सगरमाथा पोस्ट
सगरमाथा पोस्ट २६ असार २०८०, मंगलवार
1 Min Read
Aa

काठमाडौँ,  सङ्घीय संसद्, प्रतिनिधिसभाका उपसभामुख इन्दिरा रानाले नेपाल र चीनबीचको सम्बन्ध अझ सुमधुर र प्रगाढ हुने विश्वास व्यक्त गर्नुभएको छ ।

यही असार २३ र २४ (जुलाई ८–९ २०२३) गते चीनको गुइयाङ प्रान्तमा भएको इको फोरम ग्लोबल गुइयाङ–२०२३ कार्यक्रममा भाग लिएर सोमबार राति स्वदेश फर्किएपछि उहाँले आज पत्रकार सम्मेलन गरी सो कुरा बताउनुभएको हो ।

यही असार २३ गते कार्यक्रम उद्घाटन समारोहमा उपसभामुख रानाले सम्बोधन गर्नुभएको थियो । उक्त समारोहमा रानाले नेपालको पर्यावरणीय अवस्था, जलवायु परिवर्तन र त्यसको असरलगायतका विषयमा बोल्नुभएको थियो ।

उक्त उद्घाटन सत्रको प्रमुख वक्ताका रूपमा जनवादी गणतन्त्र चीनका उपप्रधानमन्त्री एवं चिनियाँ कम्युनिष्ट पार्टीको पोलिटब्युरो सदस्य लिउ गोउजोङ हुनुभएको र गिनीका उपराष्ट्रपति र मलेसियाका विज्ञान, प्रविधि तथा नवप्रवर्तन मन्त्रीले पनि आफ्नो मन्तव्य राख्नुभएको उपसभामुख रानाले जानकारी दिनुभयो ।

सो कार्यक्रममा सहभागी हुन चीन गएको उपसभामुख रानासहितको नेपाली टोलीलाई गुइछुउ मा उक्त प्रदेशका सरकार तथा पार्टीका नेताले भेट तथा स्वागत गर्नुभएको थियो । कार्यक्रमको मुख्य सत्रमा नेपाली सङ्घीय प्रतिनिधिमण्डलले ग्रीन एण्ड लो–कार्बन डेभलपमेन्ट शीर्षकको छलफलमा भाग लिएको थियो ।

उक्त सत्रमा नेपालका तर्फबाट उपसभामुख रानाले नेपाल–चीन सम्बन्ध, पर्यावरण संरक्षणका लागि नेपालले गरेको प्रयास र त्यसका लागि मित्रराष्ट्र चीनले गर्नसक्ने सहकार्य, हिमालय क्षेत्रमा बसोबास गर्ने मानव समुदायको जीविकोपार्जनका लागि गर्नसक्ने सहयोगलगायतका विषयमा बोल्नुभएको थियो ।

प्रतिक्रिया दिनुहोस्

Array