समाजवादी मोर्चाले प्रदेश स्तरमा घोषणा सभाको आयोजना गर्ने

सगरमाथा पोस्ट
सगरमाथा पोस्ट ४ भाद्र २०८०, सोमबार
2 Min Read
Aa

काठमाडौँ । समाजवादी मोर्चाले प्रदेश स्तरमा घोषणा सभाको आयोजना गर्ने भएको छ । सोमवार नेकपा एकीकृत समाजवादी को केन्द्रीय कार्यालयमा बसेको मोर्चाको बैठकले भदौ ८ गतेबाट प्रदेश स्तरमा घोषणा सभा गर्ने निर्णय गरेको हो ।

बैठकपछि सञ्चारकर्मीहरूसँग कुरा गर्दै नेकपाका महासचिव नेत्रविक्रम चन्दले मोर्चाको बैठकमा समाजवादी मोर्चाको कामलाई प्रभावकारी बनाएर लैजाने बारेमा छलफल भएको बताउनु भयो । उहाँले  भ्रष्टाचार विरोधी आन्दोलनलाई समर्थन गर्ने निर्णय भएको पनि बताउनु भयो ।

उहाँले भन्नुभयो, ‘छलफल राम्रो भयो, तरङ्गमय वातावरणमा मोर्चा घोषणा भएको थियो । समय लम्बिँदा बाहिर के हो ? के हो ? भन्ने थियो । हामीले ८ गतेदेखि प्रदेश स्तरको घोषणा सभा गर्ने निर्णय गरेका छाैँ । भ्रष्टाचार विरोधी आन्दोलनलाई समर्थन गर्ने निर्णय भएको छ ।’

बैठकपछि बोल्दै नेकपा एकीकृत समाजवादीका नेता प्रमेश हमालले घोषणा सभा ८ गते मधेस प्रदेशको वीरगन्जमा, १२ गते लुम्बिनीको बुटवल, १३ गते सुदूरपश्चिमको धनगढी, १४ गते कर्णालीको सुर्खेत, १५ गते गण्डकीको पोखरा, २३ गते बागमतीको हेटौँडा र २५ गते कोशीको विराटनगरमा घोषणा सभा गर्ने बताउनु भयो । उहाँले बैठकमा समसामयिक राजनीति र समाजवादी मोर्चाको भूमिकाको बारेमा छलफल भएको पनि बताउनु भयो । प्रदेश घोषणा सभामा प्रदेशका लागि समाजवादी मोर्चाको संयोजक तोक्ने निर्णय भएको पनि बताउनु भयो ।

उहाँले भन्नुभयो, ‘समाजवादी मोर्चा नेपालका तेस्रो बैठक बस्यो । समसामयिक राजनीति र समाजवादी मोर्चाको भूमिकाको बारेमा छलफल भयो । सचिवालयमा गरेका निर्णयहरूको अनुमोदन गर्ने निर्णय भएको छ । समाजवादी मोर्चालाई प्रभावकारी बनाउने, समाजवादी मोर्चालाई शक्तिको रूपमा विकास गर्नुपर्छ र समाजवादी आन्दोलन अघि बढाउनुपर्छ भन्ने कुरामा छलफल भयो । हामीले ८ गते मधेसमा वीरगन्ज, १२ गते लुम्बिनीको बुटवलमा, १३ गते सुदूरपश्चिमको धनगढीमा, १४ गते कर्णालीको सुर्खेतमा, १५ गते गण्डकीको पोखरामा, २३ गते बागमतीको हेटौँडामा, २५ गते कोशीको विराटनगरमा कार्यक्रम गर्नेछौँ ।’

बैठकमा समाजवादी मोर्चालाई प्रभावकारी बनाउने, समाजवादी मोर्चालाई शक्तिको रूपमा विकास गर्नुपर्छ र समाजवादी आन्दोलन अघि बढाउनुपर्छ भन्ने कुरामा छलफल भएको छ । मोर्चामा सत्तारूढ नेकपा माओवादी केन्द्र, जनता समाजवादी पार्टी, नेपाल, नेकपा एकीकृत समाजवादी र नेत्रविक्रम चन्द नेतृत्वको नेकपा सहभागी छन् ।

Gorkhapatra

प्रतिक्रिया दिनुहोस्

Array