धौलीगङ्गा बाँध मङ्गलबार खोलिने : सतर्कता अपनाउन आग्रह

सगरमाथा पोस्ट
सगरमाथा पोस्ट २४ असार २०८०, आईतवार
2 Min Read
Aa
बैतडी,

भारतको उत्तराखण्ड प्रदेशको पिथौरागढ जिल्लामा रहेको धौलीगङ्गा जलविद्युत् परियोजनाको बाँध मङ्गलबार खोलिने भएको छ ।

एनएचपीसी लिमिटेड र धौलीगङ्गा पावरस्टेशनले जिल्ला प्रशासन कार्यालय बैतडीलाई आज पठाएको पत्रअनुसार परियोजनाको बाँध असार २६ गते मङ्गलबार बिहान ५ बजेदेखि बेलुकी ८ बजेसम्म खोलिने छ ।

बाँध खोलेका बेला र त्यसपश्चात केही घण्टा महाकाली नदीको जलस्तर बढ्ने भएकाले सतर्कता अपनाउन आग्रह गरिएको बैतडीका प्रमुख जिल्ला अधिकारी सुरेश पन्थीले जानकारी दिनुभयो । एनएचपीसी लिमिटेड, धौलीगङ्गा पावरस्टेशन, धारचुला, पिथौरागढ भारतबाट प्राप्त पत्रअनुसार बर्सातका कारण परियोजनाको जलाशयमा पानीको प्रवाह दिनप्रति दिन वृद्धि हुँदै गएको र सरसफाइका लागि बाँध खोलिन लागिएको हो ।

बाँध खोलेको बेला नदी तटीय क्षेत्रका बासिन्दालाई सतर्कता अपनाएर सुरक्षित स्थानमा बस्न आग्रह गरिएको छ । यसका साथै लगातारको वर्षा र बाँध खोलिए पश्चात महाकाली नदीमा जलस्तर बढ्ने खतरा भएकाले नदी आसपासका नदी वारपार नगर्न आग्रह गरिएको छ ।

दार्चुलादेखि बैतडी, डडेल्धुरा, कञ्चनपुर भएर भारततिर बग्ने महाकालीमा पानीको बहाव र सतह बढ्न सक्ने भएका कारण नदी छेउछाउमा नजान र सतर्कता अपनाइराख्न स्थानीय प्रशासनले अनुरोध गरेको हो । धौलीगङ्गा जलविद्युत् परियोजनाको बाँध बर्सातको बेला हरेक वर्ष खोलिने गर्दछ ।

परियोजनाको बाँध खोल्नुपूर्व सतर्कताका लागि जानकारी गराउने गरेको छ । विसं २०७० असार २ र ३ गते एक्कासि धौलीगङ्गाको बाँध खोलेपछि दार्चुला सदरमुकाममा सयभन्दा बढी घर बगाउनुका साथै अर्बौं रुपैयाँको क्षति भएको थियो ।

प्रतिक्रिया दिनुहोस्

Array