‘अब वनलाई देशको समृद्धिमा प्रत्यक्ष जोड्नुपर्छ’ : वनमन्त्री महतो

सगरमाथा पोस्ट
सगरमाथा पोस्ट २१ श्रावण २०८०, आईतवार
6 Min Read
Aa

काठमाडौं, वन तथा वातावरणमन्त्री डा. वीरेन्द्र प्रसाद महतोले वनलाई नेपालको समृद्धिमा योगदान पुर्याउने भरपर्दो माध्यम बनाईने बताएका छन् । नेपालको कुल भूभागको ४५ प्रतिशत क्षेत्र ओगटेको वनले अब समृद्धिमा योगदान पुर्याउनेगरि काम गर्नुपर्नेमा उनको जोड छ ।
आज –आइतबार) राउण्ड टेवल नेपालले ‘एक लाख विरुवा रोपेको अवसरमा काठमाडौंको टेकुमा रहेको श्री महेन्द्र सरस्वती सेवा आधारभूत विद्यालयको प्राङगणमा आयोजित विशेष कार्यक्रममा’ प्रमुख अतिथिको रुपमा सम्बोधन गर्दै मन्त्री महतोले यस्तो बताएका हुन । सो अवसरमा उनले संस्थाले हरियाली देश बनाउन खेलेको भूमिकाको खुलेर प्रशंसा पनि गरे ।
उनले भने–‘राउण्ड टेवल संस्थाले आफनो उत्तरदायी कुशलतापूर्वक निर्वाह गरेको छ । म यो संस्थालाई धेरै नैबधाई दिन चाहन्छु । यो संस्थाले आफ्नो घोषणाबमोजिम एक लाख ८८ हजार वृक्षारोपण कार्य सफलतापूर्वक सम्पन्न गरेको छ । सबै सरोकारवाला निकायबीच समन्वय भयो भने हामी जस्तोसुकै काम पनि सहज रूपमा सम्पन्न गर्न सक्छौं । परा–पर्यावरणको लागि तीनै तहका सरकारले जिम्मेवारीबोधका साथ काम गर्नुपर्छ ।’
उनले सरकारका तीनै तहका निकाय र सरोकारवालाबीच समन्वय भएर वन जोगाउने र देशको समृद्धिमा यसको योगदान बढाउन भूमिका निर्वाह गरिने बताए । उनले थपे–‘‘नेपालको ४५ प्रतिशत भूभाग वनले ओगटेको छ । हामीले आगामी दिनमा यसलाई अझै बढाउने प्रयत्न गरेका छौं । अब वनलाई पनि नेपालको आर्थिक समृद्धिमा योगदान पु¥याउने भरपर्दो माध्यम बनाउनुपर्छ । हामी जिम्मेवार निकायका सबैबीच समन्वय भएर काम भैरहेको छ। हाम्रा उद्देश्य साझा छन् । हामीले भन्दै आएको नारा पनि के छ भने–हरियो वन नेपालको धन अब यो लक्ष्यलाई पूरा गर्नका नवीन ढंगले काम गर्नुपर्छ ।’
सो क्रममा मन्त्री महतोले अब स्थानीय तहका सरकारसँग मिलेर नयाँ अवधारणा पनि ल्याउनुपर्नेमा जोड दिए । उनले हरेक व्यक्तिको जन्मदिनलाई यादगर बनाउनको लागि स्थानीय तहसँगको समन्वयमा ‘बर्थ–डे पार्क’ बनाउन सकिने अवधारणा सार्वजनिक गरे । उनले भने,‘हामी हरेक आफनो जन्मदिनको अवसरमा केही न केही नयाँ काम गरिरहेका हुन्छौं । यस्तो अवस्थामा हामीले आफ्नो जन्मदिनलाई विशेष बनाउनको लागि पनि बर्थ–डे पार्कमा वृक्षारोपण गर्न सकिन्छ । त्यो पछि २०, ३० वर्षपछि झनै महत्वपूर्ण रहन्छ ।’ युवा पुस्तामात्रै नभएर ६० वर्ष नाघेका वृद्धहरुलाई पनि विरुवा रोप्न प्रोत्साहन गरिनुपर्ने उनको भनाई छ । उनले भने,‘पछि उहाँहरुका सन्तानले पनि यो मेरो बुवाले रोपेको रुख हो भन्ने हुन्छ । मेमोरी रहन्छ ।’
मन्त्री महतोले वृक्षारोपण गर्नुमात्रै ठूलो कुरा नभएर यसको संरक्षण गर्नुपर्ने सबैको दायित्व हुने सम्झाए । उनले भने–‘वृक्षारोपणसँगै यसको संरक्षणपनि ठूलो कुरा हो । यतातर्फ हाम्रो ध्यान जान जरुरी छ ।’ जंगलभित्र काठहरु कुहिरएर बसेकोमा भने उनले चिन्ता व्यक्त गरे । अहिले नेपालमा विदेशबाट ठूलो मात्रामा काठ आयात भैरहेको तर स्वदेशमै भएका काठमहरु कुहिएर जानु दुःखको विषय भएको उनको भनाई छ । मन्त्री महतोले वनलाई समृद्धिसँग जोडेर जानुपर्नेमा जोड दिए । उनले भने,‘वनलाई आम्दानको माध्यम बनाउनुपर्छ । हाम्रो भूगोलको ४५ प्रतिशत क्षेत्र ओगटेको वनले जिडिपीमा कति योगदान पुर्याएको छ भनेर हेर्नुपर्छ । आज चीन र साउथ अफ्रिकामा वनले ती देशको समृद्धिमा ठूलो योगदान पुर्याएका छन् । हाम्रो वनलाई पनि अब मुलुकको समृद्धिको लागि जोड्नुपर्छ ।’
