अवैध लागूऔषधसहित विभिन्न स्थानबाट पाँच जना पक्राउ

सगरमाथा पोस्ट
सगरमाथा पोस्ट ४ भाद्र २०८०, सोमबार
1 Min Read
Aa

काठमाडौं,  कैलाली, कैलालीका विभिन्न स्थानबाट अवैध लागूऔषध खैरो हेरोईन जस्तो देखिने पदार्थसहित ४ जनालाई आइतबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा धनगढी उपमहानगरपालिका-१७ बस्ने ३१ वर्षीय पप्पु राना, सोही उपमहानगरपालिका-३ बस्ने १९ वर्षीया करिष्मा छेडाल, सोही उपमहानगरपालिका-१ बस्ने ३० वर्षीय शाहिल नेपाली र सोही उपमहानगरपालिका-७ बेली बस्ने १८ वर्षीय किशोर रहेका छन् । उनीहरूमध्ये पप्पु राना र करिष्मा छेडाललाई करिब ३ ग्रामसहित धनगढी उपमहानगरपालिका-८ क्याम्पस चोकबाट, शाहिल नेपालीलाई ३ सय मिलिग्रामसहित धनगढी उपमहानगरपालिका-१ स्थित शिव मन्दिर नजिकबाट र किशोरलाई ३ सय १० मिलिग्रामसहित धनगढी उपमहानगरपालिका-१५ कनरीबाट प्रहरीले पक्राउ गरेको हो ।

झापा, मेचीनगर नगरपालिका-६ तुर्केनीबाट अवैध लागूऔषध खैरो हेरोईन जस्तो देखिने पदार्थ १ ग्राम ८ सय मिलिग्रामसहित सोही नगरपालिका-६ बद्री टोल बस्ने ३२ वर्षीय बसन्त राईलाई आइतबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । ईलाका प्रहरी कार्यालय काँकरभिट्टा र सशस्त्र प्रहरी बल नेपाल बोर्डर आउट पोष्ट काँकरभिट्टाबाट खटिएको संयुक्त टोलीले भारतबाट नेपालतर्फ पैदल आउँदै गरेका उनलाई उक्त पदार्थसहित पक्राउ गरेको हो ।

सबै घटनाका सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

प्रतिक्रिया दिनुहोस्