प्रतिनिधिसभाबाट विनियोजन विधेयक, २०८० बहुमतले पारित

सगरमाथा पोस्ट
सगरमाथा पोस्ट १३ असार २०८०, बुधबार
1 Min Read
Aa

काठमाडौँ,  ‘विनियोजन विधेयक, २०८०’ बहुमतले पारित भएको छ । प्रतिनिधिसभाको आजको बैठकमा अर्थमन्त्री डा प्रकाशशरण महतले प्रस्तुत गर्नुभएको उक्त विधेयकलाई मत विभाजनमार्फत पारित गरिएको हो ।

विधेयकको पक्षमा एकसय ४७ र विपक्षमा एकसय आठ मत परेको थियो । सभामुख देवराज घिमिरेले सो संख्या प्रतिनिधिसभामा उपस्थित संख्याको बहुमत भएकाले विनियोजन विधेयक पारित भएको घोषणा गर्नुभयाे ।

आजको बैठकमा दुई सय ५५ सांसदको उपस्थिति थियो । त्यसअघि सभामुख घिमिरेले मत विभाजनका लागि पाँच मिनेट जनाउ घण्टी बजाउन सचिवालयलाई निर्देशन दिई आवश्यक प्रक्रिया अगाडि बढाउनुभएको थियो ।

त्यसअघि अर्थमन्त्री डा महतले विनियोजन विधेयक २०८० लाई पारित गरियोस् भनी प्रस्ताव प्रस्तुत गर्नुभएको थियो । सभामुख घिमिरेले हुन्छ वा हुँदैन भनी ध्वनि मतका लागि प्रस्ताव गर्नुभएको थियो । उक्त प्रस्तावको पक्षमा बहुमत रहेको भन्दै उहाँले विनियोजन विधेयक २०८० पारित भएको घोषणा गर्नुभएको थियो । त्यसपछि नेकपा (एमाले) का सचेतक महेश बर्तौलाले मत विभाजनको माग गर्नुभएको थियो । मत विभाजनको माग भएपछि सभामुखले उक्त प्रक्रिया अगाडि बढाउनुभएको हो ।

प्रतिक्रिया दिनुहोस्

Array