झापा जिल्ला कारागार भद्रपुरमा कैदीबन्दीबीच झडप, झडपका क्रममा आगलागी

सगरमाथा पोस्ट
सगरमाथा पोस्ट १९ श्रावण २०८०, शुक्रबार
1 Min Read
Aa

बिर्तामोड । झापा जिल्ला कारागार भद्रपुरमा कैदीबन्दीबीच झडप भएको छ । झडपका क्रममा आगलागी समेत भएको छ । मनोज लावती नामका कैदीबन्दीलाई चन्द्रगढी कारागारबाट सुनसरीको झुम्का कारागारमा सरुवा गर्नलाग्दा असन्तुष्ट कैदीबन्दीको समूहले कारागारभित्र आगजनी गरेको जिल्ला प्रहरी कार्यालय झापाका प्रहरी उपरीक्षक दुर्गाराज रेग्मीले बताए । उनका अनुसार अपराह्न ३ बजेतिर कैदी लावतीलाई कारागार प्रशासनले झुम्का लैजान कारागारबाट बाहिर निकाल्नासाथ कैदीबन्दीले नाराजुलुस र ढुङ्गामुढा सुरु गरेका थिए । कारागारभित्र उनीहरुले आगजनी गर्दा धुँवाको मुस्लो फैलिएको थियो । प्रमुख जिल्ला अधिकारी पोखरेलले कारागारभित्रको स्थिति एक घण्टाभित्रै नियन्त्रण भएको बताए । “अहिले स्थिति नियन्त्रणमा आइसकेको छ”, उनले भने, “कैदीलाई सरुवा गर्न लाग्दा भित्रबाट हुलदङ्गा गरेको पाइयो ।” आगो निभाउन मेचीनगर, भद्रपुर र बिर्तामोडको दमकल कारागार पुगेका थिए । असन्तुष्ट कैदीबन्दीले भित्रबाट कारागार परिसरमा ढुङ्गामुढा गरेका कारण एक घण्टासम्म प्रहरीलाई समेत भित्र जान दिएका थिएनन् । प्रजिअ पोखरेलले घटनामा कुनै मानवीय क्षति नभएको बताए । कैदीबन्दीले हुलदङ्गा मच्चाएपछि स्थानीय प्रशासनले कर्तव्य ज्यानका कैदी मनोज लावतीलाई कारागारभित्रै पठाएको छ । उनी भित्र गएपछि कैदीबन्दीले ढुङ्गामुढा बन्द गरेका हुन् ।

प्रतिक्रिया दिनुहोस्

Array