नेपालले अन्तर्राष्ट्रिय फोरममा गरेको प्रतिबद्धताअनुसार सन् २०२२ भित्र बाघको संख्या दोब्बर बनाउने भनेकोमा यो समयसिमाभित्र बाघको संख्या तेब्बर पुर्याउन सफल भएको तथ्यांक पनि सुनाए । जंगली जनावर र मानवबीच भैरहेको द्वन्द्व कम गर्नपनि अब सबैले ध्यान दिनुपर्नेमा जोड दिए । उनले सो अवसरमा मानव–जंगली जनावरबीचको द्वन्द्व कम गर्न कसरी सकिन्छ भन्ने विषयमा राउण्ड टेवल नेपालले पनि केही योगदान पुर्याए राम्रो हुने प्रतिक्रिया दिए । राउण्ड–टेवल नेपाललाई आवश्यक पर्ने सबै किसिमको सहयोग गर्न आफू तयार रहेको पनि उनको प्रतिक्रिया थियो ।
उक्त अवसरमा काठमाडौं महानगर वडा नम्बर १२ का अध्यक्ष बालकृष्ण महर्जनले महानगरले हराभरा काठमाडौं बनाउने उद्देश्यले १ लाख विरुवा रोप्ने घोषणा गरेको र सोहीअनुसार काम भैरहेको स्पष्ट पारे । काठमाडौं महानगरलाई स्वच्छ बनाईने आफूहरुको लक्ष्यअनुसार काम भैरहेको भन्दै संघ तथा संस्थाले पनि वृक्षारोपण कार्यलाई बढावा दिनु खुशीको विषय भएको उनको भनाई छ । उनले वनमन्त्री महतोलाई आफूले सकारात्मक पाएको भन्दै स्वच्छ वातावरण बनाउने अभियानमा मन्त्रीको सकारात्मक सहयोग पाउने विश्वास व्यक्त गरे । उनले सो अवसरमा राउण्ड टेवल नेपाललाई लक्ष्यभन्दा बढि नै विरुवा रोपेको भन्दै बधाई तथा शुभकामना दिए ।
सो अवसरमा उक्त संस्थाका राष्ट्रिय अध्यक्ष राहुल अग्रवाल, अन्तर्राष्ट्रिय अध्यक्ष जयन्त अग्रवालले संस्थाले गरेका काम र आगामी योजनाबारे प्रकाश पारेका थिए । उनीहरुले संस्थाले प्रतिबद्धता जनाएको भन्दा झण्डै दोब्बर विरुवा रोप्न सफल भएकोमा खुशी व्यक्त गरेका थिए ।
राउण्ड टेवल नेपालले यसअघि गरेको एक लाख वृक्षारोपण गर्ने घोषणा गरेकोमा निर्धारित समयमै घोषणा गरेको भन्दा झण्डै दोब्बर (एक लाख ८८ हजार) विरुवा रोपण गरेको हो । यस्तै विद्यालय परिसरमै मन्त्री महतोले वृक्षारोपण पनि गरेका थिए । राउण्ड टेवल नेपालले विभिन्न ८ प्रजातिका ५०० सय विरुवा पनि काठमाडौं महानगर–१२ का अध्यक्ष महर्जनलाई प्रदान गरेको थियो । राउण्ड टेवल नेपालका पदाधिकारीले आफूहरुले वृक्षारोपणमात्रै नभएर यसको संरक्षण गर्ने पनि प्रतिबद्धता जनाएका थिए । उनीहरुले आगामी दिनमा पनि वृक्षारोपण अभियानलाई अझै प्रभावकारी बनाउने घोषणा गरेका छन् । र, अहिलेको भन्दा अझै बढि विरुवा रोप्ने उनीहरुको प्रतिबद्धता छ ।
सो अवसरमा राउण्ड टेवल नेपालले उक्त विद्यालयका विद्यार्थीहरुको लागि शैक्षिक सामाग्रीहरु पनि प्रदान गरेको थियो । साथै, विभिन्न माध्यमबाट आफूहरुको अभियानमा साथ र सहयोग पुर्याउनेहरुको लागि राउण्ड टेवल नेपालका प्रतिनिधिहरुले विभिन्न व्यक्तिहरुलाई मायाको चिनो पनि प्रदान गरेका थिए । कार्यक्रमको सञ्चालन भने राउण्ड टेवल नेपालकै रोहित अग्रवालले गरेका थिए । राउण्ड टेवल नेपालले नेपालका मुख्य मुख्य शहरहरुमा वृक्षारोपण गरेको हो ।

प्रतिक्रिया दिनुहोस्

Array