पुष्पकमल दाहाल ‘प्रचण्ड’ नेतृत्वको वर्तमान सरकार सुशासन र भ्रष्टाचारविरुद्ध प्रतिबद्ध : रेखा शर्मा

सगरमाथा पोस्ट
सगरमाथा पोस्ट ३२ श्रावण २०८०, बिहीबार
1 Min Read
Aa

बिजुवार  । सरकारका प्रवक्ता एवम् सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले पुष्पकमल दाहाल ‘प्रचण्ड’ नेतृत्वको वर्तमान सरकार सुशासन र भ्रष्टाचारविरुद्ध प्रतिबद्ध रहेको बताउनुभएको छ ।

नेपाल पत्रकार महासङ्घ प्युठान शाखाले आज बिजुवारमा आयोजना गरेको पत्रकार भेटघाट कार्यक्रममा उहाँले सो कुरा बताउनुभएको हो । सञ्चारमन्त्री शर्माले सरकार सुरुदेखि नै विकृति, विसङ्गति अन्त्य, भ्रष्टाचार अन्त्य गरी सुशासन कायम गर्नमा अगाडि बढेको बताउनुभयो ।

प्रधानमन्त्रीले भ्रष्टाचारमा आफ्नै घरको सदस्य परे पनि नछाड्ने प्रतिबद्धता जनाउनुभएको उहाँले स्मरण गर्नुभयो । मन्त्री शर्माले भन्नुभयो, “सुन तस्करी, ललिता निवास, भुटानी शरणार्थीलगायत सबै प्रकरणलाई निष्कर्षमा पुगाउन सरकार प्रतिबद्ध ढङ्गले काम गरिरहेको छ ।”

सरकारले भ्रष्टाचारसँग जोडिएका सबै प्रकरणको मिहिन ढङ्गले अनुसन्धान गरिरहेको उहाँले प्रष्ट पार्नुभयो । सुशासन कायम गर्न र सेवा प्रवाहलाई चुस्त बनाउन सरकारले प्राथमिकताका साथ काम गरिरहेको मन्त्री शर्माले बताउनुभयो ।

उहाँले गल्ती गर्ने जोसुकैलाई पनि कानुनी कारबाही हुने प्रष्ट पार्नुभयो । सरकारले कानुन सबैका लागि बराबर हुन्छ भन्ने सन्देश दिइरहेको मन्त्रीले चर्चा गर्नुभयो । संविधान र कानुनको मातहतमा सबै रहेकाले गल्ती गर्ने जोसुकैलाई पनि नछाड्ने गरी सरकारले स्पष्ट रूपमा काम गरिरहेको बताउनुभयो ।

Gortkhapatra

प्रतिक्रिया दिनुहोस्

Array