थप लगानी बढाउन चिनियाँ लगानीकर्तालाई उपप्रधानमन्त्री श्रेष्ठको आग्रह

सगरमाथा पोस्ट
सगरमाथा पोस्ट १६ असार २०८०, शनिबार
3 Min Read
Aa

छेन्दु , उपप्रधान तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठले नेपालमा लगानीको उपयुक्त वातावरण रहेकाले विविध क्षेत्रमा लगानी वृद्धि चिनियाँ लगानीकर्तालाई आग्रह गर्नुभएको छ । चीनको सिचुवान प्रान्तको छेन्दुमा आज सिचुवान प्रादेशिक लगानी समूहसँगको भेटमा उहाँले वैदेशिक लगानीलाई प्रोत्साहित गर्न नीतिगत र प्रक्रियागत सुधार गरिएको बताउनुभयो ।

नेपालमा विभिन्न क्षेत्रमा लगानीको प्रशस्त सम्भावना रहेको उल्लेख गर्दै उहाँले निर्धक्क भएर लगानी गर्न आग्रह गर्नुभयो । “नेपालमा ऊर्जा, कृषि, पर्यटन, सूचना प्रविधिका क्षेत्रमा लगानी गर्ने प्रशस्त सम्भावना छ । हामीले वैदेशक लागनीका लागि उपयुक्त वातावरण बनाउँदै गइरहेका छौँ, वैदेशक लागनीलाई प्रवर्द्धन तथा लगानीको सुरक्षा गर्न सकियोस् भनेर कानुन, नियममा पर्याप्त सुधार गरेका छौँ”, उहाँले भन्नुभयो ।

वैदेशिक लगानीलाई भित्र्याउन सकारात्मक वातावरण बनाउँदै लगिरहेको उहाँको भनाइ छ । लगानीकर्तालाई प्रोत्साहन गर्ने उद्देश्यले विभिन्न कानुनी सुधार गरिएको जनाउँदै उहाँले स्वदेशी र विदेशी लगानीकर्तालाई कुनै भेदभाव नहुने व्यवस्था मिलाइएको बताउनुभयो ।

“हामीले २०१९ मा प्रत्यक्ष वैदेशिक लगानी तथा प्रविधि हस्तान्तरण ऐन पारित गरेको छौँ । जसले लगानीको नाफा आफ्नो देशमा लैजानका निम्ति सुनिश्चित गरेको छ । कुनै पनि लगानीकर्तामाथि भेदभाव नगर्ने कुराको सुनिश्चितता गरेको छ”, उपप्रधानमन्त्री श्रेष्ठले भन्नुभयो, “सबै सेवा एकलबिन्दुबाट लिन सकिने व्यवस्था मिलाइएको छ । सार्वजनिक निजी साझेदारी लगानी ऐन पनि लागू गरिसकेको छौँ । यसले वैदेशिक लगानीका ठूला परियोजनालाई अगाडि बढाउन सहयोग पुग्नेछ ।”

उहाँले सिचुवान प्रान्तस्तरीय लगानी समूहले नेपालमा गरेको लगानीका लागि धन्यवाद दिनुभयो । सो समूहले नेपालमा मध्यमस्र्याङ्दी जलविद्युत् आयोजना निर्माण गरिरहेको छ । “अरु लगानी जसरी भए पनि ल्याउनुस्, लगानी भित्रयाउन हामीले जे गर्नुपर्छ हामी गर्छौँ, ढुक्क भएर विभिन्न क्षेत्रमा लगानीको तयारी गर्नुहोस्, यो मेरो विशेष अनुरोध हो”, उहाँले भन्नुभयो ।

उपप्रधानमन्त्री श्रेष्ठले कर प्रणाली र श्रम कानुन पनि लगानीमैत्री बनाइएको बताउनभयो । उत्पादनमा आधारित उद्योगलाई प्रोत्साहन गर्ने उद्देश्यले विशेष आर्थिक क्षेत्रहरु निर्माण गरिएको जानकारी दिँदै उहाँले भारत र चीनको सीमा क्षेत्रमा सुख्खा बन्दरगाहा बनाइएको उल्लेख गर्नुभयो ।

कुनै समस्या भए लगानीकर्ताका सुझावका आधारमा समाधान गर्न सरकार तयार रहेको जनाउँदै उहाँले लगानीमैत्री वातावरण बनाउनका निम्ति सरकार क्रियाशील रहेको बताउनुभयो । “लगानीको प्रक्रियालाई सहज बनाउन आवश्यक सुधारका लागि सरकार प्रतिबद्ध छ”, उहाँले भन्नुभयो । “विभिन्न क्षेत्रको वैदेशिक लगानीलाई प्रोत्साहित गर्ने र लगानीलाई सुरक्षित गर्ने पक्षमा छौँ ।”

आर्थिक विकास नेपालको प्रमुख एजेण्डा रहेको उल्लेख गर्दै उहाँले त्यसका लागि प्रत्यक्ष वैदेशक लगानीलाई प्रोत्साहित गर्नुपर्नेमा नेपाल दृढ रहेको बताउनुभयो । लगानीकर्तालाई प्रोत्साहित गर्नका लागि नीतिगत सुधार गरिएको उल्लेख गर्दै उहाँले लगानीका लागि अन्य सुधार गर्नुपर्ने विषय भए निर्धक्कसँग भन्न आग्रह गर्नुभयो ।

चीनले नेपालको विकास प्रक्रियामा धेरै नै सहयोग गर्दै आइरहेको जनाउँदै उहाँले आर्थिक सहकार्यका विविध क्षेत्रबारे दुई मुलुकबीच छलफल भइरहेको बताउनुभयो । नेपालका लागि चीन ठूलो वैदेशक लगानीको स्रोतका रुपमा रहेको उल्लेख गर्दै उहाँले आगामी दिनमा नेपालमा थप लगानी बढाउन आग्रह गर्नुभयो ।

प्रतिक्रिया दिनुहोस्

Array