‘एक्सन रुम’बाटै प्रधानमन्त्रीको निरीक्षण

सगरमाथा पोस्ट
सगरमाथा पोस्ट १३ असार २०८०, बुधबार
5 Min Read
Aa

काठमाडौँ, प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले आज बहुउद्देश्यीय प्रकृतिका दुई महत्वपूर्ण आयोजनाको निर्माण प्रक्रियाबारे जानकारी लिनुभएको छ ।

प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयमा रहेको ‘एक्सन रुम’बाटै प्रधानमन्त्री प्रचण्डले भेरी-बबई डाइभर्सन आयोजना र सुनकोशी मरिण डाइभर्सन आयोजनाको भौतिक प्रगति र त्यहाँका समस्याबारेमा जानकारी लिनुभयो । एक्सन रुमलाई नियमितरुपमा सक्रिय बनाउने लक्ष्यका साथ प्रधानमन्त्रीले आज पहिलो पटक ती आयोजनाको पछिल्लो अवस्थाबारेमा जानकारी लिनुभएको हो । ती दुवै आयोजना नदी पथान्तरण आयोजना हुन् । दुवैमा ‘टनेल बोरिङ मेशिन’ (टिबिएम)को प्रयोग गरिएको छ ।

भेरी-बबई डाइभर्सन आयोजनाको सुरुङ निर्माण प्रक्रिया पूरा भए पनि हाल बाँधस्थल, विद्युत्गृहलगायतको निर्माण जारी छ । विसं २०७७ मा नै आयोजनाको कूल १२ दशमलव दुई किलोमिटर लामो सुरुङ निर्माण सम्पन्न भए पनि अन्य काम भने अपेक्षित रुपमा अगाडि बढ्न सकेको छैन ।

आयोजनाको समग्र अवस्थाबारेमा आयोजना प्रमुख दिनेश भट्टले जानकारी गराउँदै कोरोना कहरलगायतले अपेक्षित काम हुन नसकेको जानकारी गराउनुभयो । उहाँले परामर्शदाता कम्पनीको अभावमा काममा केही कठिनाइ भएको बताउनुभयो । भेरी नदीको पानी बबईमा खसालेर बाँके र बर्दियाका कूल ५१ हजार हेक्टर क्षेत्रफलमा सिँचाइ सुविधा उपलब्ध गराउने लक्ष्यका साथ सो आयोजना सुरु गरिएको हो । आयोजनाबाट ४६ मेगावाट विजुली उत्पादन गर्ने लक्ष्य छ ।

बाँध निर्माणको काम अपेक्षितरुपमा अगाडि बढेको भए पनि विद्युत्गृह निर्माण अपेक्षित प्रगति हुन नसकेको सो आयोजनालाई गति दिन सरकारले अधिकतम प्रयास गरेको छ ।

ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री शक्तिबहादुर बस्नेतले आयोजनाको सुरुङ निर्माण तोकिएको समयभन्दा अगावै सम्पन्न भए पनि अन्य काममा ढिलाइ हुँदा समस्या देखिएकाले तत्काल समाधानको पहल जरुरी रहेको बताउनुभयो ।

यस्तै, सुनकोशीको पानी मरिण खोलामा खसालेर मधेस प्रदेशमा सिँचाइ र खानेपानी सुविधा उपलब्ध गराउने लक्ष्यका साथ सुरु भएको सुनकोशी–मरिण डाइभर्सन आयोजनाको सुरुङ निर्माणमा भने उल्लेख्य प्रगति भएको छ । राष्ट्रिय गौरवको आयोजनाका रुपमा रहेको सो आयोजनाको सुरुङ निर्माण भएको नौ महिनामै कूल सात दशमलव ९६ किलोमिटर निर्माण सम्पन्न भएको छ । गत असोज २८ गतेदेखि सो आयोजनाको सुरुङ निर्माण सुरु भएको हो ।

