चुरेक्षेत्रको अत्यधिक दोहनका कारण तराईका जिल्लामात्र नभई भारतको उत्तर प्रदेश र बिहार राज्यमा समेत पानी अभाव

सगरमाथा पोस्ट
सगरमाथा पोस्ट १९ श्रावण २०८०, शुक्रबार
2 Min Read
Aa

वीरगञ्ज – वीरगञ्ज महानगरपालिकालगायत तराईका जिल्लामा देखिएको पानीको समस्यालाई तत्कालीन र दीर्घकालीनरूपमा समाधान गर्न पर्साका जनप्रतिनिधिहरूले सङ्घ सरकारलाई अपिल गरेका छन् ।

वीरगञ्ज महानगरपालिकाले वीरगञ्जमा आयोजना गरेको ‘खानेपानी समस्या सम्बन्धमा सरोकारवालसँग छलफल’ विषयक कार्यक्रममा प्रतिनिधिसभा सदस्य, प्रदेशसभा सदस्य र स्थानीय तहमा निर्वाचित जनप्रतिनिधिले सङ्घ सरकारलाई यस्तो आग्रह गरेका हुन् ।

कार्यक्रममा सहभागी नेपाल सरकारका खानेपानीमन्त्री महिन्द्र राय यादवलाई सम्बोधन गर्दै प्रतिनिधिसभा सदस्यद्वय प्रदीप यादव र अजयकुमार चौरसियालगायतका जनप्रतिनिधिले तराईका जिल्लामा देखापरेको खानेपानीको समस्या कोरोना महामारीभन्दा बढी भयावह अवस्थामा देखिएकाले यसको तत्कालीन र दीर्घकालीनरूपमा समाधान गरी सर्वसाधारणको ज्यान रक्षा गर्न सङ्घ सरकारलाई आग्रह गरेका हुन् ।

जनप्रतिनिधिले सर्वसाधारणले खोनेपानीको अभाव खेपिरहेको र वर्षा नहुँदा कृषि कार्यमा समेत समस्या देखिएकाले यस क्षेत्रलाई सुक्खा क्षेत्र घोणा गर्ने गरी किसानलाई राहत प्रदान गर्न माग गरेका छन् ।

खानेपानीको समस्या दिनानुदिन भयावह हुँदै गएको र आउने दिनमा यो समस्या विकराल हुँदै जाने भएकाले तराईलाई मरुभूमि र तराईवासीलाई अकाल मृत्युबाट जोगाउन सरकारले तत्कालै अग्रसरता देखाउन प्रतिनिधिसभा सदस्यद्वयले आग्रह गर्नुभयो ।

कार्यक्रममा जनप्रतिनिधिले राखेका जिज्ञासा तथा विभिन्न मागका विषयमा मन्त्री यादवले तराईका विभिन्न जिल्लामा देखिएको खानेपानीको समस्याप्रति सरकार अत्यन्त गम्भीर रहेको र खानेपानी समस्यालाई तत्काल सम्बोधन गर्न आवश्यकताका आधारमा डिपबोरिङ र स्यालोट्युबवेल जडान गराउने तयारीमा सरकार रहेको जानकारी दिनुभयो । उहाँले नेपाल खानेपानी संस्थानको क्षमतालाई वृद्धि गर्दै त्यसको पहुँचलाई बढाउँदै लैजान संस्थालाई निर्देशन दिनुभयो ।

उहाँले तराईका जिल्लामा देखिएको खानेपानीको अभाव चुरेक्षेत्रको अत्यधिक दोहनले गर्दा भएको र सो क्षेत्रको संरक्षण गर्दै पानीको सतहलाई बढाउन रिजर्भ ड्याम बनाउने सोचमा नेपाल सरकार रहेको बताउनुभयो ।

चुरेक्षेत्रको अत्यधिक दोहनका कारण तराईका जिल्लामात्र नभई भारतको उत्तर प्रदेश र बिहार राज्यमा समेत पानी अभाव देखिएकाले चुरक्षेत्रको संरक्षणसँगै रिजर्भ ड्याम निर्माणका विषयमा भारत सरकारसँग छलफल भइरहेको र भारतीय पक्ष यस विषयमा सकारात्मक रहेको मन्त्री यादवले जानकारी दिनुभयो ।

वीरगञ्ज महानगरपालिकाका प्रमुख राजेशमान सिंहको अध्यक्षतामा सम्पन्न कार्यक्रममा सहभागीले खानेपानी संस्थानमा देखिएको जनशक्ति अभावलाई सरकारले तत्काल सम्बोधन गरी धारा जडान प्रक्रियालाई गति दिन आग्रह गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्

Array