सोमबार देखि देशैभर आएको बाढीपहिरोले ६ को मृत्यु, ७ बेपत्ता

सगरमाथा पोस्ट
सगरमाथा पोस्ट २४ श्रावण २०८०, बुधबार
9 Min Read
Aa

काठमाडौँ — सोमबारदेखिको भारी वर्षासँगै आएको बाढी र पहिरोबाट काठमाण्डौं, सर्लाही, धनुषा र मकवानपुरमा गरी ६ जनाको मृत्यु भएको छ । ७ जना बेपत्ता छन् । तराईमा बाढी र पहाडमा पहिरोले धनजनको क्षति भएको छ । कैलालीमा ५ सय परिवार डुबानमा परेका छन् ।

सिन्धुलीको हरिहरपुरगढी र मकवानपुरको वाग्मती गाउँपालिकास्थित वाग्मती पुलको पहुँचमार्गमा बाढीले पुर्‍याएको क्षति । तस्बिर : राजकुमार कार्की/कान्तिपुर

भीमदत्त राजमार्गको दुई सय मिटर सडक भासिँदा सुदूरपश्चिमका ७ पहाडी जिल्लाबाट तराईसँगको यातायात ठप्प भएको छ ।

सर्लाहीस्थित वाग्मती र बाँके नदीमा आएको बाढीले बगाउँदा दुई जनाको र धनुषास्थित बसही खोलामा डुबेर एकको मृत्यु भएको हो । कमला नदीमा आएको बाढीमा दाउरा टिप्न गएका श्रीमान्–श्रीमती अझै बेपत्ता छन् । वाग्मती नदीमा फसेका दुई जनाको उद्घार गरिएको छ । मंगलबार बिहान खेतमा काम सकेर फर्किरहेका रौतहट गढीमाई नगरपालिका–२ समनपुरका ६५ वर्षीय सहिद रहिम भाटको सर्लाही–रौतहट सीमा भएर बग्ने वाग्मती नदीको समनपुर घाटमा पुग्दा बगेर मृत्यु भएको छ ।पहिरोमा परी गणेशकी श्रीमती सञ्जु तामाङ र छोरा घाइते भएका छन् ।
यस्तै, काठमाण्डौंको तारकेश्वर नगरपालिका वडा नं ३ स्थीत चो गाँउमा गएराती पहिरोले घर बगाँउदा दुई जनाको मृत्यु भएको छ । पहिरोमा परि दुई जना घाइते भएका छन् ।
तारकेश्वर नगरपालिका वडा नं ३ र ५ को सिमानामा रहेको चो गाउँ स्थीत गणेश तामाङ सहित उनको परिवारहरु बस्दै आएको कच्ची घरलाई पहिरोले बगाएको हो । नुवाकोटको बिदुर नगरपालिका १३ कल्याणपुर घर भएका तामाङ परिबार बस्दै आएको सो घर उनिहरुको आफ्न्ताको रहेको तारकेश्वर नगरपालिका वडा नं ३ का अध्यक्ष परशुराम अर्यालले बताउनुभयो । करिब ३ सय मिटर माथीबाट आएको पहिरोले घर बगाँउदा करिब ४१ बर्षी गणेश तामाङ र उनकी छोरी आस्मा तामाङको मृत्यु भएको छ । पहिरोले गणेशको घटना स्थलमानै र उनकी छोरी आस्माको भने उपचारको क्रममा अस्पतालमा निधन भएको हो । गणेशकी १६ बर्षीय छोरी आस्माले हालै मात्र एस.इ.ई उत्रिण गरेकी हुन् ।

यस्तै, सर्लाही–महोत्तरी सीमाको बाँके खोलाले बगाउँदा हरिपुर्वा नगरपालिका–७ बसन्तपुरका ६० वर्षीय भोला चौधरीको मृत्यु भएको हो । सोमबार राति घरपरिवारबाट सम्पर्कविहीन भएका चौधरीको शव मंगलबार खोलामा डुबेको अवस्थामा फेला परेको थियो ।

धनुषाको बसही खोलाको बाढीले मिथिला नगरपालिका–१ आनन्दपुरका १६ वर्षीय अजय यादवको मृत्यु भएको छ । उनलाई उद्धार गरी अस्पताल लैजाने क्रममा मृत्यु भएको प्रहरी निरीक्षक विक्रम साहले बताए । कमला नदीमा बाढीले बगाएर ल्याएको काठ संकलन गर्ने क्रममा कमला ब्यारेज नजिकबाट गणेशमान चारनाथ नगरपालिका–७ का ३५ वर्षीय साजन परियार र उनकी श्रीमती ३० वर्षीया माया परियार बेपत्ता भएका छन् ।

मंगलबार अपराह्नसम्म वर्षा नरोकिँदा मधेसका अधिकांश नदी–खोलाको बहाव खतराको सतह पार गरेको हो । धनकौल गाउँपालिका–१ स्थित वाग्मती नदीको