आयोजना प्रमुख मित्र बरालका अनुसार सुरुङ निर्माणमा अपेक्षित प्रगति भएको र हालसम्मको भौतिक प्रगति ५३ प्रतिशत बराबर पुगेको छ । सो आयोजनाको सुरुङको कूल लम्बाइ १३ दशमलव एक किलोमिटर छ । टनेल बोरिङ मेशिन (टिबिएम)को प्रयोग गरिएकाले सोचेभन्दा धेरै राम्रो प्रगति भएको आयोजनाको भनाइ छ ।

गत महिना मात्रै सो आयोजनाको कूल एक हजार दुई सय २४ मिटर बराबरको सुरुङ निर्माण सम्पन्न भएको आयोजना प्रमुख बरालले जानकारी दिनुभयो । विश्वव्यापीरुपमा पनि यति छिट्टै यति धेरै सुरुङ निर्माण हुनु पनि आफैँमा रेकर्ड नै भएको जानकारी दिँदै उहाँले विश्व रेकर्डका लागि नाम लेखाउन आवश्यक प्रक्रिया अगाडि बढाइएको बताउनुभयो ।

सो आयोजनाबाट तराई मधेसका कूल एक लाख २२ हजार हेक्टर क्षेत्रफलमा सिँचाइ सुविधा उपलब्ध गराउने लक्ष्य राखिएको छ । टिबिएमको प्रयोग गरेर दैनिक तीन सत्रमा निर्माण जारी रहेको उल्लेख गर्दै आयोजना प्रमुख बरालले विद्युत्गृह र बाँध तथा प्रसारण लाइन निर्माणका लागि निर्माण व्यवसायी परिचालन भइसकेको बताउनुभयो ।

चारवटै कामका लागि समानान्तर रुपमा प्रक्रिया अगाडि बढाइएको स्पष्ट पार्दै उहाँले तोकिएको समयभन्दा अगावै सुरुङ निर्माण प्रक्रिया पूरा हुने बताउनुभयो । चुरे पर्वत शृङ्खलाबाट महाभारत पर्वत शृङ्खलामा सुरुङ निर्माण भइरहेको र कडा चट्टानयुक्त क्षेत्र भएकाले काम थप सहज हुने उहाँको भनाइ छ ।
ऊर्जामन्त्री बस्नेतले सो आयोजनामा भुक्तानीको समस्या देखिएकाले तत्काल समाधान गरिदिन प्रधानमन्त्री प्रचण्डसँग आग्रह गर्नुभयो । “चालु आवका लागि आयोजनाका लागि विनियोजित सम्पूर्ण बजेट भुक्तानी भइसकेको छ । थप बजेट तत्काल उपलब्ध गराउनु आवश्यक छ । त्यसका लागि तत्काल पहल गरिदिनुहुन म प्रधानमन्त्रीसमक्ष आग्रह गर्दछु”, मन्त्री बस्नेतले भन्नुभयो ।

सुरुङ निर्माणमा भौगर्भिक रुपमा रहेको जटिलताका कारण दुई पटक समस्या देखिएको थियो । सुरुङ निर्माणका क्रममा एक पटक नौ दिन र एक पटक २६ दिन काम नै रोकिएको जानकारी दिँदै आयोजना प्रमुख बरालले महाभारत पर्वत शृङ्खलामुनि पुगेकाले अब कुनै पनि जटिलता उत्पन्न नहुने विश्वास व्यक्त गर्नुभयो ।

प्रधानमन्त्री प्रचण्डले निर्माणाधीन आयोजनामा सकेसम्म प्रत्यक्ष रुपमा नै नभए एक्सन रुमबाटै अनुगमन निरीक्षण गरी समस्या समाधान गर्ने र विकासको गतिलाई अगाडि बढाउने बताउँदै आउनुभएको छ ।

सो अवसरमा सरकारका मुख्यसचिव डा बैकुण्ठ अर्यालले राष्ट्रिय गौरव र रणनीतिक महत्वका आयोजनाको नियमितरुपमा एक्सन रुमबाटै भए पनि अनुमगन, निरीक्षण तथा आवश्यक निर्देशन दिने तथा समस्या समाधान गर्ने बताउनुभयो ।

प्रतिक्रिया दिनुहोस्

Array