वर्षाका कारण क्षतिग्रस्त भएका सडक र पुल तत्काल निर्माण गरेर नागरिकको जनजीवन सहज बनाउन निर्देशन : मन्त्री ज्वाला

सगरमाथा पोस्ट
सगरमाथा पोस्ट २३ श्रावण २०८०, मंगलवार
1 Min Read
Aa

काठमाडौं । भौतिक पूर्वाधार तथा यातायातमन्त्री प्रकाश ज्वालाले वर्षाका कारण क्षतिग्रस्त भएका सडक र पुल तत्काल निर्माण गरेर नागरिकको जनजीवन सहज बनाउन निर्देशन दिनुभएको छ । अविरल वर्षापछि भौतिक पूर्वाधारका क्षेत्रमा भएको क्षतिको विवरण तत्काल सङ्कलन गर्न र पुनःनिर्माण सुरु गर्न मातहतका निकायलाई उहाँले निर्देशन दिनुभएको हो ।

सोमबार अपराह्नदेखि परेको अविरल वर्षाले देशका विभिन्न ठाउँमा मानवीय र भौतिक क्षति भएको छ । देशभरका सडक, पुल र यातायातका क्षेत्रमा भएको विवरण तत्काल सङ्कलन गर्न मन्त्री ज्वालाले निर्देशन दिनुभएको छ । अविरल वर्षापछि सुदूरपश्चिम प्रदेशका सात पहाडी जिल्ला जोड्ने भीमदत्त राजमार्ग भासिएको छ । ठाउँ ठाउँमा पहिरो गएको सडक विभागले जनाएको छ । सडक भासिएपछि आवत–जावत पूर्णरुपमा बन्द भएको छ ।

मन्त्री ज्वालाले भीमदत्त सडकको तत्काल पुनः निर्माणमा जुट्न र यातायात छिटो सञ्चालन गर्न सडक विभागलाई निर्देशन दिनुभयो । निर्माणाधीन सिद्धबाबा सुरुङ मार्गको उत्तरतर्फको मूल गेट नजिकै पहिरो जाँदा बुटवल–पाल्पा सडक अवरुद्ध बनेको छ । अवरुद्ध सडक तत्काल सञ्चालनमा ल्याउन मन्त्री ज्वालाले सम्बन्धित क्षेत्रका निर्देशकलाई निर्देशन दिनुभएको छ ।

मकवानपुरको बागमती गाउँपालिका सिग्रेमा पहिरोमा परी सन्तमाया स्याङ्तानको निधन भएको थियो । बाढी र पहिराका कारण क्षतिग्रस्तमध्ये अहिले चार राष्ट्रिय राजमार्ग ठप्प रहेका सडक विभागले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्

Array