ईपिएस भाषा परीक्षा रोकेर आफूहरुलाई पठाउन कोरिया रिटर्नीको माग, सुनुवाई नभएर चरणवद्ध आन्दोलन गर्ने चेतावनी

सगरमाथा पोस्ट
सगरमाथा पोस्ट ९ श्रावण २०८०, मंगलवार
3 Min Read
Aa

काठमाडौं, ८ साउन । कोरिया रिटर्नीहरुले आफूहरुलाई तुरुन्त रोजगारका लागि कोरिया पठाउन सरकारसमक्ष माग गरेका छन् । आज (मंगलबार) रिपोर्टर्स क्लब नेपालमा पत्रकार सम्मेलन गर्दै उनीहरुले ईपिएसको नयाँ भाषा परीक्षा रोकेर आफूहरुलाई रोजगारका लागि पठाउन माग गरेका हुन् । उनीहरुले सरकारले कोरिया रिर्टनीहरुलाई विभेदकारी व्यवहार गरेको आरोप लगाए ।
कोरिया रिर्टनीका संयोजक नविनकुमार राईले अहिले खुलाईएको भाषा परीक्षा तत्काल बन्द गरेर रिटर्नीहरुलाई पठाउनुपर्ने बताए । आफूहरुले पहिला काम गरेको कम्पनीमा फाईल पठाउनका लागि पटक–पटक आग्रह गर्दापनि सम्बन्धित निकायबाट सुुनुवाई नभएको उनको गुनासो छ ।
‘रिर्टनीहरुका लागि पहिलाको कम्पनीमा हाम्रो फाईल पठाइयोस् भनेर हामीले माग राखेका छौं । परीक्षा खुलाएको छ, यो परीक्षा खुलाएको नोटिस तुरुन्त हटाइयोस्,’–उनले भने ।
उनले नयाँ भाषा परीक्षाको लागि खुलाइएको फर्मको सूचना तुरुन्त नहटाए एचआरडी नेपाल, वैदेशिक रोजगार विभाग र आवश्यक परे कोरियन दूतावास घेर्नेसमेत चेतावनी दिए ।
‘उक्त सूचना नहटाएको खण्डमा हामीले गर्नुपर्ने आन्दोलन एचआरडी नेपालमा घेर्नुपर्ने, वैदेशिक रोजगार विभाग घेर्नुपर्ने वा कोरियन एमवेसीलाई घेर्नुपर्ने हामी गर्छौं । हामी छोड्दैनौं । किनभने हाम्रो भविष्यमाथि खेलबाड गरिएको छ ,’– संयोजक राईले भने ।
उनकाअनुसार अहिले कोरियाबाट फर्किएर जानका लागि पखाईमा रहेकाहरुको संख्या संख्या चार हजार पाँच सयभन्दा बढि छ । भाषा परीक्षमा सहभागी भएर, सम्पूर्ण प्रक्रियाहरु पूरा गरी कोरिया जाने अन्तिम चरणमा रहेपनि आफूहरुलाई रोजगारको प्रक्रियामा समावेश नगरिएको भन्दै उनीहरुले आपत्ति जनाए ।
कोरिया रिटर्नी टेकबहादुर थापाले ईपिएस सिस्टममा आफूहरुलाई विभेद गरिएको बताए । आफूहरु एक कार्यकाल कोरिया बसेर नेपाल आएपछि नयाँ समूहसँगै फेरि पनि भाषा परीक्षा पास गरेपनि रोजगारको प्रक्रियामा समावेश नगरिएको भन्दै उनले आपत्ति जनाए । अहिले ९८ प्रतिशत नयाँलाई पठाएर २ प्रतिशतमात्रै रिटर्नीहरुलाई समावेश गरिएको थापाको भनाई छ ।
‘कोरिया भाषा पास गरिसकेपछि रोस्टरमा बस्ने हो । रोस्टरमा दुई हजार मान्छे हुँदाहुँदै किन नयाँ भाषा परीक्षा फर्म खोलियो ? अहिले नेपाल सरकारको मातहतमा र कोरियाको एचआरडी मातहतमा सिविजी भन्ने कोरिया रिर्टनीहरुका लागि भाषा परीक्षा फर्म खोलिएको छ । त्यो फर्म किन खोलिएको हो ? हामी यहाँ पास भएर बसेकै छौं । यो विषयमा नेपाल सरकारले गम्भीर रुपमा लिईदिनु पर्यो,’– उनले भने ।
पत्रकार सम्मेलनमा कोरिया रिटर्नीहरु निर्मल राणा मगर, नारायण प्रसाद भुसाल, विनोद शाक्य लगायतले राज्यले नयाँ र रिटर्नीहरुबीच विभेद गरेको बताए । युवाहरुको भविष्यमाथि खेलबाड नगर्न उनीहरुले सरोकारवालाको ध्यानाकार्षण गराए ।

प्रतिक्रिया दिनुहोस्

Array