गणपूरक सङ्ख्याको अभावमा पूर्वाधार विकास समितिको बैठक स्थगित

सगरमाथा पोस्ट
सगरमाथा पोस्ट २८ असार २०८०, बिहीबार
2 Min Read
Aa

काठमाडौं ।  प्रतिनिधिसभा, पूर्वाधार विकास समितिको बैठक गणपूरक सङ्ख्याको अभावमा स्थगित गरिएको छ । मेलम्ची खानेपानी आयोजनाका विषयमा छलफल गर्न १ः०० बजे बोलाइएको बैठक गणपूरक सङ्ख्या नपुगेपछि पौने दुई बजे स्थगित गरिएको समिति सचिव उदयकुमार भण्डारीले सञ्चारकर्मीलाई जानकारी दिनुभयो । बैठक स्थगित गर्ने बेलासम्म समितिका २७ सांसदमध्ये ११ जनाको उपस्थिति थियो । गणपूरक सङ्ख्याका लागि तीन जना सांसद अपुग भएको हो ।

समितिले पारित गरेको आन्तरिक कार्यविधि, २०८० मा तोकिएको समयभन्दा आधा घन्टासम्म पर्खने व्यवस्था गरिएको छ । त्यसबेलासम्म सांसदहरू ऐनबहादुर शाही ठकुरी, प्रतिमा गौतम, प्रदीप पौडेल, मैना कार्की, गोकर्णराज विष्ट, महेश बस्नेत, निर्मला कोइराला, प्रेमबहादुर महर्जन, निशा डाँगी, शिव नेपाली, लालवीर चौधरी उपस्थित हुनुभएको थियो ।

बैठक स्थगित भएपछि सांसदद्वय उर्मिला माझी र बिना लामा सवा दुई बजे बैठककक्षमा आइपुग्नुभयो । समितिको गणपूरक सङ्ख्याका लागि १४ सांसद आउनुपर्नेमा सवा दुई बजेसम्म आइपुग्ने सांसदसमेत १३ जनाको मात्र उपस्थिति रहेको समिति सचिव भण्डारीले जानकारी दिनुभयो । त्यसबेलासम्म पहिले उपस्थित भएका सांसद र मेलम्ची खानेपानी आयोजनासँग सम्बद्ध कार्यालयका कर्मचारी हिँडिसकेका थिए ।

बैठकमा अनुपस्थित हुने सांसदमा कल्पना चौधरी, खमबहादुर गर्बुजा, दिनेशकुमार यादव, राजेन्द्र बजगाईँ, शङ्कर भण्डारी, ठाकुरप्रसाद गैरे, दयालबहादुर शाही, वसन्तकुमार नेम्वाङ, राजकुमार गुप्ता, माधव सापकोटा, दीपकबहादुर सिंह, सुशीला श्रेष्ठ, चन्द्रकान्त राउत र धनबहादुर बुढा रहनुभएको समिति सचिवालयले जनाएको छ ।

बैठकमा खानेपानी मन्त्रालयका सचिव रामआधार साह, काठमाडौँ उपत्यका खानेपानी लिमिटेड आयोजना कार्यान्वयन निर्देशनालयका आयोजना निर्देशक राजेन्द्र सापकोटा र काठमाडौँ उपत्यका खानेपानी व्यवस्थापन बोर्डका आयोजना निर्देशक सञ्जीवविक्रम राणा उपस्थित हुनुभएको थियो ।

प्रतिक्रिया दिनुहोस्

Array