मधेसको इतिहास लेखन प्रारम्भ

सगरमाथा पोस्ट
सगरमाथा पोस्ट २४ असार २०८०, आईतवार
4 Min Read
Aa

बर्दिबास , मधेस प्रज्ञा प्रतिष्ठानले मधेसको इतिहास लेखन प्रारम्भ भएको जनाएको छ । मधेसको इतिहास लेखनसम्बन्धी बर्दिबास–४ माईस्थानमा आज सम्पन्न दुईदिने अन्तर्राष्ट्रिय गोष्ठीको समापन गर्दै प्रतिष्ठानका अध्यक्ष रामभरोस कापडी ‘भ्रमर’ ले इतिहास लेखनको कार्य गोष्ठीसँगै प्रारम्भ भएको घोषणा गर्नुभएको हो ।

“मधेस र मधेससँगै जोडिएको भारतका विभिन्न जिल्लाबाट आउनुभएका भाषाविज्ञ तथा इतिहास खोजकर्ताबाट प्राप्त सुझाव नै लेखनका आधार हुन्”, समापन कार्यक्रममा अध्यक्ष ‘भ्रमर’ले भन्नुभयो, “प्राप्त तथ्याङ्क र आधार समाएर इतिहास लेखिने हुँदा त्यसको सुरुआत यहीँबाट भएको छ ।” यो कार्यले तीन वर्षभित्र निश्चित आकार लिइसक्ने उहाँले बताउनुभयो ।

मुलुकका पूर्व मेचीबाट पश्चिम महाकालीसम्मको तराई क्षेत्रका विभिन्न भाषाका विज्ञ, अन्वेषक र इतिहासका खोजकर्ताको सहभागितामा सम्पन्न गोष्ठीले मधेस प्रदेशका आठ जिल्लामात्र समेटिए पनि इतिहास लेखनमा सम्पूर्ण तराई ल्याइने निर्णय गरेको प्रतिष्ठानका सदस्य दिनेश यादवले बताउनुभयो ।

अब लेखिने मधेसको इतिहासमा प्राचीन कोचिला, मिथिला, भोजपुरा, मगध, अवध र थरूहटका भाषा, संस्कृति, परम्परा र विभिन्न जातजातिको विकासक्रम उल्लेख गरिने प्रतिष्ठानको अठोट छ । नेपालका प्राचीन कोचिला, मिथिला, भोजपुरा, मगध, अवध र थरूहट क्षेत्रसँग अहिलेको भारतका सीमा क्षेत्रका भाषा, संस्कृति, वेशभूषा, परम्परा र अन्य रीतिथिति पनि मेल खाने हुँदा भारतीय विद्वानहरूको समेत गोष्ठीमा सहभागिता गराइएको अध्यक्ष ‘भ्रमर’ ले स्पष्ट पार्नुभयो ।

शुक्रबार जनता समाजवादी पार्टी (जसपा) का अध्यक्ष तथा पूर्वउपप्रधानमन्त्री उपेन्द्र यादवले उद्घाटन गरी सुरु भएको गोष्ठीमा भाषा आयोगका अध्यक्ष गोपाल ठाकुरले मधेसको भाषा÷साहित्य र राजनीतिक विश्लेषक विजयकान्तलाल कर्णले इतिहास लेखनका लागि अभिलेख, शिलालेख, ताम्रपत्र, प्राचीन मुद्रा र जनश्रुतिहरू प्रामाणिकताका मुख्य आधार हुने कार्यपत्र प्रस्तुत गर्नुभयो ।

त्यसैगरी पश्चिम नेपालका राना थारूको र दाङ क्षेत्रका डगौरा थारूको भाषा÷साहित्य र संस्कृतिबारे डा जीवन राना र कृष्ण सर्वहारीले कार्यपत्र प्रस्तुत गर्नुभयो । त्यस्तै भारतीय प्राज्ञ अयोध्यानाथ झा र डा पिताम्बर यादवले मैथिली, भाषाविज्ञ गोपाल अश्कले भोजपुरी र विक्रममणि त्रिपाठीले अवधी भाषा÷साहित्यको विकासक्रमबारे धारणा राख्नुभयो ।

सम्पन्न गोष्ठीमा मधेसको इतिहास–गण्डकी पश्चिम कञ्चनपुरसम्म, मधेसको इतिहास–गण्डकी पूर्व कोशी पश्चिमसम्म, मधेसको इतिहास–पूर्व मेची–कोशीसम्म, मधेस प्रदेशको साहित्य संस्कृति र मधेस प्रदेशको भाषा÷कलासम्बन्धी कार्यपत्र प्रस्तुत गरिएको प्रतिष्ठानका सदस्यसचिव रामहृदय यादवले जानकारी दिनुभयो ।

दुई मैथिली कृति विमोचित

मैथिली भाषाका दुई कृति विमोचित भएका छन् । बर्दिबास–४ माईस्थानमा आयोजित मधेस प्रदेशको इतिहास लेखनसम्बन्धी दुईदिने अन्तर्राष्ट्रिय गोष्ठीकै बीच मैथिली भाषा साहित्यका साधक रामभरोस कापडी ‘भ्रमर’बारे लेखिएका दुई मैथिली कृति पूर्वउपप्रधानमन्त्री तथा प्रतिनिधिसभा सदस्य उपेन्द्र यादवले विमोचन गर्नुभएको हो ।

विमोचित कृतिमा प्रोमिशा मिश्राद्वारा लिखित तथा प्रसिद्ध मैथिली भाषाविज्ञ चन्द्रेश सम्पादित ‘रामभरोस कापडी भ्रमर : व्यक्तित्व एवं कृतित्व’ र मैथिली भाषा/साहित्य साधक डा महेन्द्रनारायण रामद्वारा सम्पादित ‘पतियाक आखरमे गुँजैत भ्रमर’ हुन् । शुक्रबार सुरु भएर आज सम्पन्न भएको दुईदिने अन्तर्राष्ट्रिय गोष्ठीमै मैथिली साहित्यले दुई कृति पाएको छ ।

विमोचित कृतिमध्ये ‘रामभरोस कापडी भ्रमर : व्यक्तित्व एवं कृतित्व’मा प्राज्ञ भ्रमरको जीवनी, साहित्यिक यात्रा र योगदानका विषय समेटिएका छन् । त्यसैगरी ‘पतियाक आखरमे गुँजैत भ्रमर’ कृतिमा विश्वभरि छरिएर पनि मैथिली भाषा÷साहित्यको विकासमा योगदान दिँदै आउनुभएका मैथिली भाषाका साहित्यकारहरूले भ्रमरलाई पठाउनुभएका पत्र सामेल छन् ।

नेपाल प्रज्ञा प्रतिष्ठानका प्राज्ञ रहिसक्नुभएका हाल मधेस प्रज्ञा प्रतिष्ठानका अध्यक्ष भ्रमरबारे दुवै विमोचित कृतिले विस्तारमा परिचय दिएको पूनम झा मैथिलले बताउनुभयो । दुवै कृति प्रकाशन भने भारतको बिहार प्रान्तको मधुवनी र सुपौलमा भएको हो । विमोचित दुवै कृतिले मैथिली साहित्यको श्रीवृद्धिमा महत्त्वपूर्ण योगदान दिने प्रसिद्ध नाटककार एवं सिने कलाकार रमेशरञ्जन झाको प्रतिक्रिया छ ।

प्रतिक्रिया दिनुहोस्

Array