चिनियाँ पर्यटक आगमन बढ्दै जुलाईमा मात्र एक हजार पाँच सय ९३ चिनियाँ पर्यटक भित्रिए

सगरमाथा पोस्ट
सगरमाथा पोस्ट १७ श्रावण २०८०, बुधबार
2 Min Read
Aa

काठमाडौं । कोभिड–१९ महामारीपछि सुस्ताएको चिनियाँ पर्यटकको आगमन बढ्न थालेको छ । महामारी सुरु हुनुभन्दाअघि कूल पर्यटक आगमनमा १० देखि १५ प्रतिशतसम्म चिनियाँ पर्यटक नेपाल आउने गरेकोमा त्यसपछि भने सुस्ताएको थियो । सन् २०२३ को पछिल्ला महिनामा चिनियाँ पर्यटक आगमन बढ्न थालेको नेपाल पर्यटन बोर्डले जनाएको छ ।
बोर्डका निर्देशक मणिराज लामिछानेका अनुसार महिनाको जुलाई महिनामा पाँच हजार छ सय ९३ चिनियाँ पर्यटक नेपाल भित्रिएका छन् । यो जुलाईमा आएका कूल पर्यटकको सङ्ख्याको नौ दशमलव नौ प्रतिशत हो । सन् २०२२ को जुलाईमा भने एक हजार पाँच सय ९३ चिनियाँ पर्यटक आएका थिए ।
बोर्डका अनुसार सन् २०२३ को सात महिनामा पाँच लाख ३४ हजार दुई सय सात विदेशी पर्यटक भित्रिएका छन् । जुलाई महिनामा मात्रै हवाई मार्ग भएर नेपाल भित्रिने पर्यटकको सङ्ख्या २९ दशमलव आठ प्रतिशतले वृद्धि भएको छ । यसवर्षको जुलाईमा ५७ हजार सात सय २६ विदेशी पर्यटक नेपाल भित्रिएका छन् भने सन् २०२२ को सात महिनामा कूल ४४ हजार चार सय ६२ विदेशी पर्यटक नेपाल आएका थिए ।
चीन सरकारले आफ्ना नागरिक घुम्न जाने देशको सूचीमा नेपाललाई समावेश गरेपछि चिनियाँ पर्यटकको सङ्ख्या बढ्न थालेको हो । गत मार्च १५ तारिखमा चिनियाँ संस्कृति तथा पर्यटन मन्त्रालयले प्रकाशित गरेको सूचीमा नेपाललाई समावेश गरिएको थियो ।
गत महिना पोखरामा भएको चिनियाँ ड्रागन बोट रेस फेस्टिभल आयोजना गरिएको थियो । सो अवसरमा पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा पहिलोपटक चीनको छेन्दुबाट अन्तर्राष्ट्रिय चार्टर्ड उडान गरिएको थियो । चिनियाँ उडान सहजभएको र सीमानाका पनि खुलेकाले चिनियाँ पर्यटकको आगमन विस्तारै बढिरहेको बोर्डले उल्लेख गरेको छ ।
बोर्डका अनुसार जुलाईमा सबैभन्दा बढी भारतबाट २१ हजार तीन सय ५७, चीनबाट पाँच हजार छ सय ९३, अमेरिकाबाट पाँच हजार पाँच सय ६१, बेलायतबाट तीन हजार छ सय ३० र बङ्गलादेशबाट दुई हजार ६ सय ९४ पर्यटक नेपाल आएका छन् ।

प्रतिक्रिया दिनुहोस्

Array