गोलभेँडा भारततिर जान थालेपछि गोलभेँडाको मूल्य आकाशिए

सगरमाथा पोस्ट
सगरमाथा पोस्ट २१ श्रावण २०८०, आईतवार
2 Min Read
Aa

चितवन,  चितवनबाट गोलभेँडा भारततिर जान थालेपछि चितवनमा गोलभेँडाको मूल्य आकाशिएको छ । वर्षात्मा हुने डुबानका कारणले भारतमा गोलभेँडाको उत्पादन घटेकोले चितवनबाट भारत गोलभेँडा निर्यात हुन थालेको हो ।वर्षाको मौसममा गोलभेँडाको उत्पादन उसै त कम हुन्छ त्यसैमाथि पनि कम उत्पादन भारत जान थालेँपछि चितवनमा गोलभेँडा महंगो भएको व्यवसायीहरुले बताएका छन् । भरतपुरको क्षेत्रपुरमा रहेको महानगर फलफूल तथा तरकारी बजारका व्यवसायी उमेश शाहले दैनिक बजारबाट ८०० क्रेट गोलभेँडा भारत जान थालेपछि गोलभेँडाको मूल्य बढेको नारायणी अनलाइनलाई जानकारी दिए । उनले भने, ‘ डुबानको समयमा चितवनमा गोलभेँडाको उत्पादन घटेको छ । काठमाडौँ, धादिङ र नुवाकोटबाट गोलभेँडा ल्याउनुपर्छ । चारतिर खोजेर ल्याएको गोलभेँडा भारत जान थालेपछि चितवनबासी महंगोमा गोलभेँडा किनेर खान बाध्य भएका छन् ।’

चितवनको होलसेल बजारमा गोलभेँडाको मूल्य प्रतिकेजी १३० रुपैयाँदेखि १५० रुपैयाँसम्म पर्ने गरेको छ । जसको कारण खुद्रा गोलभेँडाको मूल्य प्रतिकेजी १८० देखि २०० रुपैयाँसम्म पर्ने गरेको व्यवसायी बताउँछन् । व्यवसायी शाहले गोलभेँडाको मूल्य एक क्रेटको तीन हजार देखि ३३ सय रुपैयाँसम्म पुगेको जानकारी दिए । उनले भने, ‘ एक क्रेटमा २३ किलो गोलभेँडा हुन्छ त्यसमा राम्रो गोलभेँडा २० किलो मात्र हुन्छ । चितवनमा उत्पादन घटेको छ । बजारमा भएको गोलभेँडा भारत जान्छ । ’

गोलभेँडा महंगो भएको समयमा चितवनका किसानहरुले भने उत्पादन लागत बढी र मूल्य नपाएको कारणले वर्षा याममा गोलभेँडा खेती गर्न छाडेका छन् । कालिका नगरपालिका–९ का तरकारी किसान नरेन्द्रजंग गुरुङले वर्षामा गोलभेँडा खेती गर्न टनेल चाहिने र उत्पादन लागत बढ्ने भएकोले खेती गर्न छाडेको बताए । उनले भने, ‘ झरीमा गोलभेँडाको उत्पादन कम हुन्छ । अघिल्ला वर्षहरुमा निकै खर्च गरेर गोलभेँडाको उत्पादन गर्दा राम्रो मूल्य आएन । धोका खाइयो । अहिले धान काटेपछि मात्र गालेभेँडा लगाउने गरेका छौं ।’ उनले किसानले कहिँलेकाहीँ लागत मूल्य पनि उठाउन नसक्ने भएकोले सधै एकैप्रकारको खेतीलाई निरन्तरता दिन नसकेको अनुभव सुनाए ।

प्रतिक्रिया दिनुहोस्

Array