तामाङ र मगर समुदायको धर्नामा भएको प्रहरी हस्तक्षेप घटनाको गम्भीर अनुसन्धान गरी दोषी प्रहरीलाई कारवाही गर्ने र घाइतेको उपचार गर्ने प्रतिबद्धता

सगरमाथा पोस्ट
सगरमाथा पोस्ट २२ श्रावण २०८०, सोमबार
1 Min Read
Aa

काठमाडौं, उपप्रधान एवम् गृहमन्त्री नारायणकाजी श्रेष्ठले तामाङ र मगर समुदायको धर्नामा भएको प्रहरी हस्तक्षेपप्रति दुःख व्यक्त गर्नुभएको छ । गृहमन्त्री श्रेष्ठले घटनाको गम्भीर अनुसन्धान गरी दोषी प्रहरीलाई कारवाही गर्ने र घाइतेको उपचार गर्ने प्रतिबद्धता व्यक्त गर्नुभएको छ ।

आज मन्त्रालयमा तामाङ घेदुङ र मगर सङ्घका अध्यक्षसहितका प्रतिनिधिहरूको ज्ञापनपत्र बुझ्ने क्रममा गृहमन्त्री श्रेष्ठले सो प्रतिबद्धता जनाउनुभएको हो ।

तामाङ र मगर समुदायका विषयमा विवादास्पद अभिव्यक्ति दिने अधिवक्ता भगवती पाण्डेलाई तत्काल कारवाही गर्न उजुरी दिए पनि समयमै सुनुवाइ नभएको भन्दै साउन १७ गते नेपाल तामाङ घेदुङ सङ्घीय समिति र नेपाल मगर सङ्घ केन्द्रीय समितिको ब्यानरमा टेकु प्रहरी परिसर अगाडि धर्ना दिइएको थियो । सोही धर्नामा प्रहरी हस्तक्षेप हुँदा करिब ३६ जनाभन्दा बढी धर्नाकारी घाइते भएका थिए ।

सोही दिन पक्राउ अधिवक्ता पाण्डे केही घण्टामा जिल्ला अदालत काठमाडौंको आदेशले रिहा भए पनि धर्नाकारीलाई भने प्रहरी हिरासतभित्र समेत चरम यातना दिइएको तामाङ घेदुङ र मगर सङ्घले बताउनुभएको छ । मरणासन्न घाइते दर्जनौं महिला र पुरुष आन्दोलनकारीको उपचार जारी छ ।

अधिवक्ता पाण्डेमाथि कारवाही, धर्ना र हिरासतमा यातना दिन आदेश दिने प्रहरी अधिकारी तथा संलग्नमाथि कारवाही तथा उचित क्षतिपूर्ति एवम् उपचारको माग गर्दै तामाङ घेदुङ र मगर सङ्घले गृहमन्त्री श्रेष्ठलाई ज्ञापनपत्र दिएको हो ।

Gorkhapatra

प्रतिक्रिया दिनुहोस्

Array