एमालेको विरोधपछि राष्ट्रियसभाको बैठक स्थगन

सगरमाथा पोस्ट
सगरमाथा पोस्ट २१ असार २०८०, बिहीबार
1 Min Read
Aa

काठमाडौँ, राष्ट्रियसभाको आजको बैठकमा नेकपा(एमाले) का सांसदहरुले अवरोध गरेपछि बैठक स्थगित भएको छ । बैठक सुरु हुनासाथ राष्ट्रियसभाका ध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले दलका सांसद भैरवसुन्दर श्रेष्ठलाई बौल्नका लागि अनुमति दिनुभयो ।

सांसद श्रेष्ठले केही दिन पहिलेको एक कार्यक्रममा प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले दिनुभएको अभिव्यक्ति राष्ट्रियहितविपरीत रहेको आरोप लगाउनुभयो । उहाँले प्रधानमन्त्रीको भनाइ गलत भएको तर्क गर्दै त्यसविरुद्ध विरोध गर्ने आफ्नो संसदीय दलको निर्णय भएको बताउनुभयो ।

सभाध्यक्ष तिमिल्सिनाले पटक–पटक एमालेका सांसदलाई आसन ग्रहण गर्न आग्रह गर्नुभयो । तर, उहाँहरुले उभिए विरोध जनाइरहनुभएको थियो । सभाध्यक्ष तिमिल्सिनाले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ लाई बोलाएर उहाँको धारणा सुन्ने वातावरण बनाउने र बजेटको संवेदनशीलतालाई ध्यानमा राखेर बैठक सञ्चालनका लागि आग्रह गर्नुभएको थियो ।

राष्ट्रियसभाको आजको बैठकमा उद्योग वाणिज्य तथा आपूर्तिमन्त्री रमेश रिजालले ‘विद्युतीय व्यापार विधेयक, २०८०’ सभा समक्ष पेस गर्ने कार्यसूची रहेको छ ।

त्यस्तै, विनियोजन विधेयक, २०८० का विभिन्न शीर्षकमध्ये अर्थ, श्रम रोजगार तथा सामाजिक सुरक्षा, शिक्षा, विज्ञान तथा प्रविधि, कानुन, न्याय तथा संसदीय मामिला र कृषि तथा पशुपक्षी विकास मन्त्रालयमाथि छलफल हुने कार्यसूची तय गरिएको छ ।

राष्ट्रियसभाको अर्को बैठक यही असार २२ गते शुक्रबार १२.२९ बजे बस्नेछ ।

प्रतिक्रिया दिनुहोस्

Array