बाढीले तटबन्ध पार गरेर एकादशी खोलामा मिसिएपछि गाईभैंसी चराउन र खेतबारी गएका बेला फसेका ६० जनाको साँझ उद्धार गरिएको छ । उनीहरूमध्ये २० जनालाई सर्लाहीतर्फ र ४० जनालाई रौतहटतर्फ लगेर सुरक्षित स्थानमा राखिएको प्रहरी उपरीक्षक नरेशराज सुवेदीले बताए ।

यस्तै पूर्वतर्फबाट एकादशी खोला र पश्चिमबाट वाग्मतीको बाढी धनकौल–१ ढाप टोलमा पस्दा सुरक्षित हुन बाँधमा उक्लिएको शंकर महतोले बताए ।

‘हामी उभिएका भन्दा दक्षिणतिर तटबन्ध पार गरेर बाढी बगिरहेको छ, अपराह्नबाट वर्षा रोकिए पनि जलस्तर घटेको छै,’ उनले भने, ‘पानीको सतह नघटे हाम्रो ज्यान खतरामा पर्छ ।’ वाग्मतीको पानी तटबन्ध माथिबाट बग्दा बरहथवा नगरपालिकाका–१, २, ३, ४ र १० वडामा बाढी पसेको छ । प्रजिअ इन्द्रदेव यादवले बाढीमा फसेकाको उद्घारका लागि सुरक्षाकर्मी परिचालन गरिएको बताए ।

परिवारै पहिरोमा

मुसलधारे वर्षासँगै खसेको पहिरोले मकवानपुरको वाग्मती गाउँपालिका–५ सिक्रे दोभानमा घर बगाउँदा एक जनाको मृत्यु भएको छ भने परिवारका ५ जना बेपत्ता छन् । पाहुना आएका एक जना घाइते भएका छन् । मंगलबार बिहान ४ बजेतिर सिक्रे दोभानका अक्कलबहादुर स्याङ्तानको घर बगाउँदा घाइते भएकी ५५ वर्षीया शान्तिमायाको उपचारका क्रममा मृत्यु भएको हो । उनको स्थानीय स्वास्थ्य चौकीमा उपचारका क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ । ५० वर्षीय अक्कलबहादुर स्याङ्तान, उनकी छोरी २२ वर्षीया शिला, छोरा २५ वर्षीय जीवन, नाति ४ वर्षीय मिलन र डेढ वर्षीया नातिनी दिव्या बेपत्ता छन् ।

सोही पहिरोमा पुरिएका १९ वर्षीय पासाङ घिसिङको करिब १२ घण्टापछि स्थानीयले जीवितै उद्धार गरेका छन् । सिन्धुली हरिहरपुर—१ घर भएका घिसिङ अक्कलबहादुरको घरमा सोमबार पाहुना लाग्न आएका थिए । घिसिङलाई पहिरोले बगाएको घरभन्दा करिब तीन किलोमिटर तल वाग्मती खोला किनार बगेरीमा फेला पारेको स्थानीय शेरबहादुर माझीले बताए । ‘घिसिङको शरीरभरि घाउचोट लागेको छ । सामान्य बोल्न सक्ने अवस्थामा छन्,’ उनले भने, ‘पहिरो खसेको ठाउँबाट तल खोल्सा हुँदै खोज्दै जाँदा बगेरीमा फेला पार्‍यौं ।’

मंगलबार बिहान ४ बजेतिर एक्कासि खसेको पहिरोले अक्कलबहादुरको घर बगाउँदा घरका सातै जना बेपत्ता भएका थिए । बेपत्ताको खोजी भइरहेको प्रहरीले जनाएको छ । वाग्मती नदी वाग्मती गाउँपालिका–४ मा पाँच पाण्डव बस्ती पस्दा डुबानमा परेका ६ घरका बासिन्दालाई सामानसहित सुरक्षित स्थानमा सारिएको प्रहरी नायब उपरीक्षक टेकबहादुर कार्कीले बताए ।

सिन्धुलीको कमलामाई नगरपालिका–१ मझिनदमारमा पनि पहिरोले एक घर पुरिएको छ । उत्तम नेपालीको घर पुरिँदा भागेर जोगिएका उनकी श्रीमती सम्झना, सासु सेतमाया र भाइ रवि अहिले छिमेकी कहाँ बसेको वडाध्यक्ष नरेश गोलेले जनाए । लगातारको वर्षापछि ठाउँठाउँमा खसेको पहिरो र खहरेमा आएको बाढीले बीपी, मदन भण्डारी र मध्यपहाडी राजमार्ग दिनभर अवरुद्ध भएको थियो ।

बीपी राजमार्गको बर्दिबास–धुलिखेल खण्डको १६० किलोमिटरमा १७ ठाउँ खसेको पहिरो केही हटाएर मंगलबार साँझबाट एकतर्फी खुलेको प्रहरीले जनाएको छ । मध्यपहाडीको अक्करेभीर र चोकुखोलामा बाढी र पहिरोले एकतर्फी यातायात सञ्चालन हुन सकेको सिन्धुलीका एसपी राजकुमार सिलवालले बताए । उता वाग्मतीको बाढीले हरिहरपुरगढी गाउँपालिका–३ को बगर खेतीमा कटान भइरहेको छ । चँदाहा खोलाले तीनपाटन गाउँपालिका पाटन फाँटमा धानखेत कटान सुरु गरेको छ ।

