँुदैन । मन्त्रालयसँग समन्वय गरी आवश्यक परे परिषद्को विकासका लागि लिखितरूपमा सरकारलाई सिफारिस गर्न समिति प्रतिबद्ध छ”, उहाँले भन्नुभयो ।

सो अवसरमा परिषद्का पूर्वकार्यकारी निर्देशक मिलन धरेलले परिषद्को अवस्था, आवश्यकता र औचित्यतासम्बन्धी कार्यपत्र प्रस्तुत गर्दै बालबालिकाको आशा भरोसाको केन्द्रका रूपमा रहेको परिषद् सवलीकरण गर्न जरुरी रहेको बताउनुभयो ।

पूर्वकार्यकारी निर्देशक धरेलले हाल करिब दुई सय बालगृह तथा अस्थायी संरक्षण केन्द्रले परिषद्मा अनुमतिका लागि निवेदन दिएका र प्रत्येक वर्ष एक सय ७० भन्दा बढी बालगृहको अनुगमन र नियमन परिषद्बाट भइरहेको जानकारी गराउनुभयो ।

बालगृहमा कानुनविपरीत ल्याइएका करिब सात हजार बालबालिकाको परिवार पहिचान, पुनःमिलन र पुनःस्थापना गर्ने दायित्व पनि परिषद्को रहेको उहाँको भनाइ छ ।

परिषद्का उपाध्यक्ष बमबहादुर बानियाँले भन्नुभयो, “बालबालिकाको संरक्षणमा क्रियाशील परिषद्लाई खारेज गर्न खोज्नु गलत हो ।” परिषद्मा नेपाल तीन सरकारी र ३८ कर्मचारी विकास साझेदारको समन्वयनद्वारा कार्यरत छन् ।

बैठकमा समितिका सदस्यले राष्ट्रिय तथा अन्तर्राष्ट्रिय मञ्चमा जनाएको प्रतिबद्धतालाई कार्यान्वयन गर्न परिषद् खारेज गर्न नहुने, परिषद्लाई बजेट व्यवस्थापन गर्न समिति तत्पर रहने, गैरसरकारी सङ्घसंस्थासँग सहकार्य, समन्वयमा अझ सशक्त बनाउनुपर्ने बताउनुभयो ।

प्रतिक्रिया दिनुहोस्

Array