मनाङका चौपायामा लम्पी स्किन

सगरमाथा पोस्ट
सगरमाथा पोस्ट २८ असार २०८०, बिहीबार
1 Min Read
Aa

मनाङ, हिमाली जिल्ला मनाङका पशु चौपायमा लम्पी स्किन रोग (छालामा हुने गिर्खे रोग) देखिएको छ ।

भेटेरिनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्र मनाङका पशु चिकित्सक नारायण कुसुमले चामे गाउँपालिका–२ थानचोकका किसानले पालेको एउटा गोरुमा लम्पी स्किनको लक्षण देखिएको जानकारी दिनुभयो । उहाँका अनुसार गोरुलाई उच्च ज्वरो आएको छ । गोरुको छालामा स–सानादेखि ठूलासम्म पूरै गिर्खा देखिएको उहाँले बताउनुभयो । “बिरामी गोरुले घाँस खान कम गरेको छ, ज्वरो र रोगका लक्षणअनुसारका गिर्खा देखिएको छ”, कुसुमले भन्नुभयो ।

किसानले गोरु बिरामी भएको खबर गरेपछि मंगलबार उपचार गर्न जाँदा गोरुमा लम्पी स्किन रोगको लक्षण देखिएको कुसुमले बताउनुभयो । मनाङमा पाइने लुलु गाईबाट जन्मिएको गोरुमा सङ्क्रमण देखिएको उहाँले बताउनुभयो । उक्त गोरु होचो कदको रहेको छ । “गोरुलाई लम्पी स्किन रोगको उपचार सुरु गरिएको छ, अन्य गाईगोरुसँग सम्पर्क नहुने गरी छुट्टै राख्ने प्रवन्ध मिलाएका छौँ”, कुसुमले भन्नुभयो ।

मनाङमा पहिलोपटक लम्पी स्किन रोग देखिएको हो । मनाङमा दुई हजार डोज लम्पी स्किन रोगविरुद्धको खोप ल्याएको कुसुमले जानकारी दिनुभयो । मङ्गलबारबाट चामे गाउँपालिकाका गाई गोरुमा लम्पी स्किन रोगविरुद्धको खोप लगाउन सुरु गरिएको छ । केही दिनपछि नासोँ गाउँपालिकाका किसानले पालेका पशुमा उक्त रोगविरुद्धको खोप लगाउन थालिने उहाँले बताउनुभयो । मनाङमा गाईगोरुको सङ्ख्या एक हजार पाँच सयको हाराहारीमा रहेको कुसुमले बताउनुभयो ।

प्रतिक्रिया दिनुहोस्

Array