नागढुङ्गा–सिस्नेखोला सुरुङ मार्गको आपत्कालीन मार्ग छिचोलियो

सगरमाथा पोस्ट
सगरमाथा पोस्ट २२ श्रावण २०८०, सोमबार
2 Min Read
Aa

धादिङ,  निर्माणाधीन नागढुङ्गा–सिस्नेखोला सुरुङ मार्गको आपत्कालीन मार्गको छिचोलिएको ‘ब्रेक थ्रु’ भएको छ । आज (सोमबार) नेपाली र जापानी संस्कृति अनुसार अन्तिम विस्फोट गराएर सुरुङ मार्गको ‘ब्रेक थ्रु’ गरिएको हो ।

भौतिक पूर्वाधार तथा यातायातमन्त्री प्रकाश ज्वालाको उपस्थितिमा सुरुङ मार्ग छिचोल्ने कार्यक्रम गरिएको हो । कार्यक्रममा मन्त्री ज्वाला, नेपालस्थित जापानी राजदूत र जाइकाका प्रमुखले नेपाली र जापानी संस्कृति अनुसार नरिवल फुटाएर चामल, वाइन, नुन र फुलबाट संयुक्त पूजा गरेर मार्ग खोल्नुभएको थियो ।

गढुङ्गा–सिस्नेखोला सुरुङ मार्ग आयोजनाका प्रवक्ता रमेश कोइरालाले दुई हजार ५५७ मिटरमध्ये दुई हजार ५५६ मिटर खन्ने काम पूरा भइसकेको जानकारी दिनुभयो ।

सुरुङ मार्गमा धादिङ (पश्चिम) तर्फबाट प्रवेश गरी काठमाडौँ (पूर्वतर्फ) निस्किने कार्यक्रम छ । मुख्य र सहायक सुरुङ जोड्न निर्माणाधीन सात वटा ‘क्रस प्यासेज’ को कुल लम्बाइ १२८ मिटरमध्ये अब १२ मिटर मात्र खन्न बाँकी छ ।

आयोजनाका प्रवक्ता कोइरालाले मुख्य सुरुङ मार्ग आगामी असोजमा छिचोलिने जानकारी दिनुभयो । मुख्य सुरुङ मार्गको दुई हजार ६८८ मिटरमध्ये दुई हजार १८८ मिटर खन्ने काम सम्पन्न भइसकेको छ । अहिले धादिङ र काठमाडौँ दुवैतिरबाट तीव्र गतिमा सुरुङ खन्ने काम भइरहेको उहाँको भनाइ छ ।

आयोजनाको सुरुङ खन्ने काम ९१ प्रतिशत सम्पन्न भइसकेको छ भने आयोजनाको समग्र भौतिक प्रगति ८० प्रतिशत छ । यसैगरी आर्थिक प्रगति ६३ प्रतिशत पुगेको छ । अहिलेसम्म आयोजनाका लागि जग्गा खरिदमा करिब सात अर्ब र भौतिक संरचना निर्माणमा आठ अर्ब रुपियाँ खर्च भइसकेको छ ।

प्रतिक्रिया दिनुहोस्

Array