विस्फोटका घटनामा संलग्न आरोपित पक्राउ

सगरमाथा पोस्ट
सगरमाथा पोस्ट १४ असार २०८०, बिहीबार
2 Min Read
Aa

रुपन्देही, रुपन्देहीका विभिन्न स्थानमा बम विस्फोटका घटनामा संलग्न रहेको आरोपमा प्रहरीले तीन जनालाई पक्राउ गरेको छ । पक्राउ परेका तीनै जनालाई प्रहरीले आज सार्वजनिक गरेको छ ।

जिल्ला प्रहरी कार्यालय, रुपन्देहीले आज भैरहवामा पत्रकार सम्मेलन गरी घटनामा संलग्न अभियुक्तलाई सार्वजनिक गरेको हो । प्रहरीले पक्राउ गरी सार्वजनिक गरेका अभियुक्त रुपन्देहीको सियारी गाउँपालिका–४ धमसरका २७ वर्षीय अब्दुल हाकिम खाँन, कोटहीमाई गाउँपालिका–३ पर्सियाका २२ वर्षीय सुरज लोहार र कोटहीमाई–४ का २४ वर्षीय सुरज थारु रहेको पत्रकार सम्मेलनमा जिल्ला प्रहरी कार्यालय रुपन्देहीका प्रमुख प्रहरी उपरीक्षक भरतबहादुर विकले जानकारी दिनुभयो ।

तीन दिनअघि पक्राउ परेका व्यक्तिहरुबाट लु८५प ६२२१ र लु २० प २५७२ नम्बरको पल्सर मोटसाइकल र विभिन्न मोडलका मोबाइल फोनसमेत बरामद गरिएको प्रहरी उपरीक्षक विकले जानकारी दिनुभयो । उनीहरुले वैशाख १ गते रुपन्देहीको सियारी गाउँपालिका–४ स्थित सियारी गाउँपालिकाका अध्यक्ष थानेश्वर घिमिरेको घर पछाडिको पर्खाल नजिकै प्रेसरकुकर बम राखेको प्रहरीले जनाएको छ ।

उक्त बम नेपाली सेनाको विस्फोटक टोलीबाट डिस्पोज गरिएको थियो । असार १ गते बिहान २ः३० बजे सिद्धार्थनगर नगरपालिका–४ स्थित भैरवप्रसाद कलवारको शिवम इम्पेक्सको कम्पाउन्डमा पर्खाल बाहिर प्रेसरकुकुर बम विस्फोट गराएको र सोही दिननै बिहान ६ः१० बजे मायादेवी गाउँपालिका–८ स्थित सिद्धार्थनगर सिटी हस्पिटलको पछाडि रहेको खाली जग्गामा विस्फोटक पदार्थ (प्रेसरकुकुर बम) विस्फोट गराएको घटनामा संलग्न रहेको प्रहरीले जनाएको छ । उनीहरुले घर नजिकै बम राख्ने र फिरौती रकम माग्ने गरेको पनि अनुसन्धानबाट खुलेको प्रहरीको भनाइ छ ।

पक्राउ परेका तीनै जनालाई मुलुकी अपराध संहिता, २०७४ को परिच्छेद, ७ ‘विस्फोटक पदार्थसम्बन्धी कसुर’ शीर्षकमा मुद्दा दर्ता भई रुपन्देही जिल्ला अदालतबाट पाँच दिनको म्याद थप भई घटनाबारे थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय, रुपन्देहीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्

Array