प्रतिनिधिसभाबाट आर्थिक विधेयक पारित

सगरमाथा पोस्ट
सगरमाथा पोस्ट १७ असार २०८०, आईतवार
2 Min Read
Aa

काठमाडौँ,  प्रतिनिधिसभाको आजको बैठकले आगामी आर्थिक वर्षका लागि करका दरको प्रबन्ध गरिएको आर्थिक विधेयक, २०८० बहुमतले पारित गरेको छ ।

बैठकमा अर्थमन्त्री डा प्रकाशशरण महतले उक्त विधेयक पारित गरियोस् भनी प्रस्ताव प्रस्तुत गर्नुभएको थियो । विधेयकमाथि परेका संशोधन प्रस्तावहरु बहुमतले अस्वीकृत भएपछि विधेयक पारित भएको हो । विधेयकमाथि सांसदहरु प्रेम सुवाल, सुमना श्रेष्ठ, शिशिर खनालले संशोधन प्रस्ताव पेस गर्नुभएको थियो ।

प्रतिनिधिसभाको आजको बैठकमा आर्थिक विधेयक, २०८० माथि संशोधनको प्रस्ताव गर्दै सांसद सुवालले एनसेललाई पुँजीगत लाभकरमा छुट दिएकोबारे संसदमा प्रश्न उठाउनुभयो । सरकारले विभिन्न निजी कम्पनीबाट वर्षौसम्म कर उठाउन नसकेको आरोप उहाँको आरोप छ । सांसद सुवालले हेलो नेपाल मुक्तिश्री’ र ‘सिनर्जी नेपाल’बाट वर्षौसम्म कर उठाउन नसकेको भन्दैसरकारको ध्यानआर्कषण गराउनुभयो ।

सांसद सुमना श्रेष्ठले आर्थिक विधेयक, २०८० माथि संशोधन प्रस्तुत गर्दै भन्सारमा लाग्ने करमाथि प्रश्न उठाउनुभयो । उहाँले विद्युतीय धुम्रपानका वस्तुमा भन्सार शुल्क लगाउनुपर्ने बताउनुभयो । उहाँले भन्नुभयो, “इलेक्ट्रोनिक चुरोट, व्यक्तिगत विद्युतीय धुम्रपानका वस्तुमा भन्सार कर लगाइएको छैन । जबकी बालबालिकाले प्रयोग गर्ने पेन्सिल, सार्पनरमा १० प्रतिशत भन्सार कर लगाइएको छ । ”

उहाँले दैनिक खाद्यान्नमा भ्याट लगाउन नहुने धारणा राख्नुभयो । यस्तै स्वदेशी उद्योग र उत्पादनका लागि कच्चापदार्थ आयातमा सहज हुनेगरी भन्सार शुल्क निर्धारण हुनुपर्नेमा ध्यानआर्कषण गराउनुभयो । उहाँले किसानको उत्पादनलाई उचित मूल्य उपलब्ध गराउनेतर्फ समेत ध्यानआर्कषण गराउनुभयो । सांसद शिशिर खनालले संशोधनको प्रस्ताव राख्दै आन्तरिक उत्पादनमा वृद्धि र पर्यटक भित्र्याउने सरकारको नीति विपरीत हवाई टिकटमा भ्याट लगाइएको बताउनुभयो ।

प्रतिक्रिया दिनुहोस्

Array