गोरखापत्र संस्थानमा रुपान्तरण र समन्वयको प्रतिफलः वार्षिक नाफा ७२ करोड पुग्यो

सगरमाथा पोस्ट
सगरमाथा पोस्ट १२ श्रावण २०८०, शुक्रबार
7 Min Read
Aa

काठमाडौँ, साउन १२ गते । गोरखापत्र संस्थानले आर्थिक वर्ष २०७९।८० मा ७२ करोड रुपियाँ आम्दानी गरेको छ । कोभिडको महामारी र अर्थतन्त्रमा देखिएको वैश्विक संकटकै माँझ संस्थानले अघिल्लो वर्षको तुलनामा गत आर्थिक वर्षमा २६ प्रतिशत आम्दानी वृद्धि गरेको हो ।

संस्थानको अर्थ विभागका अनुसार आर्थिक वर्ष २०७८।७९ मा संस्थानको वार्षिक आम्दानी ५७ करोड भएको थियो । गोरखापत्र संस्थानका कार्यकारी अध्यक्ष विष्णुप्रसाद सुवेदीले आन्तरिक पद्धति र उत्पादनको गुणस्तरमा व्यापक सुधार अभियान अगाडि बढाइएकाले विज्ञापन बजार सुस्ताएका बेला पनि संस्थानले गत आर्थिक वर्षमा तुलनात्मक रुपमा राम्रो सफलता प्राप्त गरेको बताए ।

कार्यकारी अध्यक्ष सुवेदीले सरकारी निकायसँगै निजी क्षेत्रसँगको समन्वय, सहकार्य र विश्वासको वातावरण निर्माण गरी गोरखापत्र संस्थानको व्यापार बृद्धि गरिएको बताए । उनका अनुसार सञ्चार तथा सूचना प्रविधिमन्त्रीको निर्देशन अनुसार संस्थानलाई नवीनतम् ढङ्गले अघि बढाउने लक्ष्य प्राप्तितर्फ संस्थान व्यवस्थापन क्रियाशील छ ।

सुवेदीले संस्थानसँग उपलब्ध पूर्वाधार, जनशक्ति, प्राविधिक एवं भौतिक स्रोतसाधनको प्रभावकारी उपयोग र परिचालन गर्दै ‘स्मार्ट यात्रा’ तर्फ संस्थानको यात्रा उन्मुख भइसकेको बताए । उनले आन्तरिक एवं नीतिगत सुधार तथा आवश्यक पुनर्संरचनासहित गोरखापत्र दैनिक, दी राइजिङ नेपाल, युवामञ्च, मधुपर्क र मुनाको गुणस्तरमा अभिवृद्धि गरी संस्थानलाई सञ्चार क्षेत्रकै एउटा जीवन्त र सशक्त संस्थाका रूपमा विकास गर्न ठोस रणनीति र योजनासहित अघि बढेको बताए ।

कसरी भयो ‘देखिने परिवर्तन’ ?

अहिले पनि धेरै सरकारी संस्थान व्यवस्थापकीय अक्षमताले थलिएका छन् । सुधारका प्रयास सफल हुन सकेका छैनन् । तर गोरखापत्र संस्थानको व्यवस्थापकीय सुधार र डिजिटल युग सुहाउँदो ‘स्मार्ट गोरखापत्र’ को लक्ष्य बोकेर २०७८ असोजमा गोरखापत्र संस्थानको नेतृत्व सम्हालेका कार्यकारी अध्यक्ष सुवेदीले संस्थानलाई समयसापेक्ष रुपमा अघि बढाएका छन् । सुवेदीका सारथि छन् महाप्रबन्धक लालबहादुर ऐरी ।

