भारतमा पहिरोमा बेपत्ता भएका नेपालीहरुको खोज तथा उद्धारका लागि नेपाल सरकारद्धारा आग्रह

सगरमाथा पोस्ट
सगरमाथा पोस्ट २० श्रावण २०८०, शनिबार
1 Min Read
Aa

काठमाडौं । नेपाल सरकारले उत्तराखण्डस्थित रुद्रप्रयाग जिल्लामा गएको पहिरोमा बेपत्ता नेपालीको खोज तथा उद्धारका लागि भारतीय पक्षसँग आग्रह गरेको छ ।

परराष्ट्रमन्त्री एनपी साउदले आज उत्तराखण्डका मुख्यमन्त्री पुष्करसिंह धामीलाई टेलिफोन गरेर रुद्रप्रयाग जिल्लाको गौरीकुण्डमा बिहीबार रातिदेखि परेको वर्षासँगै खसेको पहिरोमा बेपत्ता भएका नेपालीको खोज तथा उद्धारका लागि आग्रह गर्नुभएको हो ।

मुख्यमन्त्री धामीले आज बिहानैबाट बेपत्ताको खोजीका लागि सुरक्षाकर्मी र अन्य निकाय खटाइएको परराष्ट्रमन्त्री साउदसँगको कुराकानीमा जानकारी दिनुभयो । पहिरोले होटल बगाउँदा हराइरहेका १४ जना नेपालीको खोजी जारी छ । केदारनाथ प्रवेश गर्ने मुख्य विन्दुमा पर्ने गौरीकुण्डमा पहिरोले नेपालीले सञ्चालन गर्दै आएका तीन होटल बगाउँदा उनीहरु वेपत्ता भएका हुन् ।

पहिरोमा परी जुम्ला पातारासी–३ चौरगाउँका एकै परिवारका ७, पातारासी–२ का ३ र हुम्लाका ३ सहित १३ जना बेपत्ता भएका हुन् । दुई जनाको शव भेटिएको छ ।

तीमध्ये एक जना कालिकोटका टेकबहादुर कामीको सनाखत भएको र अर्को शवको अनुहारमा चोट लागेको कारण सनाखत हुन नसकेको दिल्लीस्थित नेपाली दूतावासले जनाएको छ। भारतीय सञ्चारमाध्यमले लेदोसहितको पहिरोले होटललाई मन्दाकिनी नदीमा पुर्‍याएको जनाएका छन ।

प्रतिक्रिया दिनुहोस्

Array