चितवनमा डेँगु संक्रमणको उच्च जोखिम

सगरमाथा पोस्ट
सगरमाथा पोस्ट ११ श्रावण २०८०, बिहीबार
3 Min Read
Aa

चितवन , चालु आर्थिक वर्ष २०८०/२०८१ को साउन महिनाको ९ दिनमै ४ जनामा डेँगु संक्रमण पुष्टि भएसँगै संक्रमणको जोखिम बढेको हो ।

७० जनाको परीक्षण गरिएकोमा चार जना चितवन बाहिरका नागरिकमा डेँगु सङक्रमण पुष्टि भएको छ । जिल्ला स्वास्थ्य कार्यालय चितवनले उपलब्ध गराएको तथ्याङ्कअनुसार गत आर्थिक वर्ष २०७९/०८०मा जिल्लाका विभिन्न अस्पतालमा १४ हजार ७२८ जनाको परीक्षण गरिएकोमा तीन हजार ३२४ जनामा डेँगुको सङ्क्रमण देखिएको जिल्ला स्वास्थ्य कार्यालयका सूचना अधिकारी रामकुमार केसीले नारायणी अनलाइनलाई जानकारी दिए ।

केसीका अनुसार चितवन बाहिरका ६९५ जना र ठेगाना नखुलेका ३२३ जना डेँगुबाट सङ्क्रमित भएका थिए भने चार जनाको मृत्यु भएको छ । यस्तै आर्थिक वर्ष २०७८/२०७९ मा पाँच हजार ४५४ को परीक्षण गरिएकोमा ३०३ जनामा डेँगुको संक्रमण देखिएको थियो । यस्तै आव २०७७/२०७८ मा एक हजार ७१७ जनाको परीक्षण गरिएकोमा २४३ जनामा डेँगुको सङ्क्रमण देखिएको थियो ।

चितवनमा संक्रमणको उच्च जोखिम रहेको सूचना अधिकारी केसीले बताएका छन् । उनले भने,‘ डेँगु संक्रमणको उच्च जोखिम रहेकोले संक्रमण नियन्त्रणको लागि स्थानीय निकायसँग छलफल भइरहेको छ । यसका लागि स्थानीय निकाय, स्वयंसेविका र समुदायको सहभागिता चाहिन्छ ।’ उनले स्थानीय निकाय, स्वयंसेविका र समुदायले संक्रमण नियन्त्रणको अभियानमा सहयोग गरिदिन आग्रहसमेत गरेका छन् । उनले बजार क्षेत्रमा धेरै डेँगु संक्रमण फैलिने हुँदा बजार जादा डेँगुको टोकाइबाट बच्न र आफ्नो घर वरिपरी सफा राख्न सुझाव दिएका छन् । उनले भने, ‘यदि लामखुट्टेले टोकेको ७-८ दिनमा ज्वरो आएमा अथवा डेँगुको लक्षण देख्न थालेमा नजिकको स्वास्थ्य संस्थामा सम्पर्क गर्नुपर्छ । यदि समयमै उपचार गरिएन भने व्यक्तिको मृत्युसमेत हुन्छ ।’ उनले लामखुट्टेको लार्भा खोजेर नष्ट गर्ने योजना बनाइरहेको बताए । उनकाअनुसार भदौ, असोज, कात्तिक डेँगुको प्रकोप हुने सिजन हो तर साउनदेखिबाट डेँगुको तथ्याङ्क संकलन कार्य थालेको छ ।

डेँगु एडिस एजेप्टाइ नामको लामखुट्टेले टोकेर हुने तीव्र भाइरल संक्रमण हो । यो रोगको संक्रमण देखिएका बिरामीमा टाउको दुख्ने, आँखाको गेडी तथा आँखाको पछिल्लो भाग दुख्ने, ढाड, जोर्नी तथा मांसपेशी दुख्ने, शरीरमा बिमिरा आउने, वाकवाकी लाग्ने, पेट दुख्ने, नाक वा गिजाबाट रगत बग्ने, रक्तश्राव हुने वा शरीरमा रगत जमेको दाग देखापर्ने, बेहोस हुनेलगायत लक्षण देखा पर्ने चिकित्सक बताउँछन् ।

डेँगुबाट बच्ने मुख्य उपाय लामखुट्टेबाट बच्नु हो । लामखुट्टे पानीमा बस्ने भएकाले घरको वरपर वा पानी जम्ने ठाउँ जस्तैः गमला, फूलदानी, खालीबट्टा, अलकत्रा वा मट्टितेलका खाली ड्रम, गाडीका काम नलाग्ने टायरलगायतमा पानी जम्न नदिनु, बाहिर वा लामखुट्टेले तोक्ने ठाउँमा निस्कदा शरीर ढाकिने लुगा लगाउनुपर्ने र सुत्दा झुलको प्रयोग गर्नुपर्छ ।

प्रतिक्रिया दिनुहोस्

Array