कालिकोटका नौ वटै स्थानीय सरकार प्रमुखविहीन

सगरमाथा पोस्ट
सगरमाथा पोस्ट १९ श्रावण २०८०, शुक्रबार
3 Min Read
Aa

कालिकोट,  कालिकोटका नौ वटै स्थानीय सरकार प्रमुखविहीन भएका छन् । सबै स्थानीय तहमध्ये आठ स्थानीय तहका प्रमुख उपप्रमुख, अध्यक्ष र उपाध्यक्षले आफ्नो क्षेत्र छाडेपछि स्थानीय तह प्रमुखविहीन बनेको हो ।

महावै गाउँपालिका अध्यक्ष मात्र गाउँमा रहेको पाइएको छ भने बाँकी आठ वटै स्थानीय तहका प्रमुख, उपप्रमुख जिल्ला बाहिरिएका हुन् । अधिकांश नगर र गाउँपालिकाले वडाध्यक्षलाई कार्यवाहक दिएर प्रमुख उपप्रमुख नै महिनौँदेखि जिल्ला छाड्ने गरेका छन् ।

वडा अध्यक्षलाई नगरपालिका तथा गाउँपालिका जिम्मा दिएर हिँडेपछि जिल्लाका अधिकांश स्थानीय तहका काम कारबाही प्रभावित बनेको र स्थानीय सेवाग्राहीले सास्ती भोग्नुपरेको छ । सदरमुकाममा रहेको खाँडाचक्र नगरपालिका प्रमुख कमलबहादुर शाही, उपप्रमुख गणेशबहादुर शाही सुर्खेतमा बस्दै आएका छन् । उहाँहरूले सुर्खेतमै बैठक बसेर बजेट बाडफाँड गरेको वडा अध्यक्षको भनाइ छ ।

तिलागुफा नगरपालिका प्रमुख शङ्कर प्रसाद उपाध्याय काठमाडौँमा बस्ने गरेका छन् । जनप्रतिनिधिहरू स्थानीय जनताको सेवा भन्दा पनि सुविधा र सहर मुखी भएको स्थानीयको आरोप छ । रास्कोट नगरपालिका प्रमुख धर्मराज शाही पनि काठमाडाैँमै बस्ने गरेको पालिकाका कर्मचारीहरू बताउनुहुन्छ । उपप्रमुख मनि राज बराल समेत काठमाडाैँमा भएका कारणले नगरको निमित्त प्रमुखको जिम्मेवारी वडा नं ४ का वडा अध्यक्ष दिनेश सज्यालले लिनुभएको छ । रास्कोट नगरपालिकामा अरू सबै वडा अध्यक्षसमेत नगर बाहिर रहेको सज्यालले पाएको निमित्तको जिम्मेवारीले पुष्टि गरेको छ ।

उता नरहरिनाथ गाउँपालिका अध्यक्ष नगेन्द्रवहादुर विष्ट, पलाँता गाउँपालिका अध्यक्ष विष्णुबहादुर रोकाया, पचालझरना गाउँपालिका अध्यक्ष देवजंग शाही, शुभकालिका गाउँपालिका अध्यक्ष गोविन्द्रप्रसाद आचार्य, शान्नीत्रिवेणी गाउँपालिका अध्यक्ष मोहनबहादुर केसी पनि पालिकामा नरहेको पाइएको छ । यी स्थानीय तहका उपप्रमुख र उपाध्यक्ष पनि जिल्ला बाहिर रहेका छन् । तिलागुफा नगरपालिका र महावै गाउँपालिका बाहेक अरू सात वटा स्थानीय तहको जिम्मेवारी वडा अध्यक्षहरूले पाएका छन् ।

तिलागुफा नगरपालिका उपप्रमुख महेनद्रवहादुर शाही स्थानीय तहमा कार्यवाहक प्रमुखको रूपमा रहनु भएको पाइएको छ । शान्नीत्रिवेणी गाउँपालिका अध्यक्ष मोहनबहादुर केसी भने आफ्नो बुवाको उपचारका लागि वीर अस्पतालमा रहेको बताउनुभयो । आर्थिक मसान्तमा सबै पालिका छोडेर जिल्ला बाहिर जाने घटना नौलो भने पटकै होइन । वर्ष भरीको सेवा सुविधा एकै पटक आर्थिक मसान्तमा बुझ्ने भएकाले कालिकोटका जनप्रतिनिधिसँगै कर्मचारीसमेत साउन महिना जिल्ला बाहिर रहने गरेका छन् ।

जनप्रतिनिधिहरू असार मसान्त सकेर मात्र होइन, धेरै पटक विभिन्न बहानामा जिल्ला बाहिर हुने गरेका छन् ।

प्रतिक्रिया दिनुहोस्

Array