लागुऔषध कारोबारमा बालिकाको प्रयोग

सगरमाथा पोस्ट
सगरमाथा पोस्ट ३ श्रावण २०८०, बुधबार
1 Min Read
Aa

काठमाडौँ ,  लागुऔषध तस्करीमा संलग्न एक व्यक्तिले गाँजा तस्करीमा बालिकाको प्रयोग गरेको भेटिएको छ ।

एक १६ वर्षीया किशोरीको नाममा अमेरिकाबाट गाँजाको पार्सल मगाएर तस्करी गर्न लाग्दा उनलाई प्रहरीले नियन्त्रणमा लिएको छ । नेपाल प्रहरीको लागुऔषध नियन्त्रण ब्युरोका अनुसार पर्सा धोबीनी गाउँपालिका–५ बस्ने २७ वर्षीय फैज उल्लाह साहले किशोरीको नागरिकताको दुरुपयोग गरी उनकै नाममा अमेरिकाबाट दुई किलो गाँजा नेपालमा झिकाएको भेटिएको छ ।

किशोरीलाई गाँजा तस्करीमा प्रयोग गरेका साहलाई पक्राउ गरी आवश्यक अनुसन्धान थालिएको ब्युरोका प्रहरी उपरीक्षक चक्रराज जोशीले बताउनुभयो । उहाँका अनुसार सुरुमा पार्सल आएको गाँजा लिन त्यही किशोरीलाई उनले काठमाडौँ महानगरपालिका–९ त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल कार्गो कम्प्लेक्समा पठाएका थिए ।

अमेरिकाको क्यालिफोर्नियाबाट आयात गरिएको दुई किलो गाँजा लिन पुगेकी किशोरीलाई नियन्त्रणमा लिएर थप अनुसन्धान गर्ने क्रममा उनलाई साहले परिचालन गरी लागुऔषधको कारोबार गरेको खुलेपछि पक्राउ गरिएको हो ।

पक्राउ परेका साहउपर जिल्ला अदालत काठमाडौँबाट म्याद लिई लागुऔषध नियन्त्रण ब्युरोबाट थप अनुसन्धान भइरहेको जोशीले बताउनुभयो ।

प्रतिक्रिया दिनुहोस्

Array