कार्यकारी अध्यक्ष सुवेदीले लामो समयदेखि परम्परागत ढर्रा र ढाँचामा चल्दै आएको गोरखापत्र र यसका अन्य प्रकाशनलाई ‘डिजिटल सिफ्ट’ गर्नुपर्ने आवश्यकताबोध गरेरै सुधारका प्रयास थालनी गरिएको बताए । ‘गोरखापत्र संस्थानका प्रकाशनहरूमा भिजिबल चेन्ज अर्थात् देखिने परिवर्तन आएको पाठकवर्गबाटै टिप्पणी आउने गरेको छ, हाम्रो कामलाई अझै गुणस्तरीय बनाउन हामी प्रतिवद्ध छौँ,’ उनले भने ।

यस्ता छन् सुधारका ९ कार्य

–संस्थानको अर्थ विभागका अनुसार आर्थिक मन्दीसँगै विज्ञापनको बजार खुम्चिँदै गएको अवस्थामा संस्थानको कमाइमा देखिएको उल्लेखनीय प्रगतिबारे मन्त्रालयमा आयोजितसमीक्षा बैठकमा पनि चर्चा र प्रशंसा भएको थियो । सुधारसँगै आन्तरिक नियमन तथा सुशासनमा कडाइ गरेर मितव्ययी पद्धति अपनाएकाले यो प्रगति सम्भव भएको हो । सञ्चार तथा सूचना प्रविधि मन्त्रालय अन्तर्गत निकायमा यसरी सबैभन्दा आम्दानी बढाउनेमा गोरखापत्र संस्थान नै पहिलो भएको छ ।

–संस्थानको वित्तीय प्रणाली तथा वित्तीय अनुशासनको अवस्था पहिले नाजुक थियो । सरकारलाई तिर्नुपर्ने ऋण ब्याज समयमा चुक्ता नगरिएको, लेखापरीक्षण सम्पन्न नगरिएको र करको दायित्वसमेत बाँकी रहेको भद्रगोल अवस्था थियो । अघिल्ला आर्थिक वर्षहरुको बाँकी लेखापरीक्षण सम्पन्न गरेर सरकारलाई तिर्नुपर्ने साँवा ब्याज बुझाएर, कर दायित्वसमेत फर्छ्यौट गरेर संस्थानको वित्तिय प्रणलीलाई लिकमा ल्याउने कोसिसमा संस्थान लागिरहेको छ । बितेको आर्थिक वर्षमा मात्रै २०७५ सालयताकै बाँकी करवापतको दायित्वसमेत गरी करिव १३ करोड कर चुक्ता गरिएको संस्थानले जनाएको छ । संस्थानको नाममा रहेको नेपाल सरकारको ७ करोड ऋण चुक्ता भएको छ ।

–लेखाप्रणालीलाई अझै वैज्ञानिक र जवफदेही बनाउनका लागि विज्ञ सेवा खरिद गरी नेपाल लेखामान प्रणाली एनएफआरएस प्रणालीमा प्रवेश गरेको छ । एनएफआरएसअनुसार लेखापरीक्षण सम्पन्न गरेर महालेखा परीक्षकसमक्ष पेस गरिएको छ । एनएफआरएस प्रणालीअनुसार वित्तीय विवरण तयार गरेर लेखापरीक्षण सम्पन्न गर्ने गोरखापत्र संस्थान नै सरकारी स्वामित्वको पहिलो सञ्चार संस्था हो ।

–भुक्तानी, बिलिङ, आम्दानी, करलगायतका आर्थिक कारोबार एवं नियमनलाई वैज्ञानिक र छरितो बनाउने प्रयास संस्थानले गरेको छ । खरिद गुरुयोजना तथा खरिद कार्ययोजना तयार गरी खरिद प्रणालीलाई तथा अन्य आर्थिक कारोबारलाई थप व्यवस्थित र पारदर्शी बनाइएको छ ।

