कसूरको अनुसन्धानमा देखिएका समस्या र सुधारका उपायहरू विषयक कार्यशाला गोष्ठी सम्पन्न

सगरमाथा पोस्ट
सगरमाथा पोस्ट १५ श्रावण २०८०, सोमबार
3 Min Read
Aa

काठमाडौं, महान्यायाधिवक्ता डा।दिनमणी पोखरेलको प्रमुख आतिथ्यता एवम् प्रहरी महानिरीक्षक बसन्त बहादुर कुँवरको अध्यक्षतामा नेपाल प्रहरी प्रधान कार्यालयमा आयोजित कसूरको अनुसन्धानमा देखिएका समस्या र सुधारका उपायहरू विषयक एक दिवसीय कार्यशाला गोष्ठी सोमबार सम्पन्न भएको छ ।
गोष्ठी उद्‍घाटन पश्चात महान्यायाधिवक्ता डा।दिनमणी पोखरेल र प्रहरी महानिरीक्षक बसन्त बहादुर कुँवरले नेपाल प्रहरी प्रधान कार्यालय अपराध अनुसन्धान विभागद्वारा प्रकाशित ‘ऋक्ष्म् ःबनबशष्लभ’ संयुक्त रूपमा विमोचन गर्नुभयो ।
गोष्ठी समापन कार्यक्रममा महान्यायाधिवक्ता डा।दिनमणी पोखरेलले गोष्ठीमा भएको छलफलका विषयबस्तुहरू गम्भीर रहेको उल्लेख गर्दै अनुसन्धान र अभियोजनकर्ताबीच एक आपसमा अझ बढी सहयोग र समन्वय भईराखेमा अनुसन्धान र अभियोजनमा राम्रो परिणाम आउने बताउनुभयो । न्याय प्रणालीमा अनुसन्धान र अभियोजनलाई त्रुटिरहित र प्रभावकारी बनाउनका लागि दुवै निकाय एकजुट र क्रियाशील भएर कार्यसम्पादन गर्नुपर्नेमा उहाँले जोड दिनुभयो ।
सो अवसरमा प्रहरी महानिरीक्षक बसन्त बहादुर कुँवरले धन्यवाद ज्ञापन तथा समापन मन्तव्य व्यक्त गर्दै फौजदारी न्याय प्रणालीको महत्वपूर्ण स्तम्भको रूपमा रहेको अभियोजनकर्ता सरकारी वकिलको कार्यालय र अनुसन्धानकर्ता नेपाल प्रहरी बीचको व्यावसायिक र समन्वयात्मक सम्बन्धले न्याय प्रणालीलाई अझ सुदृढ, व्यवस्थित र प्रभावकारी बनाउँदै लैजाने चर्चा गर्नुभयो । अपराध अनुसन्धान नेपाल प्रहरीको मुख्य जिम्मेवारी रहेको उल्लेख गर्दै यसको सुदृढिकरणसँगै नेपाल प्रहरीको पनि सुदृढिकरण जोडिएको हुनाले यसको संरक्षण र सम्बर्धनमा सबै प्रहरी कर्मचारी गम्भीर रहेको उहाँले बताउनुभयो ।
प्रहरी महानिरीक्षक कुँवरले महान्यायाधिवक्ताको कार्यालयका राय सुझावहरू नेपाल प्रहरीले मार्गनिर्देशनको रूपमा ग्रहण गरी अपराध अनुसन्धानको क्षमता अभिवृद्धि र वैज्ञानिक प्रणालीको विकासमा तल्लीन रहेको उल्लेख गर्दै सूचना प्रविधिका आधुनिक माध्यमहरूको प्रयोग, स्पष्ट लक्ष्य र रणनीति सहितको योजनाबद्ध तरिकाले कसूरको अनुसन्धान गर्न नेपाल प्रहरी अग्रसर रहेको बताउनुभयो । जनशक्ति र स्रोतसाधनको सीमितता तथा विविध कानूनी जटिलता जस्ता चुनौतिको बहानामा जिम्मेवारीबाट पन्छिन नमिल्ने र ती चुनौतिलाई समाधान गर्ने कानूनी प्रणाली बमोजिम अपराध अनुसन्धानको जिम्मेवारी पूरा गर्नै पर्नेमा उहाँले जोड दिनुभयो ।
सो अवसरमा नेपाल प्रहरी प्रधान कार्यालय अपराध अनुसन्धान विभागका प्रमुख प्रहरी अतिरिक्त महानिरीक्षक टेक बहादुर तामाङले स्वागत मन्तव्य व्यक्त गर्नुका साथै गोष्ठीको उद्देश्यबारे जानकारी दिनुभएको थियो ।
गोष्ठीको दौरानमा नायव महान्यायाधिवक्ता गोपाल प्रसाद रिजालले कसूर अनुसन्धानमा देखिएका समस्या र सुधारका उपायहरू, अधिवक्ता सुवास आचार्यले प्रतिरक्षा वकीलको दृष्टिकोणबाट हाल भइरहेको कसूरको अनुसन्धानमा गरिनुपर्ने सुधारका पक्षहरु र सात वटै प्रदेश प्रहरी कार्यालयका प्रमुखहरुले कसूर अनुसन्धानमा देखिएका समस्या र सुधारका उपायहरू विषयमा प्रदेशगत प्रस्तुतीकरण गर्नुभएको थियो । साथै खुल्ला छलफलमा उठेका विविध विषयका जिज्ञासाहरुको सम्बन्धित अधिकारीहरुबाट निरूपण गरिएको थियो ।
नेपाल प्रहरी प्रधान कार्यालय अपराध अनुसन्धान विभागद्वारा आयोजित उक्त गोष्ठीमा प्रहरी अतिरिक्त महानिरीक्षकहरू, गृह मन्त्रालय कानून महाशाखाका सहसचिव, सहन्यायाधिवक्तहरू, प्रहरी नायव महानिरीक्षकहरू, प्रहरी वरिष्ठ उपरीक्षकहरू, कानून व्यवसायी अधिवक्ताहरू, उप(न्यायाधिवक्ता लगायत वरिष्ठ प्रहरी अधिकृतहरूको सहभागिता रहेको थियो ।

प्रतिक्रिया दिनुहोस्

Array