तिनाउ नदीमा बाढीः तटीय क्षेत्रमा उच्च सतर्कता अपनाउन आग्रह

सगरमाथा पोस्ट
सगरमाथा पोस्ट १९ असार २०८०, मंगलवार
1 Min Read
Aa

काठमाडौँ, लगातारको वर्षाका कारण तिनाउ नदीमा आएको बाढीले पानीको सतह खतराको तह पार गरेको छ । गए रातिदेखि रुपन्देही, पाल्पालगायत आसपासका जिल्लामा भीषण वर्षा भइरहेको छ । यसले तिनाउ नदीमा पानीको सतह बढेको जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

रुपन्देहीका प्रमुख जिल्ला अधिकारी भरतमणि पाण्डेले तिनाउ नदीले खतराको तह पार गरेको र जिल्लाका सबै स्थानीय सरकारलाई यसबारे सतर्क रहन आग्रह गरिएको बताउनुभयो । आज बिहानैदेखि तिनाउले खतराको तह पार गरेको हो ।

बुटवलस्थित बाढी मापन केन्द्रका अनुसार तिनाउमा बिहान पानीको सतह सात दशमलव २२ मिटर पुगेको छ । महाशाखाका अनुसार जल सतह पाँच दशमलव दुई मिटरलाई सतर्कता तह मानिन्छ भने पाँच दशमलव छ मिटरलाई खतराको तह मानिन्छ ।

तिनाउ नदीको जल सतह छ दशमलव ८८ मिटर पुगेपछि तटीय क्षेत्रमा उच्च सतर्कता अपनाउन महाशाखाले अनुरोध गरेको छ । केन्द्रले बिहान ९ बजेसम्म जोखिम क्षेत्रका बासिन्दालाई सुरक्षित रहन अनुरोध गरेको छ ।

तिनाउ नदीले खतराको तह पार गरे पनि अहिलेसम्म मानवीय र भौतिक क्षति नभएको रुपन्देही प्रहरीले जनाएको छ । तिनाउलगायत रुपन्देहीका अन्य नदीमा पनि पानीको बहाव बढेकाले नदी किनारमा रहेका सर्वसाधारणलाई सुरक्षित रहन आग्रह गरिएको प्रमुख जिल्ला अधिकारी पाण्डेयले बताउनुभयो । जिल्लास्थित सुरक्षाका तीनैवटा निकायलाई तयारी अवस्थामा रहन पनि निर्देशन दिइएको छ ।

प्रतिक्रिया दिनुहोस्

Array