–गोरखापत्र र राइजिङ नेपालको १९५८ सालदेखि प्रकाशित गोरखापत्रका हरेक अङ्क तथा त्यसमा संलग्न सामग्री तथा तस्बिरहरूलाई व्यवस्थित र सुरक्षित रूपमा संग्रह गरेर त्यसलाई मुलुककै सम्पदाका रूपमा सम्वर्द्धन गर्न डिजिटल अर्काइभको कामलाई प्रभावकारी रुपमा अगाडि बढाइएको छ । राष्ट्रिय अभिलेखालय, प्रेस काउन्सिल र मदन पुस्तकालय, त्रिभुवन विश्वविद्यालय केन्द्रीय पुस्तकालयलगायत अन्य सरोकारवाला संस्थाहरुसँगसमेत सहकार्य गरिएको छ । संस्थानभित्रै डिजिटल अर्काइभका लागि अत्याधुनिक ल्याब समेत स्थापना भएर काम सुरु भएको छ । डिजिटल अर्काइभसँगै पुराना सामग्रीको प्राप्ति तथा प्रयोगलाई डिजिटल माध्यमबाट सहज पहुँच उपलब्ध गराएर आम्दानी बढाउने दीर्घकालीन अवधारणासमेत तयार गरिएको छ ।

–संस्थानले उठाउन बाँकी बक्यौतामध्ये गएको वर्षमा ६ करोड फर्छयौट भएको छ । बाँकी बक्यौता व्यवस्थापन तथा असुलीका लागि विशेष कार्यदल बनाएर अध्ययन गरी कार्ययोजनासहित काम थालिएको छ । बेरुजू न्यूनीकरणका लागि आन्तरिक नियन्त्रण र नियमन प्रणालीलाई प्रभावकारी बनाइएको छ ।

–निकै कमजोर रहेको डिजिटल प्लेटफर्ममा व्यापक सुधार गरिएको छ । २०७९ वैशाख १ गतेदेखि गोरखापत्र र राइजिङ नेपाल दुवैको न्यूज पोर्टल प्रभावकारी बनाउन यसलाई नयाँ डेभलपमेन्ट तथा डिजाइनसहित प्रस्तुुत गरिएको छ । न्यूजपोर्टलसहित नयाँ डिजाइनको डिजिटल प्लेटफर्म पनि संस्थानले लन्च गरिसकेको छ । सामाजिक सञ्जालमा संस्थानका उत्पादनको मर्यादित उपस्थितिलाई अझै प्रभावकारी बनाउने प्रयासमा संस्थान लागेको छ । कार्यकारी अध्यक्ष सुवेदीले अबको जोड डिजिटल प्लेटफर्मको आक्रामक विकासतर्फ हुने बताए ।

–सम्पादकीय उत्पादनलाई प्रभावकारी बनाउनका लागि स्मार्ट न्यूज रुम तयार गरेर जनशक्तिमा प्राविधिक सिप र व्यवसायिक दक्षता अभिवृद्धि गर्ने काम भएको छ । न्यूजरुम, विज्ञापन, आर्थिक कारोबार, भण्डार, वितरणलगायतका कामहरुलाई प्रविधिसँग जोडेर थप प्रभावकारी र विश्वसनीय बनाउन अन्तराष्ट्रिय स्तरको सफ्टवेयर खरिद गरी सम्पूर्ण कार्य प्रणाीलाई स्मार्ट बनाउने पहल थालिएको छ । हाम्रो दैनिक कार्य प्रणालीलाई डिजिटल सिस्टमबाट सञ्चालन गर्न एकीकृत कार्यव्यवस्थापन प्रणाली (अफिस अटोमेशन) मा समायोजन गरिएको छ । डिजिटल एकीकृत कार्यव्यवस्थापन प्रणाली अभ्यास गर्ने नै पहिलो संस्थान भएको संस्थानले जनाएको छ ।

–वितरण प्रणालीलाई प्रभावकारी बनाउँदै प्रकाशनहरुको पहुँच विस्तार गरिएको छ । अहिले ७७ जिल्लामा गोरखापत्रको पहुँच सहज भएको छ । सय वर्षका लागि ग्राहक बन्ने नयाँ अभ्यास सुरु भएको संस्थानले जानकारी दिएको छ ।

प्रतिक्रिया दिनुहोस्

Array