आम जनजाती महासंघको आयोजनामा बागमती प्रदेशको नाम ‘ताम्सालिङः नेवा प्रदेश’ के राख्ने भन्नेबारे बहस, कसले के भने ?

सगरमाथा पोस्ट
सगरमाथा पोस्ट २ भाद्र २०८०, शनिबार
4 Min Read
Aa

काठमाडौं, आम जनजाती महासंघ केन्द्रीय समितिले बागमती प्रदेशको नाम परिवर्तन गरेर ‘ताम्सालिङ नेवा’ राख्नुपर्ने माग गरेको छ । महासंघले आज (शुक्रबार) रिपोर्टर्स क्लब नेपालमा ‘ताम्सालिङः नेवा वा बागमती प्रदेश विषय अन्तरक्रिया कार्यक्रम’ गर्दै खोलाको नामबाट प्रदेशको नामाकरण गरेर पहिचानको मुद्दा ओझेलमा पारेको अरोप लगाएको छ ।
कार्यक्रमलाई सम्बोधन गर्दै योगेश राल्फालीले प्रदेश १ को नामाकरण कोशी प्रदेश भएपछि आन्दोलन चर्किएको जस्तो बागमती प्रदेशको नाम परिवर्तन गराउन पनि आफूहरु लागिपर्ने बताए । गनाउने खोलाको नामबाट प्रदेशको नामाकरण गरिएको समेत उनले टिप्पणी गरे ।
जनजातीहरुको भाषा, संस्कार र संस्कृतिलाई निमोठ्ने काम भइरहेको उनले बताए । जनजातीको कला, भाषा, संस्कार र संस्कृतिको संरक्षणका लागि बागमती प्रदेशको नाम ताम्सालिङ नेवा राखिनुपर्ने उनले बताए ।
त्यसैगरी आम जनता पार्टीका सचिव ज्ञानेन्द्र तामाङले नेपालको निम्ति नेपाली भूमिमा आफ्नो जीवनको सबै समयहरु विताउने आम जनजातीहरुको समस्याहरु राज्यले सम्बोधन गर्न नसकेको बताए । कोशी प्रदेशको आन्दोलन विस्तारै बागमती प्रदेशतिर सर्ने क्रममा रहेको उनले बताए ।
गायक तथा तामाङ डाजाङका अध्यक्ष फूलकुमार बञ्जनले कुनै ठूलो जातिको सभ्यता रहेको ठाउँमा उही जातीलाई अगाडि राखेर नाम चिनाउँदा राम्रो हुने बताए ।
‘यदि कुनै जातिको ठूलो सभ्यता छ भने उही जातीलाई अगाडि राखेर नाम चिनाउँदा राम्रो हुन्छ । जबरजस्ती अर्काको नाम लाग्ने । नामले नै सभ्यता चिनाउने भएकाले ताम्सालिङ नेवा राख्दा पनि फरक पर्दैन थियो,’– उनले भने ।
अभियन्ता एवं नेपाल समाजवादी पार्टीकी केन्द्रीय सदस्य निरुता मोक्तानले पहिचानको मुद्दालाई आफूहरुले निरन्तर उठाइराख्ने बताईन् ।
आफूहरुले उठाएको आन्दोलन बेचेर कोही तामाङ मन्त्री बनेको खण्डमा उसकै घरमा धर्ना बस्न जानेसमेत उनको चेतावनी छ ।
ताम्सालिङ तामाङहरुको जातीय राज्य नभएर ऐतिहासिक सभ्यता भएको उनको भनाई छ । यस प्रदेशभित्र सबै जातजाती अटाउने उनले बताईन् । तम्सालिङ राज्य लडेर ल्याउने उनले बताईन् ।
बाहुल्यताको आधारमा नेवा र ताम्सालिङहरु जाग्न आवश्यक रहेको उनको भनाई छ । ताम्सालिङ नेवा प्रदेश बनाएर अहिलेको संरचना नै परिवर्तन गर्ने उनको चेतावनी छ ।
माओवादी केन्द्रका नेता एवं पूर्व राज्यमन्त्री सूर्यमान दोङले आन्दोलनलाई व्यवस्थित ढंगले अगाडि बढाउन आग्रह गरे । यसअघि पनि आफूहरुले पटक–पटक पहिचानको मुद्दा उठाउँदा सुनुवाई नभएको बताउँदै उनले आन्दोलनलाई व्यवस्थित बनाएर सबै केन्द्रीकृत भएमामात्रै ताम्सालिङ नेवा राज्य नामाकरण हुनसक्ने उनले बताए ।
‘ताम्सालिङको विषयमा हामीले बहस गर्नुपर्छ होईन, हामीले यो प्राप्त गर्नेबेलामा कहाँ अल्मलियौं भन्ने खोज्न जरुरी छ,’–उनले भने । माओवादीले मात्रै पहिचानको मुद्दालाई स्थापित गरान सक्ने उनको दाबी छ ।
आजपाका उपाध्यक्ष तिलक थापा मगरले एमालेले आफूहरुलाई ठगेको आरोप लगाए । एमालेमात्रै नभएर कांग्रेस र माओवादी केन्द्रले पनि आफूहरुलाई ठगेको उनको आरोप छ ।
उनले कांग्रेस, एमाले र माओवादी केन्द्रलाई देशको राजनीतिक ठेकेदारको संज्ञा दिए । एमालेले भने उत्पीडनमा परेकाहरुलाई ठगेको थापाले दोहोर्याए । उनले आफ्नो दलले राजनीतिक विकल्प दिन लागिरहेको पनि विश्वास दिलाए ।
कार्यक्रममा मगरात संघर्ष समितिका अध्यक्ष राम मगर, जनता समाजवादी पार्टीनिकट तामाङ महासंघका महासचिव विकास ब्लोन, लिम्बुवान अभियन्ता राजकुमार नाल्बो, अधिवक्ता रविन्द्र थिङ, राष्ट्रिय विकल्प अभियानका संयोजक हेमराज भण्डारी, पूर्वमन्त्री डा. केशवमान शाक्य, आम जनता पार्टीका केन्द्रीय उपाध्यक्ष तिलक थापा मगरलगायतले आफ्नो धारणा राखेका थिए । पहिचानको आधारमा प्रदेशको नामाकरण हुनुपर्ने र बागमती प्रदेश नाम खारेज गरिनुपर्ने उनीहरुको साझा मत रहेको छ ।

प्रतिक्रिया दिनुहोस्

Array