बाल सुधार गृहको मुख्य गेट तोडफोड गरी फरार भएका बालबन्दी र प्रहरीबीच झडप हुँदा २२ घाइते

सगरमाथा पोस्ट
सगरमाथा पोस्ट ५ भाद्र २०८०, मंगलवार
2 Min Read
Aa

भक्तपुर । मध्यपुरथिमि नगरपालिका-२ सानोठिमीस्थित बाल सुधार गृहको मुख्य गेट तोडफोड गरी फरार भएका बालबन्दी र प्रहरीबीच झडप हुँदा २२ घाइते भएका छन् ।

प्रहरीले तीन राउण्ड गोली चलाउँदा दुई बालबन्दीलाई गोली लागेर घाइते भएका छन् । आज भएको उक्त घटनामा नेपाल प्रहरीका प्रहरी निरीक्षकसहित १०, सशस्त्र प्रहरीको आठ घाइते भएको प्रहरी परिसर भक्तपुरका प्रहरी उपरीक्षक प्रजित केसीले जानकारी दिए ।

बन्दीको आक्रमणबाट घाइते प्रहरी निरीक्षक सञ्जीव ओलीको मध्यपुर अस्पतालमा उपचार भइरहेको छ । उनको हात भाचिनुका साथै शरीरका विभिन्न अङ्गमा चोट लागेको छ । बन्दीतर्फ चार जना घाइते भएका छन् । तीमध्ये दुई जनालाई गोली लागेको छ । गोली लागेकामध्ये गम्भीर घाइतेको वीर अस्पताल ट्रमा सेन्टरमा उपचार भइरहेको प्रहरीले जानकारी दिएको छ ।

घाइतेको भक्तपुरको नागरिक कम्युनिटी अस्पताल, मध्यपुर अस्पताल वीर अस्पताल, त्रिवि शिक्षण अस्पताललगायत उपत्यकाका विभिन्न अस्पतालमा उपचार भइरहेको भक्तपुरका प्रमुख जिल्ला अधिकारी खगेन्द्रप्रसाद रिजालले जानकारी दिए ।

बाल सुधार गृहमा रहेका ४३ जना केटी र दुई सय ५६ जना केटा गरी दुई सय ९९ बालबन्दी रहेको सुधार गृहको गेट तोडफोड गरेर दुई सय २१ जना फरार भएका थिए । भक्तपुर र काठमाडौँका विभिन्न ठाउँबाट गरी हाल एक सय ९४ जनालाई प्रहरी नियन्त्रणमा लिएको प्रहरी उपरीक्षक केसीले जानकारी दिए । थप २७ जना टेलिफोन सम्पर्कमा आइसकेको उनले जानकारी दिए । सम्पर्कमा आएका पनि रातभरिसम्ममा नियन्त्रणमा आउने दाबी गरे ।

प्रतिक्रिया दिनुहोस्

Array