तराईमा बाढी, पहाडमा पहिरो

अविरल वर्षापछिको बाढीले कैलालीका विभिन्न पालिकामा झन्डै ५ सय घरधुरी डुबानमा परेका छन् । पहाडी क्षेत्रमा ठाउँठाउँमा पहिरोले क्षति पुर्‍याएको छ । पहाडी जिल्ला जोड्ने भीमदत्त राजमार्गको ठाउँठाउँमा पहिरो जाँदा सडक अवरुद्ध भएको छ । कैलालीको कैलारी, चुरे र जोशीपुर गाउँपालिका, भजनी र गोदावरी नगरपालिका तथा धनगढी उपमहानगरपालिकाका विभिन्न बस्तीमा बाढी पस्दा झन्डै ५ सय घर प्रभावित भएको जिल्ला प्रशासनका प्रशासकीय अधिकृत शिवराज जोशीले बताए । जोशीका अनुसार काँडा र कान्द्रा नदीको बाढीले भजनी नगरपालिका–२, ३, ५, ७ र ८ वडामा साढे दुई सय घर डुबानमा परेका छन् । कैलारी–७ का विभिन्न बस्तीमा कटैनी नदीको पानी पस्दा १ सय ५५ परिवार र जोशीपुरका विभिन्न बस्तीमा काडा नदीको बाढीले ५६ घर प्रभावित भएका छन् । यस्तै, धनगढी उपमहानगर–१५ कनरीमा खुटिया नदीको पानी बस्ती पस्दा १४ परिवार प्रभावित भएका छन् भने गोदावरी नगरपालिकामा खैराना खोलाको बाढीले एउटा पसल डुबाएको छ । बाढी प्रभावित परिवारलाई सुरक्षाकर्मी र स्थानीयले सुरक्षित स्थानमा सारेको कैलारी गाउँपालिकाकाका अध्यक्ष रामसमझ चौधरीले बताए ।

सुदूरपश्चिमका सात पहाडी जिल्लालाई तराईसँग जोड्ने एक मात्र भीमदत्त राजमार्गको खानीडाँडा–बुढीतोला खण्डमा दुई सय मिटर सडक भासिँदा यातायात ठप्प भएको छ । प्रदेश प्रहरी कार्यालयका अनुसार धनगढी–डडेलधुरा सडकको कैलालीको गोदावरी नगरपालिका–४ बुढीतोला–खानीडाँडा खण्डमा करिब दुई सय मिटर सडक सोमबार राति भासिएको हो । माथिबाट पहिरो खसेको र सडकको सतह भासिएकाले यातायात सुचारु गर्न कठिन भएको सुरक्षा अधिकारीले जनाएका छन् ।

मंगलबार बिहानैदेखि डोजर परिचालन गरेर काम भइरहेको छ । राजमार्ग अवरुद्ध हुँदा पहाडी जिल्लाबाट आएका यात्रुले सास्ती व्यहोर्नुपरेको छ । एम्बुलेन्समा ल्याइएका बिरामी, वृद्धावृद्धा र बालबालिकालाई सुरक्षाकर्मीले ओहोरदोहोर गराएका थिए । तराईबाट पहाडतर्फ गइरहेका यात्रु यतै फर्किए पनि पहाडबाट झर्दै गरेकाहरू भने बाटोमै अलपत्र परेका छन् । मंगलबार दिउँसो रोकिएको वर्षा साँझदेखि फेरि सुरु भएकाले बुधबार पनि पहिरो पन्छाएर यातायात सुचारु गराउन सकिने सम्भावना न्यून रहेको जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएको छ ।

बर्दियाको ठाकुरबाबा–७ कर्मला, ८ भुटकैया र ९ मिथुनिया फाँटमा दुई सय घर डुबानमा परेका छन् । ठाकुरबाबा नगरपालिका उपप्रमुख विना भट्टराईले वडा ७ कर्मला टोलका ६९ जनाको उद्धार गरी स्थानीय शिवसुन्दर माविमा राखिएको बताइन् । गाउँको सडकमा खोलाजस्तै पानी बगेपछि डुंगाबाट उनीहरूको उद्धार गरिएको वडाध्यक्ष कलमबहादुर विष्टले बताए ।

बबईमा जलस्तर बढ्दा नदीले घेरिएको गुलरिया—११ महजदियाबाट ९० परिवारलाई सुरक्षित स्थानमा सारिएको प्रजिअ नारायणप्रसाद रिसालले बताए । पहाडी क्षेत्रमा पनि वर्षा भइरहेकाले बबई, कर्णालीलगायतका नदीमा जलस्तर बढ्ने हुँदा सतर्क रहन स्थानीय प्रशासनले आग्रह गरेको छ ।

प्रतिक्रिया दिनुहोस्

Array