बैतडीमा ८७ करोड बजेट खर्च हुन सकेन

सगरमाथा पोस्ट
सगरमाथा पोस्ट ३१ असार २०८०, आईतवार
4 Min Read
Aa

काठमाडौँ,  जिल्लाका स्थानीय तहले चालू आर्थिक वर्षमा रु ८७ करोडभन्दा बढी बजेट खर्च हुन नसकेको पाइएको छ । जिल्लाका १० वटै स्थानीय तहले चालु र पुँजीगत दुवै गरेर रु ८७ करोड २३ लाख १४ हजार बजेट खर्च हुुन नसकेको कोष तथा लेखा नियन्त्रक कार्यालयका प्रमुख मदन मगरातीले बताउनुभयो ।

यहाँका सबै स्थानीय तहमा चालू आर्थिक वर्षका लागि रु पाँच अर्ब ६९ करोड १६ लाख ८१ हजार बजेट आएको थियो । सबैभन्दा बढी मेलौली नगरपालिकाबाट चालू र पुँजीगत दुवै गरेर रु १३ करोड ३२ लाख २६ हजार बजेट खर्च गर्न हुन सकेन । उक्त नगरपालिकाबाट रु ६० करोड ४० लाख ७८ हजारमध्ये रु ४७ करोड आठ लाख ५२ हजार बजेट मात्रै खर्च भएको कोष तथा लेखा नियन्त्रक कार्यालयले जनाएको छ ।

सिगास गाउँपालिकाबाट रु ५० करोड २० लाख ९३ हजार बजेटमध्ये रु आठ करोड ७१ लाख छ हजार खर्च हुन नसकेको उक्त कार्यालयले जनाएको छ । सिगासले रु ४१ करोड ४९ लाख ८७ हजार रकम मात्रै खर्च गरेको छ ।

सदरमुकामस्थित दशरथचन्द नगरपालिकाले रु ६७ करोड ६४ लाख २६ हजार बजेटमध्ये रु ५८ करोड ९३ लाख चार हजार खर्च गरेको छ । उक्त नगरपालिकाले रु आठ करोड ७१ लाख २२ हजार खर्च गर्न बाँकी देखिएको छ ।

पाटन नगरपालिकाबाट रु ७४ करोड १६ लाख ४१ हजारमध्ये रु ६१ करोड ५८ लाख ५२ हजार मात्रै खर्च गरेको देखिएको छ । उक्त नगरपालिकाले रु १२ करोड ५७ लाख ८९ हजार खर्च गर्न बाँकी रहेको छ । यसैगरी पुर्चाैंडी नगरपालिकाबाट रु ७१ करोड ६३ लाख ९६ हजार बजेटमध्ये ६२ करोड ८६ लाख ३४ हजार मात्रै खर्च भएको छ । उक्त नगरपालिकाले रु आठ करोड ७७ लाख ६२ हजार खर्च गर्न बाँकी देखिएको छ । डिलासैनी गाउँपालिकाले पनि रु ५२ करोड ३६ लाख १६ हजार बजेटमध्ये रु ४४ करोड ४४ लाख १६ हजार मात्रै खर्च गरेको र रु सात करोड ९२ लाख खर्च गर्न बाँकी रहेको छ ।

दोगडाकेदार गाउँपालिकाले रु ५५ करोड ६९ लाख ६० हजार बजेटमध्ये रु ४७ करोड ९२ लाख ५४ हजार खर्च गरेको छ । उक्त गाउँपालिकाबाट रु सात करोड ७७ लाख छ हजार खर्च बाँकी रहेको छ ।
पञ्चेश्वर गाउँपालिकाको रु ४७ करोड ३९ लाख ५८ हजार बजेटमध्ये रु ३९ करोड ३९ लाख २९ हजार खर्च भएको र रु आठ करोड २९ हजार खर्च गर्न बाँकी रहेको हो । शिवनाथ गाउँपालिकाको रु ४० करोड ४२ लाख ३२ हजारमध्ये रु ३४ करोड १८ लाख ६२ हजार खर्च भएको र रु छ करोड २३ लाख ७० हजार खर्च गर्न बाँकी देखिएको छ ।

सुर्नया गाउँपालिकाको रु ४९ करोड २२ लाख ८१ हजार बजेटमध्ये रु ४४ करोड दुर्ई लाख ७७ हजार खर्च भएको र रु पाँच करोड २० लाख चार हजार खर्च गर्न बाँकी रहेको छ ।
स्थानीय तहमा प्रमुख प्रशासकीय अधिकृत सरुवा र योजनामा राजनीतिक खिचातानीका कारण समयमै योजना सम्पन्न नहुने गरेकाले बजेट खर्च कम हुने गरेको दोगडाकेदार–३ श्रीकोटका हेमराज गिरीले बताउनुभयो । समयमै योजनाका काम सम्पन्न नहुने तथा असारमा आएर योजना सम्पन्न गर्ने र भुक्तानीको काम हुने गरेका छन् । उहाँले भन्नुभयो, “पालिकामा कर्मचारी सरुवा र योजनामा राजनीतिक खिचातानीका कारण विवाद भएर काम नहुँदा पनि बजेट कम खर्च हुने गरेको छ ।”

प्रतिक्रिया दिनुहोस्

Array