मधेश प्रदेशका विभिन्न क्षेत्र डुबानमा

सगरमाथा पोस्ट
सगरमाथा पोस्ट २४ श्रावण २०८०, बुधबार
1 Min Read
Aa

पर्सा, पर्साको वीरगन्ज महानगरपालिका-११ स्थित डोम बस्ती, रौतहटको फतुवाविजयपुर नगरपालिका-८, बुनियाँद गाउँ लगायत विभिन्न क्षेत्र डुबानमा परेको छ। गत सोमबारदेखि परेको वर्षाका कारण मधेश प्रदेशका १५५ घर डुबानमा परेको छ। मधेश प्रदेश प्रहरी कार्यालय, जनकपुरका प्रवक्ता प्रहरी उपरीक्षक महेन्द्रकुमार श्रेष्ठका अनुसार पर्सामा २०, रौतहटमा ७५ र महोत्तरीमा ६० घर डुबानमा परेका छन्। पर्साको वीरगन्ज महानगरपालिका-११ स्थित डोम बस्ती, रौतहटको फतुवाविजयपुर नगरपालिका-८ बुनियाँद गाउँ डुबानमा परेको छ। रौतहटकै दुर्गाभगवती गाउँपालिका-५, बडहर्वा टोलमा बागमती खोलाको बहाव बढन गई बस्तीमा पानी पसेको छ। महोत्तरीको लोहारपट्टी नगरपालिका-५, डठौरा गाउँ र बलवा नगरपालिका-११, भगवतीपुरमा रातु खोलामा पानीको बहाव बढ्न गई १२ मिटर तटबन्ध भत्किएको छ। तटबन्ध भत्किंदा बस्तीमा पानी पसेको प्रवक्ता श्रेष्ठले जानकारी दिए।

यस्तै, बाढी तथा डुबानका कारण प्रदेशमा दुई जनाको मृत्यु भएको छ भने तीन जना बेपत्ता छन्। रौतहटमा ११ र सर्लाहीमा ७२ जना गरी ८३ जनाको सकुशल उद्धार गरिएको प्रदेश प्रहरीले जनाएको छ। बाढी तथा डुबानले प्रदेशका विभिन्न सडकखण्ड समेत अवरुद्ध भएको छ।

प्रतिक्रिया दिनुहोस्

Array